जनकपुरधाम, कात्तिक २२ गते । मधेश सरकार गठन भएको तीन सातापछि मन्त्रिपरिषद विस्तार गर्न लागिएको छ ।
मुख्यमन्त्री जितेन्द्र साेनलले विश्वासकाे मत लिए लगतै मन्त्रीपरिषद विस्तार गर्ने तयारी गरिएकाे बुझिएकाे छ । आज कातिक २२ गते मुख्यमन्त्री साेनल विश्वासकाे मत लिने कार्यक्रम रहेकाे ।

विभिन्न दलकाे जुटफुटले विश्वासकाे मतमा दलहरूबाट असहयाेग हुन सक्ने आशंकाले सरकार गठनकाे तीन सातासम्म मन्त्रिपरिषद विस्तार नगरिएकाे गठबन्धन आबद्ध दलका नेताहरूकाे भनाई छ ।

विश्वसनीय श्रोतका अनुसार नेकपा माओवादी केन्द्रबाट भरत साह, जसपा नेपालबाट रामआशिष यादव, मनिषकुमार सुमन, नेकपा एसबाट रत्नेश्वर गोइत यादव, लोसपा नेपालबाट जयनुल राईन र जनमत चन्दन सिंह मन्त्रीको नाममा आन्तरिक तयारी रहेको छ ।

माओवादी र नेकपा एस एकीकृत भएपनि मधेश सरकारमा पुरानै सहमति अनुसार मन्त्रालय सीटको बाँडफाँट हुने मुख्यमन्त्री सोनलको भनाई छ ।
माओवादी केन्द्रबाट भरत साह मन्त्री बन्न लागेको हो भन्ने कुरा पार्टी भित्र चर्चामा छन् । साहले मन्त्री बन्नकै लागि दल एकीकरणको पूर्वसन्ध्यामा बार्गेनिङ्ग गरेर पु्‌नः संसदीय दलको नेतामा चयन भएका थिए । सरकारमा दलबाट नेतृत्व गर्न संसदीय दलको नेतृत्वमा जानुपर्ने परम्परा अनुसार साह माओवादीबाट मन्त्री बन्न लागेको हो । माओवादी र नेकपा एस एकीकृत भएपछि मधेशमा गठबन्धन दलभित्र जसपापछि दोश्रो ठूलो दल बन्न गएको । सो अनुसार उहाँलाई अर्थमन्त्रीको जिम्मेवारी दिने तयारी रहेको श्रोतको दाबी छ ।

यस्तै नेकपा एसबाट संसदीय दलका नेता गोविन्द न्यौपाने, प्रमोद यादव र बेची लुँगेली मन्त्री भइसकेको छ भने कनिष पटेल भर्खर सहभागी भएको कारण मन्त्री बन्ने लाईनमा रत्नेश्वर गोइत यादव नै बांकी छन् । उहाँले भने पार्टी भित्र सबै मन्त्री बनिसकेका छन् अब एउटा मात्र म नै बांकी रहेकाले मेरो अधिकार पनि रहेको बताए ।

लोसपाबाट संसदीय दलका नेतालाई तयारी रहेको कारण जयनुल राईन मन्त्री बन्ने पक्का रहेको छ । जनमत पार्टीबाट जनस्वराजमा सांसदहरु जान सक्ने डरले अहिलेसम्म दुईजनाको नाम टुँगो लगाइएको छैन । विश्वासको मतपछि टुँगो लगाईने पार्टी श्रोतकाे छ ।

जसपा नेपालबाट संसदीय दलका नेता सरोजकुमार यादव र लालबाबु राउत मुख्यमन्त्री भइसकेको छ भने सिंहासन सिंह कलवार, संजय यादव मन्त्री भइसकेको कारण प्रमुख सचेतक रामआशिष यादव, पार्टीका प्रवक्ता समेत रहेका मनिषकुमार सुमन र एकजना महिलाको नाम अघि सारिएको पार्टी विशेष श्रोतको भनाई छ । हुनत यस बारे आन्तरिक छलफल जारी रहेको छ ।

नेकपा माओवादी, जसपा नेपाल, नेकपा एस, लोसपा र जनमतपार्टीसहित पांच दलको समर्थनमा ५६ सांसदको समर्थनमा मुख्यमन्त्री बनेका थिए । पछि नागरिक उन्मुक्ति पार्टी र नेपाल संघीय समाजवादी पार्टी समेत समर्थन गरेपछि हाल ५८ मत देखिएपछि सोनलसँग हाल ५५ सांसदको मत पाउने सम्भावना देखिएको छ । जनमतबाट फुटेका जनस्वराजमा गएका दुई सांसद, जसपाबाट सरोजसिंह कुशवाहा निलम्बित भएपछि उनले ५५ मत पाउने देखिन्छ ।
जनमत पार्टीबाट फुटेर गठित जनस्वराज पार्टी निवर्तमान मुख्यमन्त्री सतिश सिंहसहितका दुई सांसद निस्केपछि विश्वासको मतमा शंका उपशंका भएपछि दुईजना विभागीय मन्त्रीसहित मात्र मुख्यमन्त्री सोनलले शपथ ग्रहण गरेका थिए ।


२०८२ कार्तिक २२, शनिबार ०९:३२मा प्रकाशित

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय