
बर्दिबास (महोत्तरी), २१ साउन ।
करिब एक वर्षअघि २०८१ असोजमा बर्दिबास–१२ चल्कीबिजलपुराकी प्रतिमा कोइरालालाई केही गर्न पाए हुन्थ्यो भन्ने लहड चल्यो । बर्दिबास–१ मा पनि घर भएकी कोइरालाले दसैंैंको मुखमा अचारका परिकार बनाए त बजार पाउला भन्ने सोच्नुभयो । सोच्नु के थियो ? धमाधम उहाँ विभिन्न थरीका अचार बनाउन थाल्नुभयो । बेला थियो , अचारले राम्रो बजार पायो । कोइरालालाई माग धान्न धौधौ भयो ।
लगत्तैै तिहारअघि उहाँले पर्वलक्षित परिकार बनाउने सोच्नुभयो । सेल, अनर्सा, खजुरी, पत्रे र नमकिनसहितका थरिथरिका परिकार बन्न थाले । किन्नेको धुइरो लाग्यो । उता पहिले सुरु गरेको अचार त छँदै थियो । यो सफलताले हौसिएकी उहाँले आफ्नो उत्पादनको न्वारान नै गर्नुभयो , ‘पञ्चधुरा होममेड अचार !’
कोइरालालाई भ्याइनभ्याइ भयो । “काम थाली त हाले, टाढाटाढाका मान्छे घरमै अचार लिन आउन थाले” कोइराला भन्नुहुन्छ, “मान्छेबाट पाएको वास्ताले पछाडी फर्कने सोच्नै सकिन , यो उद्योग त्यसैको प्रतिफल हो ।” पूर्वपश्चिम लोकमार्गसँगै बर्दिबास–१ मा आज बुधबार शुभारम्भ गरिएको ‘पञ्चधुरा होममेड अचार उद्योग’ को पृष्ठभूमि कोट्याउँदै उहाँले भन्नुभयो, “पहिले एक्लै थिएँ, अहिले आफूजस्तै केही गरौं भन्ने सोचका साथीहरुको समूहमा छु ।”
आफूले थालेको काममा माग धान्न नसकेपछि कोइरालाले छरछिमेकका दिदीबहिनी जुटाएर समूह बनाउनुभयो । अनि पहिलेको नाउँमा पछाडी ‘उद्योग’ थपियो । छरछिमेका ११ जना महिलाको समिति बन्यो । यत्रो जनशक्ति थप्दा पनि समूहका महिलालाई काम भ्याइनभ्याइ नै छ ।
अचारका प्रकार त कतिकति ! आँप, अमला, खोर्सानी , लसुन, अदुवा, सर्स्यू , लप्सी थरिथरिका अचार । गत वर्षको दशैंमा कोइरालाको खसीको मासुको अचारले उहाँको प्रचार टाढाटाढा पुग्यो । ठाउँठाउँबाट वास्ता र चासो आउन थाल्यो । माग बढ्न थाल्यो । यहीक्रममा कोइरालाको सम्पर्क भयो , महिला उद्यमीलाई प्रोत्साहित गर्ने आर एण्ड डी (च् ७ म् )संस्थाकी अगुवा सुनिता निमाफुकीसँग । सुनितासँगको चिनजान र बसउठले नै ‘पञ्चधुरा होममेड अचार’ ले उद्योगको रुप पायो । “सबैतिरको हौसला मिल्यो, मन मिल्दा मेहनती साथी मिले, हामी अघि बढ्यौ” कोइराला भन्नुहुन्छ, “मेरो परिकल्पना अब उद्योग बन्यो, ‘म’ थिएँ, अब हामी भइयो , यसलाई अब हामी नमुना बनाएर देखाउँछौ ।” उहाँले दृढता व्यक्त गर्नुभयो ।
समूहमा आबद्ध भएपछि महिलाहरुको उद्योगले सहयोग पाउन थालेको छ । यसपालि एक महिना अगाडि समूह प्रतिबद्धतामा स्थापित उद्योगलाई अष्ट्रेलियन दातृ संस्था आइसीमोड (क्ष्ऋक्ष्ःइम्) ले अचार बनाउन, मसला पिध्न र पिठो तयार गर्न र चिस्यान राख्न फ्रिजसहितका यान्त्रिक साधन उपलब्ध गराएको छ । कोइरालाको घरको सीप अब समूहको उद्योग बनेको छ । उद्योगको कार्यालय, प्रदर्शनी तथा बिक्रीकक्षको आज बुधबार नै मधेश प्रदेशसभा सदस्य शारदा थापा, बर्दिबासका उपप्रमुख तारादेवी महतो र दातृ निकाय आइसीमोडका नायब महानिर्देशक इजाबेला कोजेललले संयुक्त रुपमा उद्घाटन गर्नुभयो । राजनीतिक पृष्ठभूमिकी प्रतिमा अब उद्यमीको परिचय निखार्दै हुनुहुन्छ ।
