
महोत्तरी, २२ साउन : मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले प्रकृति र मौसम अनुकूल हुनेगरी खेती गरिनु पर्ने बताउनु भएको छ । यसपालिको लामो खडेरीबाट चेत्दै अब परम्परागत ढाचाभन्दा जेजस्तो अवस्था बन्छ, त्यसको अनुकूलन हुनेगरी खेती गरिनु पर्ने बताउनु भयो । मुख्यमन्त्री सिंहले आज बिहीबार लालगढमा आयोजित दोस्रो आँप गोष्ठीलाई सम्बोधन गर्दै यस्तो बताउनुभएको हो ।
“हाम्रो मधेशको मुख्यबाली धान हो, तर यसपालि लामो खडेरीले अपेक्षित खेती गरिने अवस्था रहेन” सिंहले भन्नुभयो, “त्यसैले अब खडेरीअनुकूल हुने गरी खेती गर्न जान्नु पर्दछ ।” देशभरिमा आँपको उत्पादनमा मधेशको ७० प्रतिशत योगदान रहेको तथ्याङ्कले देखाएको चर्चा गर्दै उहाँले पूूर्वपश्चिम लोकमार्ग उत्तरका बाँझा पाखामा आँप र अन्य फलफूल लगाउन सकिने बताउनुभयो । यसतर्फ किसान र स्थानीयतहको प्रयत्नमा प्रदेश सरकार साथ रहने उहाँको प्रतिबद्धता छ ।
पानी नपर्दा धान लगाउन नपाइने सत्य हामीसबैलाई थाहा हुँदाहुँदै यसको विकल्प सोच्न ढिलाइ गर्न नहुने उहाँको भनाइ छ । चुरे काछका बाँझा चउर, नदी किनारका उकास जग्गा रुखबिरुवाले हराभरा बनाउन सके वातावरण सन्तुलनमा पनि योगदान हुने सिंहले बताउनुभयो ।
मधेशलाई आँपको ‘हब’ बनाउन विशेष पहलकदमी बढाउन पर्ने उहाँको भनाइ छ । “अहिले नेपालमा उत्पादन हुने आँपमा मधेशको ७० प्रतिशत योगदान छ, अब आँप विदेशमा निर्यात गर्नेगरी उन्नत प्रविधिबाट खेती बढाउन पर्छ” सिंहले भन्नुभयो ।
कार्यक्रममा मधेशको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका सचिब डा. उमेश दाहालले आँपको वैज्ञानिक प्रविधिबाट खेती गरिए यसबाट आर्थिक उपार्जनमा महत्वपूर्ण योगदान हुने बताउनु भयो । यसैगरी फलफूल विज्ञ डा. शान्ता कार्कीले विगतमा आँपको उत्पादन अवस्था र यो खेतीमा अप्नाउन पर्ने नविनतम प्रविधिका बारे चर्चा गर्नुभयो ।
यसैगरी राष्ट्रिय फलफूल विकास केन्द्र कीर्तिपुरका प्रमुख महेशचन्द्र आचार्यले आँप खेतीको राष्ट्रिय अवस्थाबारे प्रकाश पार्नुभयो । मुलुकभरि ५२ हजार ९७५ हेक्टरमा आँप खेती रहेमध्ये मधेशमा ३४ हजार ७९८ हेक्टरमा रहेको तथ्याङ्क प्रस्तुत गर्नुभयो । मधेशमा यसपालि तीन लाख ९५ हजार ९६२ मेट्रिकटन आँप उत्पादन भएको र यो मुुलुकको कूल उत्पादनको ७० प्रतिशत रहेको आचार्यले उल्लेख गर्नुभयो ।
नेपाल सरकार कृषि विभाग, दातृसंस्था आइसीमोड, स्थानीय सामाजिक संस्था सामुदायिक विकास तथा पैरवी मञ्च नेपाल र आर ऐण्ड डीसहितका निकाय र संस्थाको संयुक्त आयोजनामा कार्यक्रम भएको हो । कार्यक्रममा दातृनिकाय आइसीमोडका कृषि उपनिर्देशक इजाबेला कोजेललले यहाँका स्थानीयतह र प्रदेश सरकारका यस दिशाका प्रयत्नमा आफ्नो उदात्त सहयोग रहने प्रतिबद्धता जनाउनुभयो ।
कार्यक्रम कृषि विभागका महानिर्देशक प्रकाशकुमार सञ्जेलको अध्यक्षतामा सम्पन्न भएको हो ।