
जनकपुरधाम : नेपालका वातावरण तथा वन्यजन्तु संरक्षणकर्मी सचिनकुमार सिंहलाई भारतको प्रतिष्ठित ‘डा. कलाम युथ रत्न अवार्ड २०२५’ प्रदान गरिएको छ ।
धनुषाको मिथिला नगरपालिका–८, कुसुमबिछौनाका सिंहलाई भारतको जयपुरस्थित राजस्थान अन्तर्राष्ट्रिय केन्द्रमा आयोजना गरिएको ‘कलाम युथ लिडरशीप कन्फरेन्स–२०२५’ मा उक्त सम्मान प्रदान गरिएको हो ।
अध्ययनसँगै व्यावहारिक अनुभवलाई जोड्दै गएका वातावरण विज्ञानका विद्यार्थी सिंह मिथिला वाइल्डलाइफ ट्रस्टका कार्यकारी निर्देशकका रूपमा कार्यरत छन् ।
ट्रस्टको नेतृत्व गर्दै सिंहले तराई क्षेत्रका सामुदायिक वन, जैविक विविधता संरक्षण तथा स्थानीयस्तरमा वातावरणीय चेतना अभिवृद्धिमा उल्लेखनीय योगदान गरेको भन्दै उक्त अवार्ड प्रदान गरिएको हो ।
सन् २०१८ देखि निरन्तर रूपमा उनले वातावरण, वन्यजन्तु संरक्षण तथा जलवायु परिवर्तनबारे चेतना फैलाउने, नीतिगत पहल गर्ने र संरक्षण अभियानमा सक्रिय भूमिका निर्वाह गर्दै आएका छन् ।