जिआर कौशिक,
महोत्तरी, १८ साउन ।
लामो खडेरीले धान रोपाइँ कतै नचलेका बेला महोत्तरीको भङ्गाहा–४ रामनगरको शिरानटोलमा भने रोपाइँ सकिएको छ । बभनटोली पनि भनिने शिरानटोलमा बस्तीका बासिन्दाको आपसी हेलमेलले डिपबोरिङ्गको पानीबाट ३० भन्दा बढी किसानको ६० बिघा जग्गामा धान रोपाइँ सकिएको हो । सो टोलकै बासिन्दा नेपाल सरकारका अवकासप्राप्त सहसचिब काशीराज दाहालको अगुवाइमा ३० घरपरिवारको खेती समयमै लागेको हो ।

चारैतिर पानीको हाहाकार परेका बेला टोलबासीलाई एकत्रित गरेर दाहालले बोरिङ्ग जडान सफल पार्नसँगैे खेतीमा सबैको सहभागिता जुटाउँदै साउन १५ भित्रै रोपाइँ सक्नुभएको हो । “गाउँका मान्छे सम्झाउन सक्दा कुरा बुझ्‌ने रहेछन् , बोरिङ्गजडानदेखि सबैको खेती पालोपर्म मिलाएर समयमै लगाउन सकियो” दाहाल भन्नुहुन्छ, “आपसी हेलमेलको यो थिति बसाउन सके खेतीपाती निकै सहज बन्ने अनुभव सँगालियो ।” टोलका सबैजना बीउ काढ्ने, रोप्ने काममा लाग्दा १५ दिनभित्र ६० बिघा खेत रोपिएको दाहालको भनाइ छ ।

आपसी हेलमेलले सबैको काममा लाग्ने पालो मिलाइँदा खेती कम खर्चिलो भएको किसानको अनुभव छ । “हामी जन (श्रमिक) पाइएन भन्थ्यौं, सबै कुरा हामीभित्रै रहेछ” सो टोलका बासिन्दा किसान अरुण गिरी भन्नुहुन्छ, “सिडियो सा’ब (गाउँले दाहाललाई सिडियो सा’ब सम्बोधन गर्छन्‌) ले आँखा खोली दिनुभयो , यसपालि पानीको हाहाकार परेका बेला पनि हामीले साउन १५ अघि नै रोपाइँ सक्यौं ।” अब यो सामुहिक श्रम थिति बसाल्नसके कहिल्यै जन (श्रमिक) को अभाव महसुस नहुने गिरीको भनाइ छ ।

गत वर्ष २०८१ जेठमा सरकारी सेवाबाट अवकास पाएपछि सोझै गाउँ आउनुभएका दाहालले सिँचाइको प्रबन्धका लागि पहिलो प्रयत्न थाल्नुभयो । एकपछि अर्को काममा सबैको सहभागिता जुटाउँदै अघि बढ्दा सुखदुःखमा सँगसाथ रहने संस्कृति पनि सुदृढ हुँदै गएको टोलबासीको अनुभव छ । “पछिल्लो एक वर्ष हाम्रो खेतीपातीमात्र नभएर पारिवारिक अन्य काम पनि सहजै पार लागेका छन्‌”सो बस्तीका रामभगत महतो भन्नुहुन्छ, “एकजना बाटो देखाउने चाहिने रहेछ, हाम्रो पछिल्लो एक वर्ष अत्यन्त उत्साहप्रद रह्यो ।” दाहालको निरन्तरको प्रयत्नले सबै मिलेर काम गर्ने वातावरण बनेको महतो बताउनुहुन्छ ।

बस्तीलाई बोलीचालीमा बभनटोली (बाहुनटोल) भनिएपनि यहाँ ब्राह्मण, क्षत्री, नेवार, थारु, घर्ति, कोइरी, विन (मलाह) , चमार, कामी, र हिन्दूबाहेकका इस्लाम धर्मावलम्बी पनि छन् । ‘सबैको काममा सबै’ भन्ने वाक्यलाई मनन गरेर काममा लाग्दा सामान्यतः आइपर्ने दुःख पनि सजिलै पार लाग्ने टोलबासीले अनुभव सँगालेका छन् ।

