
जेनेभा– राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद दाहाल र अष्ट्रेलियाको संसद हाउस अफ रिप्रेजेन्टेटिभका सभामुख मिल्टन डिकसँग द्विपक्षीय भेटवार्ता भएको छ ।
अन्तर व्यवस्थापिका संघ आईपीयूको १५१ अौँ महासभाको सन्दर्भमा जेनेभामा रहेका राष्ट्रियसभा अध्यक्ष दाहालले अष्ट्रेलियन सभामुखसँग भेट गरेका हुन् ।
भेटमा दुई देशबीचको आपसी सम्बन्ध, द्विपक्षीय हित र सहयोगका साथै संसदीय सहकार्यका विषयमा छलफल भएको थियो ।
अष्ट्रेलियाले नेपालको शिक्षा, स्वास्थ्य, सुशासन र सामुदायिक वन व्यवस्थापनका क्षेत्रमा उल्लेख योगदान गरेको भन्दै अध्यक्ष दाहालले आगामी दिनमा जलवायु परिवर्तनको सामना, नवीकरणीय ऊर्जा, स्थानीय सुशासन लगायतका क्षेत्रमा सहकार्य हुने विश्वास व्यक्त गरे ।
१ लाख ८० हजार बढी नेपालीहरू अष्ट्रेलियामा रहेको भन्दै अध्यक्ष दाहालले ६० हजार बढी विद्यार्थीहरू अष्ट्रेलियामा अध्ययन गरिरहेको बताए ।
अष्ट्रेलियामा रहेका नेपाली समुदाय र विद्यार्थीहरूको सुरक्षा, सम्मान र सहयोगी वातावरणका लागि धन्यवाद व्यक्त गर्दै अध्यक्ष दाहालले शैक्षिक साझेदारी, प्राविधिक तालिम र अनुसन्धान आदान प्रदान जस्ता कार्य विस्तारमा जोड दिन आग्रह गरे ।
आईपीयू महासचिव र भारतीय प्रतिनिधिमण्डलसँग भेट
यसैबीच, अध्यक्ष दाहालले जेनेभामा अनुराग सिंह ठाकुर नेतृत्वको भारतको संसदीय प्रतिनिधि मण्डल तथा अन्तरव्यवस्थापिका संघ (आईपीयू) का महासचिव मार्टिन चुङगोङसँग भेट वार्ता गरेका छन् ।
भारतीय टोलीसँगको भेटमा अध्यक्ष दाहालले भारतसँगको सम्बन्ध अौपचारिक र देशबीचको मात्रै नभई जनता–जनताबीचको सम्बन्ध निकै बलियो रहेको बताए ।
नेपालमा पछिल्लो समयमा भएको जेनजी आन्दोलन, त्यसबाट उत्पन्न नयाँ राजनीतिक परिवेशमा अन्तरिम सरकार गठन भएको र चुनाव घोषणा भएको जानकारी गराउँदै अध्यक्ष दाहालले तोकिएको समयमै निर्वाचन सम्पन्न गरी लोकतान्त्रिक सुदृढीकरणका लागि नेपाल प्रयत्नशील रहेको बताए ।
त्यस्तै, आन्दोलनका क्रममा क्षति पुगेका संरचनाहरूको पुनर्निमाण र नयाँ निर्वाचनका लागि मित्र राष्ट्रहरूको साथ र सहयोगको लागि अध्यक्ष दाहालले आग्रह गरे ।
आईपीयूका महासचिव मार्टिन चुङगोङसँगको भेटमा अध्यक्ष दाहालले नेपालमा बदलिएको राजनीतिक परिस्थितिमा प्रतिनिधि सभाको निर्वाचन तोकिएको र विधायिकी जिम्मेवारी राष्ट्रियसभाले निर्वाह गरिरहेको बताए ।
संसदीय अभ्यास थप परिष्कृत गर्न र लोकतान्त्रिक संस्थाहरु सुदृढ बनाउन अन्तर व्यवस्थापिका संघसँग सहकार्य गर्न चाहेको अध्यक्ष दाहालले बताए ।