भूमिका उपाध्याय,
बर्दिबास (महोत्तरी) , १ मङ्सिर ।
बर्दिबासका सफल व्यवसायी कुमार भण्डारीलाई उत्कृष्ट करदाता सम्मान प्राप्त भएको छ । बर्दिबास–१ का बासिन्दा भण्डारीलाई आन्तरिक राजश्व कार्यालय बर्दिबास (महोत्तरी) ले आफ्नो कार्यक्षेत्रका उत्कृष्ट करदाता सम्मान प्रदान गरेको हो ।
आर्थिक वर्ष २०८१/०८२ का उत्कृष्ट करदातालाई आज सोमबार १४ औं राष्ट्रिय कर दिवसका अवसरमा सम्मानित गरिएको हो । भण्डारीलाई आन्तरिक राजश्व कार्यालय बर्दिबास (महोत्तरी)का कार्यालय प्रमुख अमित पौडेलले दोसल्ला ओढाएर सम्मानपत्र प्रदान गर्नुभएको हो ।
सम्मानित भण्डारी बर्दिबासमा गणेश ट्रान्सपोर्ट, रक्षा ट्रेडर्स र भण्डारी सप्लायर्ससहितका कम्पनीका सञ्चालक हुनुहुन्छ । भण्डारीले गत आर्थिक वर्ष २०८१/०८२ मा ७६ लाख ५५ हजार आयकर बुझाउनु भएको कार्यालयको अभिलेखले जनाएको छ । भण्डारी कार्यालयको कार्यक्षेत्रका सबैभन्दा बढी कर दाखिला गर्ने व्यवसायी बन्नु भएको छ । भण्डारीले सञ्चालन गर्नुभएका कम्पनीहरुमा ५० भन्दा बढीले रोजगारी पाएका छन् ।
बर्दिबासमा नयाँ पुस्ताबीच लोकप्रिय रहेका भण्डारी सामाजिक गतिविधिमा सकृय रहँदै आउनु भएको छ । भण्डारी हाल बर्दिबास हेल्प फाउण्डेशन सामाजिक संस्थाको अध्यक्षसमेत हुनुहुन्छ । यो फाउण्डेशनले बर्दिबास नगरक्षेत्रका गरिब परिवारका ३३ जना छात्रछात्रालाई उच्च शिक्षाका लागि छात्रवृति प्रदान गरेको छ । आपदविपदमा सधैं अग्रपङ्तिमा उभिएर सेवाभावले समर्पित रहने भण्डारीलाई बर्दिबासका युवा राजनीतिक जिम्मेवारीमा आउन दवाव बढाइ रहेका देखिन्छन् ।

