कार्तिक २० गते
मलंगवा – सर्लाहीको कबिलासी नगरपालिका – ६ मदनपुर नजिक भएको सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन्।
मंगलबार साँझ करिब ६ बजेर १५ मिनेट जाँदा आलु र प्याज लोड गरिएको ज १ त ६२०३ नम्बरको ट्र्याक्टर र सोही दिशातर्फ जाँदै गरेको बा ४७ प ९८९२ नम्बरको मोटरसाइकल एक आपसमा ठोक्किँदा दुर्घटना भएको हो।
दुर्घटनामा मोटरसाइकल चालक चन्द्रनगर गाउँपालिका – ५ महोनपुरका ४२ वर्षीय सुरेन्द्र ठाकुर लोहार गम्भीर घाइते भएका थिए। उनलाई उपचारका लागि तत्काल प्रादेशिक अस्पताल मलङ्गवा पुर्याइए पनि चिकित्सकले साँझ ७ बजेर ५५ मिनेटमा मृत घोषणा गरेका हुन्।
मोटरसाइकलमा पछाडि सवार बरहथवा नगरपालिका – ७ का १९ वर्षीय राजु ठाकुर लोहार घाइते भएका छन्। उनको निधार, दाहिने हातको कुहिनो र तिघ्रामा चोट लागेको र अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ।
घटनास्थलमा इलाका प्रहरी कार्यालय हरिपुर, चक्रघट्टा, जिल्ला प्रहरी कार्यालय सर्लाही र अस्थायी प्रहरी पोष्ट हेम्पुर पचगछियाबाट संयुक्त रूपमा प्रहरी टोली खटिएको थियो।
दुर्घटनापछि ट्र्याक्टर चालक फरार रहेका छन् भने ठक्कर दिने ट्र्याक्टर नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले नेपाल वाणीलाई जनाएको छ।



