
भूमिका उपाध्याय,
जलेश्वर (महोत्तरी), १७ भदौ ।
मधेशमा सामुदायिक विद्यालयको पठनपाठन भन्नासाथ जोसुकैले नाक खुम्च्याउँछन् । हुनपनि चरम बेथिति र बेवास्थाले गाँजेर सामुदायिक विद्यालय राजनीतिक अखाडावाजीका थलो बनेका देखिदो छ । भन्छन् नि, हिलोमै कमल फुल्छ, यस्तै बेथितिका बीच महोत्तरीको जलेश्वर–११ पिगौनास्थित जनता माध्यमिक विद्यालय भने सकारात्मक सन्देश दिने प्रयत्नमा छ ।
सामुदायिक विद्यालयलाई व्यवस्थित गर्दै पठनपाठको थलो बनाउने कुरा अहिले कम चुनौतिपूर्ण छैन । जताततैको अव्यवस्थाबीच पिगौनास्थित जनता माविले थालेको सकारात्मक प्रयत्नले सर्वसाधारणमा आशाको दियो जगाउने काम गरेको स्थानीय सर्वसाधारण बताउँछन् ।
“सरकारी स्कूल त हमरासभक गरिबगुरवाके धियापुता बटोइरक दिखाबा दिखेवाक ठाम बनल अई, अईठाम कोनो पढाइ होइछै ?” (सामुदायिक विद्यालयहरु त हामी गरिबका छोराछोरी जम्मा गरेर देखाउने ठाउँ हुन् , यहाँ त पढाइ हुने कुरै होइन) सामुदायिक विद्यालयबारे पहिलेको धारणा सम्झदै पिगौनाको गरिब बस्तीका शिवशङ्कर पण्डित भन्नुहुन्छ, “मुदा आब हमर गामक स्कूल हमरासभक पहिल सोचमें किछ बदलाव लौलक” (तर अब हाम्रो गाउँको विद्यालयले हामीले सोच्ने गरेको पहिलेका कुरामा केही परिवर्तन गर्दैछ) । पण्डितले पहिले बुझ्ने गरिएको सामुदायिक विद्यालयबारेको धारणा आफ्नै गाउँको विद्यालयले फेर्दै गएको बताउनुभयो ।
जिल्ला सदरमुकाम रहेको जलेश्वर नगरक्षेत्रभित्र परेपनि पिगौना पूरै ग्रामीण परिवेशको बस्ती हो । चमार, बाँतर, मुसहर, धोबी र खत्बेसहितका अवसरबाट निकै पछि परेका दलित र धानुक, केवट र नुनियाँजस्ता जनजाति समुदायको सघन बसोबासको यो बस्तीस्थित विद्यालय पनि यिनैजस्ता निमुखाका छोराछोरी पढ्ने ठाउँ हो । “हुनेखाने धनीमानी त पढ्न आफ्ना छोराछोरी यहाँ के राख्थे र ? उनीहरुका लागि त सहरमा स्कूल छँदैछन्” सो बस्तीका दलित समुदायकै उपेन्द्र साफी धोबीले भन्नुभयो, “तर हामी गरिबकै छोराछोरी पढ्ने यो स्कूलले पनि अबचाहिँ पढाइ हुन्छ है भन्ने आस जगाउँदै छ ।” विद्यालयको भौतिक , शैक्षिक तथा सरसफाइका आसलाग्दा काम ‘सेभ द चिल्ड्रेन’ नाउँको संस्था र रतौली युवा क्लवले काम थालेपछि फेरिदै गएको पिगौनाबासीको ठम्याइ छ ।
अहिले विद्यालय परिसर सधैंजसो सफासुग्घर देखिन्छ । विद्यालय परिसर हरित उद्यानले हराभरा छ । विद्यालयमा कक्षा कोठा, फर्निचर र आवश्यक शैक्षिक सामग्री थपिदै छन् । नियमित हुने पठनपाठनले अबको पुस्ता विद्यालय ज्ञान र सामाजिक/पारिवारिक अनुशासनमा अब्बल बन्दै जाने आस जागेको स्थानीय अभिभावक बताउँछन् ।