“म सरकारी सेवामा रहँदा कृषि मन्त्रालयमा पनि रहें, धेरैजसो सहसचिबको कार्यकालचाहिँ ठाउँठाउँमा प्रमुख जिल्ला अधिकारी भएर बित्यो” सरकारी सेवाकालका दिन सम्झदै दाहाल भन्नुहुन्छ, “त्यहाँ जिम्मेवारीमा छँदा जनसम्पर्कबाट जे अनुभव सँगालियो, अहिले अवकासपछि व्यवहारमा लगाउँदै छु ।” नेपाली आपसी हेलमेलमा चाँडै आउनसक्ने स्वभावका हुँदा यसपालि खेतीमा यो अनुभवले राम्रै परिणाम दिएको दाहालको मूल्याङ्कन छ ।

सरकारी सेवामा रहँदाको अनुभवलाई अवकासपछिको जीवनमा आआफ्‌नो बस्तीमा लगाउन सकिदा राम्रो परिणाम आउने दाहाल बताउनुहुन्छ । “खै हाम्रै कति साथीलाई ‘कुलिङ् पिरियड’ को धङ्धङी देख्छु” दाहाल भन्नुहुन्छ, “जागिरे जीवनमा जे सँगालिएको छ, अवकासपछि सबैले आआफ्‌नो ठाउँमा लगाउने हो भने निकै उपलब्धी हासिल हुनसक्छ ।” आफूले खेतीपातीमात्र नभएर टोल बस्तीका गरिब परिवारका छोराछोरी पढाउन, स्वास्थ्य सचेतना बढाउन र पढेलेखेका युवालाई प्रतिष्पर्धामा उत्कृष्ट बन्न पनि अभिप्रेरित गर्ने गरेको दाहालको भनाइ छ ।

समुचा रामनगर बस्तीमा पानीबेगर रोपाँइको सुरसार नै नभएका बेला यो टोलको रोपाँइ सकिएको छ । बभनटोलीले बसाएका यो थिति सबैले अनुशरण गरे सबैका लागि खेती सजिलो हुने भङ्गाहाका नगरप्रमुख सञ्जिवकुमार साह बताउनुहुन्छ । “अन्त किसान अहिले पानी, जन पाइएन भनेर जिङ्राएका छन्‌” साहले भन्नुभयो, “यहाँ भने धान रोपाइँ सकियो ।” मिलेर काम गर्दा सजिलै धान रोपाँइ सकिने र उत्पादन पनि राम्रो लिने बभनटोली सबैका लागि सकारात्मक उदाहरण बनेको अहिले आम चर्चा छ ।

अहिले बभनटोलीका सबैजसो किसान खेतिपातिबारे सघन सम्वादमा रहने गरेका छन् । “सिचाई, कृषि सडक र समयमा मलबिउको कुरा गर्नु पर्दा सिडियोसा’ब समन्वय गर्नुहुन्छ, उहाँको अगुवाइमा ठाउँठाउँबाट सहयोग र वास्ता पनि पाइएको छ” सो बस्तीका गुलाब महतो भन्नुहुन्छ, “उहाँ (दाहाल) आफैं पनि बीउ काढ्न, रोप्न लाग्नुहुन्छ , यसले हामीलाई मिलेर बढ्न हौसला दिएको छ ।

व्यक्तिव्यक्ति फरक पार्टी र विचारका भएपनि आपसमा मिलेर खेतिको काम उकास्न दाहालले बसाउनु भएको थितिलाई सबैले मानेका छन् । सबै हाकिम अवकासपछि यसैगरी काममा लागे मुलुकको समृद्धि हासिल हुन बेर नलाग्ने भङ्गाहा–४ का पूर्ववडाध्यक्ष ७५ वर्षीय वृदेवसिंह दनुवार बताउनुहुन्छ । दाहाललाई अचेल वरपरका जान्नेसुन्नेले ‘खेतीको रोल मोडल’ भन्ने गरेका छन् ।


२०८२ श्रावण १८, आईतवार १४:५९मा प्रकाशित

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय