
नेपालावाणी नेटवर्क
जनकपुरधाम, भदौ ।
जेन–जी प्रदर्शनकारीहरुले जनकपुरधाममा सरकारी कार्यालय तथा राजनीतिक दल नेताको घर निशाना बनाउँदा दजर्नौ कार्यालय तथा नेताको घरमा तोडफोडका साथै आगजनी गरिएको छ । मधेश प्रदेशको स्थायी राजधानी जनकपुरधाम स्थित मुख्यतया मुख्यमन्त्री कार्यालय देखि मधेश प्रदेशसभा तथा राजनीतिक दलका नेताको घरहरुमा लुटपाटका साथै तोडफोड तथा आगजनी गरेका हुन् ।
राजनीतिक नेतृत्व र सत्तारुढ दलका शीर्ष नेताहरुको घर तथा कार्यालयहरु प्रदर्शनकारीहरुको निशानामा पारेका छन् । सामाजिक सञ्जामाथि लगाइएको प्रतिबन्ध र भ्रष्टाचार विरुद्धको आन्दोलनको क्रममा जनकपुरधाम स्थित युवाहरुले मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, मधेश प्रदेशको प्रदेशसभा, भौतिक पूर्वाधार विकास मन्त्रालय, कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रालय, शिक्षा तथा संस्कृति मन्त्रालय, जिल्ला प्रशासन कार्यालय धनुषा, भन्सार कार्यालय जनकपुर, यातायात व्यवस्था कार्यालय जनकपुर, मुजेलिया स्थित प्रहरी चौकी, जिल्ला ट्राफिक प्रहरी कार्यालय, जनकपुरधाम उप–महानगरपालिकाको कार्यालय लगायतहरुमा तोडफोड तथा आगजनी गरेका छन् ।
धनुषाको विदेह नगरपालिका, मिथिला नगरपालिका, जनकपुरको बलवा प्रहरी चौकी, जानकी प्रहरी चौकी, राष्ट्रिय मानव अधिकार आयोग, लगायतमा जेन– जी प्रदर्शनकारीहरुले तोडफोड सहित आगजनी गरेका छन् । त्यस्तै उनीहरुले नेपाली कांग्रेसको मधेश प्रदेशको कार्यालय र धनुषा जिल्लाको पार्टी कार्यालय, नेकपा एमाले धनुषाको कार्यालय, नेकपा माओवादी केन्द्र धनुषाको कार्यालयमा आगजनी गरेका छन् । सो आगजनीका कारण कार्यालय भित्र रहेका सोफा, कुर्सी, महत्वपूर्ण कागजात फाइलहरु लगायतका सरसामग्रीहरुले जलेर नष्ट भएको छ ।
त्यस्तै उनीहरुले नेकपा एमालेका केन्द्रीय सचिव समेत रहेका पूर्वमन्त्री रघुवीर महासेठको घरमा प्रदर्शनकारीहरुको एक समूहले आगजनी गरेका थियो । पूर्व उप–प्रधानमन्त्री समेत रहेका प्रतिनिधिसभा सदस्य विमलेन्द्र निधि, जसपाका नेता तथा प्रदेशसभा सदस्य रामअशिष यादवको घरमा पनि आगजनी गरेको छ ।
गत सोमबार प्रहरीले काठमाण्डु र इटहरीमा प्रदर्शनकारीमाथि गोली चलाउँदा १९ जना युवाको मृत्यु भएपछि देशभर आक्रोशित आन्दोलन तीव्र बनेको छ । सरकारको मौनता, दमनको शैली, र नागरिकको आवाजलाई दबाउने प्रयासप्रति असन्तुष्ट जनाउँदै युवा पुस्ता सडकमा उत्रिएका छन् । त्यस्तै जनकपुरधाममा भइरहेको जेन–जीको उग्र प्रदर्शनपछि धनुषामा कफ्र्यु लागेको छ । धनुषाका प्रमुख जिल्ला अधिकारी शंकरहरि आचार्यले जनकपुरधाम क्षेत्रमा निरन्तर कफ्र्यु आदेश जारी गरिरहेको छ ।
सवारी साधन मुख्य निशाना
मधेश प्रदेश सरकारको हाताभित्र रहेका दजर्नौ दर्जन चारपाङ्गे तथा दुई पाङ्गे गाडी जलाईएको छ । जेन–जी युवाहरुको जनकपुरधाम उप–महानगरपालिकाको आगजनी गर्दा कार्यालय परिसरमा लागेको सवारी साधनमा समेत आगो लागेको छ । आगजनी गर्ने क्रममा प्रदर्शनकारीहरुले जनकपुरधाम उपमहानगरको कार्यालयभित्र राखिएको एलपी ग्यास दुई सय थानमा समेत आगजनी गरेको छ । आगजनीका कारण सबै ग्यास सिलिण्डर विस्फोट हुँदा सो क्षेत्रका घरधनीहरु निकै त्रसित थिए ।
ग्यास सिलिण्डर विस्फोटनको क्रममा भएको पराकम्प र आगजनीका कारण जनकपुरधाम उपमहानगरको कार्यालयभित्र रहेका सोफा, कुसी, कागजात लगायत अधिकांश महत्वपूर्ण सामग्रीहरु समेत नष्ट भएको छ ।