
भूमिका उपाध्याय,
बर्दिबास (महोत्तरी), २१ भदौ ।
मधेश प्रदेशमै उत्कृष्ट मानिएको बर्दिबास बचत तथा ऋण सहकारी संस्थाले नयाँ नेतृत्व पाएको छ । संस्थाको आज शनिबार पञ्चधुरा माइस्थानमा सम्पन्न १४ औं साधारणसभाले नयाँ नेतृत्व चयन गरेको हो ।
संस्थामा यसअघिका कोषाध्यक्ष सन्तोसकुमार श्रेष्ठको अध्यक्षतामा नयाँ कार्य समिति सर्वसम्मत चयन भएको छ । निर्वाचित समितिमा रेणुका हमाल, मदनकुमार ठकुरी र हर्कबहादुर तामाङ् क्रमशः उपाध्यक्ष, सचिब र कोषाध्यक्ष हुनुहुन्छ । यसैगरी सदस्यहरुमा क्रमशः कृष्णकुमार श्रेष्ठ, हिमाली हमाल, अशोक महतो, सकुन्तला पोखरेल र खुरहरि अधिकारी निर्वाचित हुनुभएको छ । यस्तै साधारणसभाले लेखा तथा सुपरीवेक्षण समितिमा यसअघिका संयोजक माधवप्रसाद पोखरेललाई निरन्तरता दिदै सदस्यहरुमा कुमार भण्डारी र पर्शुराम जोशीलाई निर्वाचित गरेको संस्थाका व्यवस्थापक रमेशबहादुर सिंहले जानकारी दिनुभयो ।
अहिले करिब २३ करोड कारोबार पुर्याएको यो संस्थाको ऋण लगानी १८ करोड माथि रहेको छ । संस्थाको जगेडा कोष एक करोड ५२ लाखको छ । यसैगरी संस्थाले ऋण जोखिम कोषमा दुई करोड ८२ लाख रुपैयाँ छुट्याएको व्यवस्थापक सिंहले स्पष्ट पार्नुभयो ।
विक्रम सम्वत् २०६७ सालमा दर्ता भइ २०६८ साल जेठ १ गतेबाट विधिवत कारोबार सुरु गरेको यो संस्थामा हाल तीन हजार ६०० सदस्य नाघेका छन् । संस्थाले बर्दिबास नगरक्षेत्रभित्र सेवा प्रवाह गरीरहेको छ । बर्दिबास–१ मा मुख्य कार्यालय रहेको यो संस्थाको बर्दिबास–६ किसाननगर र बर्दिबास–१० खयरमारामा सेवा कार्यालय सञ्चालन गर्दै आएको छ । बर्दिबासचोकबाट टाढा रहेका यी क्षेत्रका सदस्यहरुले सहज सेवा पाउन् सकुन् भन्ने उद्देश्यसाथ सेवा कार्यालय सञ्चालनमा ल्याइएका संस्थाले जनाएको छ ।
आज सम्पन्न १४ औं साधारणसभा समारोहमा उत्कृष्ट बचतकर्ता, उत्कृष्ट ऋणि र उत्कृष्ट सेयर सदस्यसहित ११ जनालाई सम्मानित गर्दै उपहारस्वरुप संस्थाको लोगो (प्रतीक) चिन्ह अङ्कित घडी प्रदान गरिएको थियो । यसैगरी सामाजिक कार्यको क्षेत्रमा सेर सदस्यका सामुदायिक विद्यालयमा अध्ययन गर्ने कक्षा ११ र १२ का तीन जना जेहन्दार छात्रछात्रालाई छात्रवृतिस्वरुप जनही १५ हजार नगद प्रदान गरिएको व्यवस्थापक सिंहले जानकारी दिनुभयो । यसैगरी साधारणसभा समारोहमा उत्कृष्ट कर्मचारीलाई सम्मान गरिएको छ । संस्थाले यो चालु आर्थिक वर्ष २०८२/०८३ देखि कम्तीमा पाँच वर्षको सदस्यता भएका ७० वर्ष उमेर पूरा भएका सदस्यलाई मासिक ३०० रुपैयाँ भत्ता उपलब्ध गराउने १४ औं साधारणसभाले निर्णय गरेको छ ।
संस्थाको १४ औं साधारणसभाले यसअघिदेखिको संस्थाको साखलाई अझ चहकिलो बनाउँदै पारदर्शिता, सदस्यमुखी र दिगो वित्तीय सेवाप्रति प्रतिबद्धता जनाएको छ । संस्थाको १४ औं साधारणसभा बर्दिबास नगरपालिकाका प्रमुख प्रहलादकुमार क्षत्रीको प्रमुख आतिथ्य र निवर्तमान अध्यक्ष शङ्करकुमार श्रेष्ठको अध्यक्षतामा सम्पन्न भएको हो ।