जनकपुरधाम : मधेश प्रदेशका मुख्यमन्त्री जितेन्द्र प्रसाद सोनार ‘सोनल’ ले राष्ट्रव्यापी रुपमा संचालन हुने राष्ट्रिय भिटामिन ‘ए’ कार्यक्रमलाई सफल बनाउन सबैलाई सहयोग गर्न अपिल गर्नुभएको छ।
मधेश प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट जारी गरिएको अपिल अनुसार, यो कार्यक्रम कार्तिक २० र २१ गते देशभर सञ्चालन हुनेछ। यस कार्यक्रमको अन्तर्गत, मधेश प्रदेशका सबै स्थानीय तहका वडामा महिला स्वास्थ्य स्वयंसेविका र स्वास्थ्यकर्मीहरूको सक्रिय सहभागितामा ६ महिना देखि ५ वर्ष मुनिका बालबालिकालाई भिटामिन ‘ए’ क्याप्सुल र १ वर्ष देखि ५ वर्ष मुनिका बालबालिकालाई जुकाको औषधि (अलवेन्डाजोल ट्याबलेट) खुवाइनेछ।
मुख्यमन्त्री सोनारले प्रदेशका स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अन्तर्गतका सबै निकाय, स्थानीय तह र सरोकारवालाहरूसँग आवश्यक सहयोग र समन्वय गरेर यस कार्यक्रमलाई पूर्ण सफल बनाउन आग्रह गर्नुभएको छ।
भिटामिन ‘ए’ क्याप्सुल र जुकाको औषधि खुवाउने यस राष्ट्रिय अभियानले बालबालिकामा कुपोषण, रगतअल्पता, दृष्टि समस्या र जुकाको असर घटाउनेमा महत्त्वपूर्ण योगदान पुर्याउने अपेक्षा गरिएको छ।