“पहिने बुझाइते नई छल जे स्कूल अई, आब कनि ठिकठाक लगैछै” (पहिले त विद्यालयजस्तो लाग्दैनथ्यो, अबभने अलि ठिकठाक लाग्दैछ) स्थानीय दलित समुदायका अभिभावक विजय माझी बाँतर भन्नुहुन्छ, “आब भरोसा जागल जे हमरो बच्चाबच्ची किछ पैढलिख लेत” (अबचाहिँ हाम्रा छोराछोरी पनि केही पढ्नलेख्न जान्ने हुन्छन् भन्ने आस जाग्दैछ) । विद्यालयलाई व्यवस्थित बनाउन सेभ द चिल्ड्रेनको सहयोगमा रतौली युवा क्लवले थालेका काम शैक्षिक विकासमा निकै महत्वपूर्ण बनेको स्थानीय अभिभावकको समान धारणा पाइन्छ ।
आफू गरिबी र अभावले पढ्न नपाएपनि दलित बस्तीका अभिभावकले अब देखासिकीबाट शिक्षाको महत्व बुझ्न थालेका छन् । “कि करु हजुर, हमसभ त पढ नई पैली, मुदा आब धियापुताके पढ्ब चाहैछी, गरिबी हमरासबके शाप (श्राप) भगेल , केहुना दू आखरके ज्ञान भगेल त काविल बनत् से आस अई” (के गरौ हजुर, आफू त पढ्न पाएनौ, तर अब छोराछोरी पढाउन चाहान्छौं, गरिबी हाम्रालागि अभिशाप बन्यो, अब कसैगरी दुई अक्षरको ज्ञान भए केही बुझ्ने हुन्छन् भन्ने आस छ) अर्का स्थानीय अभिभावक बिहारी सदा मुसहर भन्नुहुन्छ, “अही भरोसे बौवाबुच्चीके स्कूलमें भर्ना कैने छी” (यसै आसले छोराछोरी विद्यालयमा भर्ना गराएको छु )।
अभाव र गरिबीबीच पनि यहाँका दलित समुदायमा अब नानीहरु पढाउनु पर्छ भन्ने चेत खुलेको देखिन्छ । छोराछोरी पढाउन पर्छ भन्ने सेभ द चिल्ड्रेन र रतौली युवा क्लवको सचेतना अभियानले विद्यालय सुधारसँगै शैक्षिक जागरण बढाएको बस्तीका बुद्धिजवी बताउँछन् । “अब सबैमा छोराछोरी पढाउन पर्छ भन्ने जागरण बढेको छ” पेसाले इञ्जिनियर सो बस्तीका चन्देश्वर ठाकुर भन्नुहुन्छ, “सामाजिक सङ्संस्थाले गर्दै आएका सचेतनामूलक अभियानले सकारात्मक नतिजा देखिदैछन् ।”
विक्रम सम्वत् २०१७ सालमा स्थापना भएको यो विद्यालयमा विक्रम् सम्वत् २०५१ देखी माध्यमिक तहको पठनपाठन सुरु भएको हो । अहिले ३४९ छात्र र ३२० छात्रा गरी ६६९ जना विद्यार्थी रहेका विद्यालयमा माध्यमिकतहका चार, निमावितहका तीन, प्राथमिकतहका छ र बालविकासतर्फ तीन जना गरी जम्मा १६ जना शिक्षक रहेका प्रधानाध्यापक सुरेश साह बताउनुहुन्छ । यसका अतिरिक्त कम्प्युटर अपरेटर, कार्यालय सहयोगी र सफाइकर्मीसहित थप तीन जनशक्ति रहेको प्रअ साहको भनाइ छ । कक्षा ११, १२ को समेत पठनपाठन हुँदै आएको विद्यालयमा यस तहमा शिक्षा सङ्कायका विभिन्न विषय पठनपाठन हुँदै आएको छ ।
“केही वर्ष पहिलेसम्म विद्यालयको भौतिक अवस्था अत्यन्त कमजोर थियो, विद्यार्थीलाई राम्रो ओत र बस्ने डेस्कवेञ्चको प्रबन्ध थिएन, निकै अप्ठ्यारो झेलेका थियौ” प्रधानाध्यापक साह भन्नुहुन्छ, “अब सेभ द चिल्ड्रेनको साथ पाएर रतौली युवा क्लवले भौतिक संशाधन जुटाइ दिएको छ , यसले पठनपाठन सञ्चालनमा निकै सहज भएको छ ।” विद्यालयमा अहिले कक्षा कोठा, सभा भवन, खानेपानी र छात्रछात्राका लागि छुट्टै शौचालय सुविधा रहेका साहको भनाइ छ ।
विद्यालयको अचल सम्पतिमा दुई वटा पोखरी र केही जग्गा रहेको छ । पोखरीबाट प्राप्त हुने बर्सेनि पाँच लाखमाथिको रकमले निजी स्रोतका कर्मचारीको पारिश्रमिक र विद्यालयको नियमित व्यवस्थापनमा सघाउ पुगेको विद्यालय प्रशासनले जनाएको छ । पछिल्ला वर्षहरुमा स्थानीयतहको नियमित रेखदेख र अभिभावकत्व पाइरहिएको प्रअ साह बताउनुहुन्छ ।
“स्थानीय वडाध्यक्ष नै विद्यालय व्यवस्थापन समितिको पनि अध्यक्ष हुनुहुन्छ, हामीले तत्काल समस्या आइपर्दा भन्ने ठाउँ पाएका छौं” प्रअ साह भन्नुहुन्छ, “दातृसंस्था (सेभ द चिल्ड्रेन र रतौली युवा क्लव) सँग वडाध्यक्षको प्रत्यक्ष समन्वयले काम सहज हुने गरेको छ ।” विद्यालयका शिक्षकले मुख्य ध्येय नै पठनपाठनलाई दिएका साहको भनाइ छ ।
विद्यालयले पठनपाठन, सरसफाइसँगै आधारभूत तहका छात्रछात्राको दिवाखाजा व्यवस्थापन निकै राम्रो गरेको स्थानीय अभिभावक बताउँछन् । दिनदिनैको कस्तो खाजा ख्वाइने साप्ताहिक तालिका नै बनाएर विद्यालय प्रशासनले खाजा व्यवस्थापन गरेको छ । खाजा बनाइने भान्सा घर र ससाना छात्रछात्रालाई ख्वाइने ठाउँको सरसफाइ र स्वच्छताले व्यवस्थापन उम्दा देखिएको विद्यालय अनुगमनमा पुग्नुभएका सञ्चारकर्मी विकास आर्य ठाकुरको प्रतिकृया छ ।
“एकछिनको घुमफिरमा सबैकुरा बुझ्न त सकिन्न, तर हरित उद्यान व्यवस्थापन, खाजा व्यवस्थापन र सरसफाइ उच्चकोटिको देखियो” सञ्चारकर्मी ठाकुर भन्नुहुन्छ, “यो जिल्लाका अन्य सामुदायिक विद्यालयहरुले अनुकरण गर्नसके सामुदायिक विद्यालयप्रतिको नकारात्मक धारणा हटाउन सहयोग पुग्छ ।”
विद्यालयलाई साधनस्रोत सम्पन्न बनाएर गुणस्तरीय शिक्षाको थलो बनाउनसके अशिक्षारुपी अन्धकार हटाउन सकिने दातृसंस्थाको सोच छ । “हाम्रो संस्थाको नाउँ नै ‘सेभ द चिल्ड्रेन’ (बालबालिकाको सुरक्षा) भन्ने छ, यस अर्थमा ससाना नानीहरु शिक्षाको अवसरबाट वञ्चित नहुनु परोस् भन्ने हाम्रो मुख्य ध्येय हुन्छ” पिगौना माविलाई रतौली युवा क्लवमार्फत भौतिक र शैक्षिक विकासमा सहयोग गरीरहेको सेभ द चिल्ड्रेन बर्दिबास कार्यालयका बाल नीति विज्ञ झम्केश्वर ओझा भन्नुहुन्छ, “बाल सरोकारका क्षेत्रमा हाम्रो निरन्तर चासो रहन्छ ।” सेभ द चिल्ड्रेनको मुख्य नीति नै बालबालिकालक्षित शिक्षा, स्वास्थ्य, संरक्षण र जिविकोपार्जनसँग सम्बन्धित रहेको हुँदा यस क्षेत्रका काम संस्थाको चासोभित्रका हुने ओझाले स्पष्ट पार्नुभयो ।
पछिल्ला दिनमा जनता मावि पिगौनाले थालेको सकारात्मक प्रयत्नले यहाँ सामुदायिक विद्यालय पनि उम्दा हुन्छन् भन्ने उदाहरण बनेको त्यहाँ पुग्ने जोसुकैले धारणा बनाउँछन् । पिगौनाले थालेको यो परिचयलाई अन्य विद्यालयले अनुसरण गरे सामुदायिक विद्यालयप्रतिको अविश्वास हटाउन सहयोग पुग्ने बुद्धिजीवीहरुको प्रतिकृया छ ।