काठमाडौँ– मधेश प्रदेशका मुख्यमन्त्री जितेन्द्र सोनलले कात्तिक २२ गते विश्वासको मत लिने भएका छन्। आज बुधबार साँझ मुख्यमन्त्री निवासमा बसेको सत्तागठबन्धको बैठकले उनले विश्वासको मत लिने मिति तय गरेको हो।
बैठकमा सरकारमा सहभागिताको टुंगो नलगाइसकेका तर विश्वासको मत दिने आश्वासन दिएका एक÷एक सांसद भएका नागरिक उन्मुक्ति पार्टी र संघीय समाजवादी पार्टीका नेता पनि आज साँझको बैठकमा सहभागी थिए।
गत असोज २९ गते पाँच दलहरु जसपा नेपाल, जनमत, नेकपा माओवादी केन्द्र, लोसपा र नेकपा एकीकृत समाजवादी पार्टीका ५६ सांसदको समर्थनमा उनी मुख्यमन्त्री बनेका थिए। मुख्यमन्त्री हुँदा ५६ जनाको समर्थन पाएका उनले विश्वासको मत लिँदा ५८ जनाको मत पाउने सत्तारुढ दलको दाबी छ।
१०७ सदस्यीय मधेश प्रदेशसभामा विश्वासको मत प्राप्त गर्नका लागि ५४ मत चाहिन्छ। अहिले यहाँका तीन सांसद विभिन्न मुद्दाका कारण निलम्बनमा छन्। हाल गठबन्धन सरकारलाई जसपा नेपालका १८, लोसपा नेपालका ८, जनमत पार्टीका १३, माओवादी केन्द्रका ९ र एकीकृत समाजवादीका ७ गरी ५५ जना सांसदको समर्थन छ।



