रामईश्वर ठाकुर,
बर्दिबास, २९ असार ।

मधेशको उदीयमान नगर बर्दिबासमा आदिकवि भानुभक्त आचार्यको सम्झनामा रचना वाचन गरिएको छ । बुढ्यौली साहित्य समाज महोत्तरीको आयोजनामा महोत्तरीको बर्दिबास–२ स्थित जनता माध्यमिक विद्यालय परिसरमा आदिकवि भानुभक्त आचार्यको २१२ औं जन्मजयन्तिका अवसरमा रचना वाचन कार्यक्रम सम्पन्न भएको हो ।

कार्यक्रममा वक्ताहरुले नेपाल राष्ट्रलाई भाषका माध्यमबाट एक सुत्रमा बाँध्न आदिकवि भानुभक्त आचार्यले दिनुभएको योगदानको स्मरण गरेका छन् । कार्यक्रममा नियात्राकार रमेशमोहन अधिकारीले प्रत्येक नेपालीको जनजिब्रोको साझा भाषा नेपाली भानुभक्तकै तपस्याको परिणाम भएको बताउनुभयो । कार्यक्रममा जनता माध्यमिक विद्यालय बर्दिबास—२ का प्रधानाध्यापक तोपबहादुर ज्यू ठकुरीले आदिकविको सम्झनामा आयोजित कार्यक्रमले भाषा तथा साहित्य उन्नयनमा योगदानका लागि प्रेरित गर्ने उल्लेख गर्नुभयो । यसैगरी बर्दिबास नगर पत्रकार सञ्जालका अध्यक्ष तथा प्रेस स्वतन्त्रता सेनानि गोपाल बरालले भाषामा एकताबद्ध हुने अपार शक्ति हुने र नेपालीका लागि यो अवसर भानुभक्त आचार्यबाट प्राप्त भएको चर्चा गर्नुभयो ।

सो अवसरमा साहित्य साधकहरु रामचन्द्र पौडेल, प्रेम घिमिरे, राजेश्वरी काफ्‌ले , नारायण घिमिरे, विपीराज दाहाल, उद्धव अविचल, दिनेशहरि पौडेल र नारायण खड्कासहितकाले आदिकवि भानुभक्तको योगदानको भावभूमिमा रचना वाचन गर्नुभयो । कार्यक्रममा जनता माध्यमिक विद्यालय बर्दिबास—२ की १० वर्षीया छात्रा प्रकृति पाण्डेले कविता वाचन गर्नुभयो । समारोहमा भारतीय साहित्यकार सीतामढी जनवादी साहित्य समाजका उपाध्यक्ष मोहम्मद कमरुदिन नदाफले नेपाल र भारतको साँस्कृतिक सम्बन्धमाथि प्रकाश पार्र्नुभयो

बुढ्यौली साहित्य समाज महोत्तरीका अध्यक्ष लालबाबु शर्मा पोखरेलको अध्यक्षतामा सम्पन्न कार्यक्रम समाजका सचिब नारदप्रसाद काफ्‌लेले सञ्चालन गर्नुभएको हो ।

कार्यक्रममा भारतीय साहित्यकार मोहम्मद कमरुदिन नदाफलाई जनता माध्यमिक विद्यालय बर्दिबास–२ का प्रधानाध्यापक ठकुरीले खादा र नेपाली टोपी पहिर्‍याएर सम्मान गर्नुभयो ।

\


२०८२ असार ३०, सोमबार १५:०१मा प्रकाशित

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय