
नेपालवाणी नेटवर्क
जनकपुरधाम, भदौ ।
जनकपुरको रामानन्द चौकमा भएको बम विस्फोट घटनामा संलग्न रहेको अभियोग पूर्वराज्य मन्त्री संयय साह जेलमुक्त भएका छन् । जेनजीको उग्र रुपसँगै रास्वपा सभापति रवि लामिछाने सहित कैदीबन्दी जेल बाहिर निस्किएपछि साह पनि मंगलबार नख्खु जेलबाट बाहिरिएका हुन् ।
संविधानसभा सदस्य रहिसकेका साहले १२ वर्षअघि जन्मकैदको सजाय भोग्न नख्खु जेलमा जनकपुर बम विस्फोटका अभियुक्तको रुपमा जेल जीवन व्यतित गरिरहेका थिए । मधेश राजनीतिमा सक्रिय साह २०६४ सालमा तत्कालीन मधेशी जनअधिकार फोरमबाट समानुपातिक तर्फबाट संविधानसभा सदस्य बनेका थिए । पछि उनी सद्भावना पार्टीतर्फबाट पनि संविधानसभा सदस्य निर्वाचित भएका थिए ।
साहमाथि २०६९ साल वैशाख १८ गते जनकपुर रामानन्द चोक बम विस्फोटमा पाँच जनाको ज्यान गएको घटनाको मुख्य योजनाकारका रुपमा उनीमाथि मुद्दा चलाइएको थियो ।
त्यस्तै, जनकपुरकै सञ्चार उद्यमी अरुण सिंहानियाको हत्या प्रकरणमा पनि साहलाई योजनाकारका रुपमा अभियोग लगाइएको थियो । यी दुई चर्चित प्रकरणमा दोषी ठहर भई उनले १२ वर्षदेखि जेलजीवन व्यतित गरेका थिए । जेलबाट निस्किए लगत्तै साहले सामाजिक सञ्जाल मार्फत आफ्नो धारणा सार्वजनिक गर्दै आफू विरुद्ध लगाइएका आरोपलाई अस्वीकार गर्दै उनले आफू निर्दोष रहेको दाबी गरे ।
‘दलको आडमा न्यायाधीशहरुले निर्दोषलाई दोषी र दोषीलाई निर्दोष सावित गरेर जेल हाल्ने गरेका छन् । म पनि त्यसैको सिकार भएको छु,’ साहले भने । उनले जेनजी आन्दोलनको प्रशंसा गर्दै परिवर्तनका पक्षमा जनताको उठानलाई ऐतिहासिकको संज्ञा दिएका छन् ।
।