उद्योगमा अब अचारमात्र बन्दैनन् । विभिन्न परिकार बनाइन्छन् । यहाँको सेल र बदाम (चना) को घुगनी (तरकारी) खान निकै परको दुरीका ग्राहक आउने गरेका छन् । बिहान बेलुका अचार बनाउने र दिउँसभरि सेल र चनाको घुगनी बनाएर बेच्न महिलाहरुलाई भ्याइनभ्याइ हुने गर्छ । बर्दिबासका मालपोत कार्यालय, यातायात कार्यालय, आन्तरिक राजश्व कार्यालय, नापी कार्यालय, नेपाल टेलिकम र जिल्ला ट्रफिक प्रहरी कार्यालयको नजिक स्थापित उद्योगलाई अहिले यी कार्यालयमा आउने सेवाग्राही र कर्मचारी उद्योगका नियमित ग्राहक झैं बनेका छन् ।
पञ्चधुरा होममेड अचार उद्योगमा आबद्ध ११ जना महिलाले एक महिना पहिले १०/१० हजार रुपैयाँ जम्मा पारेर एक लाख १० हजारबाट कारोबार सुरु गरेको समूहकी उषा ढकालले बताउनुभयो । पहिले आफूले १० हजारबाटै काम थालेको हुँदा अहिले समूह बन्दा पनि १०/१० हजारबाटै उद्योग सुरु गरिएको समूहका अध्यक्षसमेत रहनुभएकी प्रतिमाको भनाइ छ ।
समूह अब महिलाहरुका लागि सिक्ने र सिकेको कुरा काममा लग्ने ठाउँ बनेको छ । “समूहमा भएपछि एकअर्काको सीप र आपसी सल्लाहबाट धेरै कुरा जानिने रहेछ” समूहमा आबद्ध शारदा कोइराला भन्नुहुन्छ, “अब सबै एकसेएक परिकार बनाउन जान्ने भएका छौं ।” उद्योगमा महिलाको सामुहिक आबद्धताले आफ्नो आवश्यकतामा घरका परिवारजनसँग आश गर्नु त परै जावस् , आफूहरुले सघाउन पाइएको समूहका महिला सगर्व बताउँछन् ।
समूहमा अहिले आउने दसैंअघिसम्मको विभिन्न अचारका माग भइसकेको छ । अहिले अचारका अतिरिक्त सेल, चना बनाउने र कोदो तथा फापर आफैंले पिधेंर पिठो बनाउने र गेडागुडीका थैला बनाउन भ्याइनभ्याइ छ । यी सामानको बिक्री राम्रो रहेको प्रतिमा बताउनुहुन्छ ।
समूहमा आबद्ध महिलाको केही गर्ने अठोट र त्यसअनुसारको जाँगर देखेपछि मधेश प्रदेशसभा सदस्य शारदा थापा, बर्दिबास उपप्रमुख तारादेवी महतो र आइसीमोडका नायब महानिर्देशक इजाबेला कोजेललले थप सहयोगको प्रतिबद्धता जनाउनुभएको छ ।
“यस समूहका दिदीबहिनीले उदाहरणीय हौसला देखाउनु भएको छ, उद्योगलाई अझ सुदृढ बनाउन र अन्य महिलालाई पनि विभिन्न आर्जनका सीप सिकाएर काममा जोड्न प्रदेश सरकारसँग सहयोगका लागि म समन्वय गर्छु” प्रदेशसभा सदस्य थापाले भन्नुभयो । यसैगरी आइसीमोडकी इजाबेला कोजेलल र बर्दिबास नगरपालिकाका उपप्रमुख तारादेवी महतोले आआफ्ना क्षेत्रबाट सहयोगको प्रतिबद्धता जनाउनु भएको छ ।
महिलाहरुको यो समूह ऐले सबैको हाइहाई बनेको छ । “उहाँहरुमा सुदृढ सङ्कल्प र कामप्रतिको निष्ठा देखिन्छ” बर्दिबास–१ का वडाअध्यक्ष भोला खड्का भन्नुहुन्छ, “यो सिको अरु महिलाले पनि अनुसरण गरुन् , नगरपालिकामा महिलाहरुले प्रतिबद्धतासहितको प्रस्ताव ल्याए म साथमा उभिन्छु ।” ‘गरे के हुँदैन ?’ भन्ने आहान यो समूहका महिलाले चरितार्थ गरेका अहिले आम प्रतिकृया सुन्ने गरिएको छ ।
आफूहरुप्रति समुदाय र विभिन्न निकायमा बनेको विश्वास समूहको ताकत भएको आबद्ध महिलाहरुको ठम्याइ छ । उद्योगको सफल सञ्चालन गरेर महिला यतिसम्म गर्नसक्छन् भन्ने देखाउन पनि अब आफ्नो सामर्थ्य समूहमा खन्याउने आबद्ध महिलाले प्रतिबद्धता व्यक्त गरेका छन् ।