गोविन्द महतो
जनकपुरधाम, भदौ ।

मधेशका मुख्यमन्त्री सतिष कुमार सिंहले रासजनामा दिएको झण्डै दुई हप्ता हुन लाग्यो । तर उनले हाल सम्म पनि प्रदेश प्रमुख समक्ष राजिनामा बुमmाएका छैनन् । मुख्यमन्त्री सतिष कुमार सिंहले जेन–जी आन्दोलनको क्रममा समाजिक सञ्जाल फेसबुक मार्फत राजिनामा घोषणा गरे । गत भदौ २४ गते जेन–जी आन्दोलनको क्रममा तोडफोड, आगजनी तथा लुटपाट हुन थालेपछि सुरक्षा घेराभित्र रहेका मुख्यमन्त्री सिंहले आफ्नो सचिवालयको फेसबुक मार्फत राजिनामा घोषणा गरे ।

जनमत पार्टीका अध्यक्ष चन्द्रकान्त (सिके) राउतले समेत आफ्नो फेसबुकबाट नेकपा एमालेको सरकारका प्रधानमन्त्री केपी शर्मा ओलीको सरकारलाई दिएको समर्थन फिर्ता लिदै जनमत पार्टीका मुख्यमन्त्री सिंहले पदबाट राजिनामा दिने निर्देशन दिए । त्यसलगत्तै जनमतका प्रवक्ता शरदसिंह यादवले समेत सरकारलाई दिएको समर्थन फिर्ता लिदै मधेश सरकारबाट बाहिरिने घोषणा गरे ।
मुख्यमन्त्री सिंहले समेत नागरिकको ज्यान भन्दा ठूलो अरु केही नभएको र जनताको अधिकार र भविष्यप्रति उत्तरदायी हुँदै म मधेश प्रदेशको मुख्यमन्त्री पदबाट राजीनामा गरेको स्विकार गरे । उनले राजिनामा दिदै लेखेका थिए, ‘कसैको जनधनको क्षति नहोस्, सार्वजनिक सम्पत्तिको क्षति नहोस् भनेर राजिनामा दिनुपर्छ भनेर म तयार छु ।’

फेसबुकमा राजिनामा घोषणा गरेपनि प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारी जनकपुरधाम बाहिर रहेकाले औपचारिक पत्र बुझाएनन् । प्रदर्शन पश्चात आगजनी तथा तोडफोडले अस्तव्यस्त मधेश भवनमा तत्काल माहोल शान्त नभएसम्म प्रदेश प्रमुख भण्डारी काठमाण्डौमा घेरिएका थिए । एयरपोर्ट बन्द रहेकाले तत्काल जनकपुर आउने वातावरण पनि थिएन । सोही क्रममा भदौ २८ गते जनमत पार्टी मधेशका संसदीय दलका नेता महेश प्रसाद यादवले सरकारलाई दिएको समर्थन फिर्ता सहित मुख्यमन्त्री र मन्त्रीलाई फिर्ता बोलाएको पत्र मधेश प्रदेशसभामा सभामुख रामचन्द्र मण्डल कहाँ दर्ता गराए ।

मुख्यमन्त्रीको छलफल बिनै दलका नेताले पठाएको पत्रले मुख्यमन्त्री आक्रोशित भए । उनले भने, ‘प्रदेश प्रमुख ज्यू यहाँ हुनुहुन्न, यस्तो बेलामा मैले कसलाई पत्र पठाउने ? राजिनामा कसलाई बुझाउने ? छलफल विनै मुख्यमन्त्री र मन्त्रीलाई बोलाउने निर्णय एक्कासी समाजिक सञ्जालमा कसरी छताछुल्ल भयो ?’ साथै उनले सरकार समर्थिन दलहरु नेकपा एमाले, नेपाली काँग्रेस र लोसपासंगै प्रतिपक्षी दलहरु नेकपा एकिकृत समाजवादीसंग पनि छलफल गरे । छलफलमा सबैले सकारात्मक प्रतिक्रिया जनाए । जसले मुख्यमन्त्री सिंहले विश्वासको मत दिने र मुख्यमन्त्रीमा कायम रहन हौसला बढाए ।

जसले गर्दा विच्किएको मुख्यमन्त्री सिंह एमालेको जोडबलले मुख्यमन्त्रीबाट राजिनामा नदिने मुडमा गए । जनमतले भने मुख्यमन्त्री सिंहलाई हटाउन कसरत गरिरहे । जनमत पार्टीको अनुशासन विभागले २४ घण्टे र ३ दिने स्पष्टिकरण समेत सोध्यो । तर मुख्यमन्त्रीले जनमतको स्पष्टिकरण पत्रलाई टेरपुच्छर लगाएन् । जनमतले आफ्नो दुई मन्त्री उद्योग, वाणिज्य तथा पर्यटन मन्त्री ईन्जिनियर बसन्त कुमार कुशवाहा र वन तथा वातावरण मन्त्री संजय कुमार कुशवाहालाई फिर्ता बोलाईसकेको छ ।
यता नेकपा एमालेबाट मन्त्री बनेका संसदीय दलका नेता सरोज कुमार यादव लगातार दुई पटक मन्त्री भए । अब मन्त्रीमण्डल गठन भए यादव मन्त्री मण्डलमा स्थान नपाउने निश्चित जस्तै छ । किनकी एउटै व्यक्तिलाई पटक–पटक मन्त्री दिदा अपार्टी आन्तरिक कलहमा फस्ने डरले उनको मन्त्री पद च्यूत हुने अवस्था आउन सक्छन् । साथै यादव माथि एमालेका उपाध्यक्ष ईश्वर पोखरेलले एक कार्यक्रममा यादवतर्फ संकेत गर्दै कमिशन लिने गरेको बताएका थिए । साथै मन्त्री मण्डल फेरिए दोश्रो पटक मन्त्री बनिसकेका शत्रुधन प्रसाद, सिंह, राजकुमार लेखी तेश्रो पटक मन्त्र ीमण्डलमा समावेश नहुने पक्का छ । त्यसैले यही सरकारलाई जसोतसो बढाउन एमालेका मन्त्रीहरुको मुख्य कसरत छ । तर एमालेका प्रमुख सचेतक हरिनारायण महतोले मुख्यमन्त्रीले घोषणा गरिसकेकाले नैतिकताको आधारमा भएपनि राजिनामा दिनुपर्ने बताएका छन् ।

यता जनमतका संसदीय दलका नेता महेश प्रसाद यादवले संसदीय दलका नेताको हैसियतले मुख्यमन्त्री बन्न नपाएकोमा पहिल्यै देखि पार्टीपंक्ति तथा मुख्यमन्त्रीसंग रुष्ट देखिएका छन् । यादव यसअघि शिक्षा तथा संस्कृति मन्त्रालयको स्वाद लिसकेको हुँदा दलको नेताको हैसियतमा मुख्यमन्त्री हुन नपाएकोमा सिके राउत र पार्टीसंग बिच्किएका छन् । जसको बदलामा उनी सक्दो छिटो मुख्यमन्त्रीलाई अपदस्त गर्न लागि परेको श्रोतको भनाई छ ।


२०८२ आश्विन ५, आईतवार १३:५७मा प्रकाशित

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय