बर्दिबास, १ मङ्सिर ।
बौद्धिक अपाङ्गता भएका बालबालिकाका लागि महोत्तरीको बर्दिबास–२ मा निर्मित पाठशाला सञ्चालन भएको छ । बौद्धिक अपाङ्गता भएका हरुका लागि सी आशा फाउण्डेशनले सञ्चालन गर्ने आशा विशेष पाठशाला तथा पुनर्स्थापनाकेन्द्र बर्दिबास–२ को नवनिर्मित भवन आज बर्दिबास नगरप्रमुख प्रहलादकुमार क्षत्रीले उद्घाटन गर्नुभएसँगै आज कक्षा शुभारम्भ भएको हो ।
फाउण्डेशनले मुलुकका सात प्रशेशमा एक/एक यस्ता पाठशाला बनाउने नीतिअनुसार मधेशका लागि बर्दिबास–२ मा निर्माण गरिएको हो । पाठशाला निर्माणका लागि बर्दिबास नगरपालिकाले उपलब्ध गराएको एक बिघा जग्गामा मधेश प्रदेश सरकारको सहयोगले भवन निर्माण र चारैतिरको पर्खाल लगाउने कार्य सम्पन्न भइ आज नै कक्षा सञ्चालन थालिएको फाउण्डेशनका अध्यक्ष अजय खनालले बताउनुभयो ।
स्पेनिस नागरिक अयना बार्का न्यौपानेको संरक्षण र प्रेरणाले स्थापित फाउण्डेशनको यो तेस्रो पाठशाला हो । यसअघि ललितपुर र मकवानपुरमा पाठशाला बनेर सञ्चालनमा आइसकेका छन् ।
मधेशका आठवटै जिल्लालाई लक्षित गरी स्थापित यो विद्यालयमा अहिले निर्मित भवनमा प्रशासनिक भवन, भान्सा, कक्षा कोठा , क्रिडाभवनसहित पाँच कोठा छन् । पाठशालाका लागि हाललाई जग्गा पर्याप्त भएपनि थप कक्षा कोठा र आबास भवन (छात्राबास) नहुँदा टाढाटाढाका बौद्धिक अपाङ्गता भएका बालबालिका अहिले नै भर्ना गर्न नसकिएको पाठशालाका कार्यकारी निर्देशक रुपा कार्कीले जानकारी दिनुभयो । अहिले बर्दिबास र छिमेकको धनुषाको मिथिला नगरक्षेत्रभित्रका १० जना बौद्धिक अपाङ्गता भएका बालबालिकाबाट कक्षा सुरु गरिएको उहाँको भनाइ छ । पूर्ण निशुल्क यो पाठशालामा बालबालिकाको स्वास्थ्य हेरचाह र घरबाटै आउनजान यातायातको व्यवस्था रहेको कार्कीले बताउनुभयो ।
आउने दिनहरुमा पाठशालाको थप भौतिक पूर्वाधारसहितका काम र छात्राबास निर्माणमा बर्दिबास नगरपालिकाले पहलकदमी लिने कार्यक्रममा नगरप्रमुख क्षत्रीले प्रतिबद्धता जनाउनुभयो । अहिले १० जनाबाट कक्षा सुरु गरिएको र भौतिक पूर्वाधार थपिदै गएपछि यस्ता बालबालिका थपिने कार्यकारी निर्देशक कार्कीको भनाइ छ । आफूहरुको सम्पर्कमा प्रदेशभित्रका ६० भन्दा बढी बालबालिका आइसकेका उहाँले बताउनुभयो ।





