नेकपा (एमाले) अहिले आफ्नो ११ औं राष्ट्रिय महाधिवेशनको सङ्घारमा छ । यसै क्रममा राष्ट्रभरिबाटै गत शनिबार (१३ मङ्सिर) प्रतिनिधि निर्वाचन अधिकांश ठाउँमा सम्पन्न भएको छ । महोत्तरीमा पनि यस क्रममा प्रतिनिधि निर्वाचन सम्पन्न भएको छ । प्रतिनिधि निर्वाचनमा महोत्तरी–१ बाट पुराना नेता गुञ्जबहादुर खड्का पनि निर्वाचित हुनुभएको छ । आसन्न महाधिवेशनमा नेतृत्वका लागि कडा प्रतिष्पर्धा हुने अड्कलबाजीका बीच महोत्तरीका प्रतिनिधिको चुनावी रुझानबारे खड्कासँग हाम्रा सहकर्मी भूमिका उपाध्यायले कुराकानी गर्नुभएको छ । यहाँ सो कुराकानीको सारसंक्षेप प्रस्तुत छ ।–सम्पादक
– एमालेको ११ औं महाधिवेशनका लागि तपाई पनि प्रतिनिधि निर्वाचित हुनु भएछ । अब फेरि केपी शर्मा ओलीलाई अध्यक्ष बनाउन बल पुगेजस्तो लागेको छ नि ?
++महाधिवेशनमा बल पुग्ने कुरा किन हुन पर्यो र ? महाधिवेशन त वैचारिक छलफल र त्यसपछि नेतृत्व चयनको स्वस्थ्य प्रतिष्पर्धाको थलो न हो । फेरि यो त हाम्रो आफ्नै दलभित्रको आन्तरिक प्रतिष्पर्धा हो । यहाँ बल हैन प्रतिनिधिको मतले निर्णय गर्छ ।
–प्रतिनिधि निर्वाचनमा संस्थापनपक्षले थिचोमिचो गरेको बाक्लै गुनासा सार्वजनिक भएका छन् । प्रतिनिधि निर्वाचनमै साम, दाम, दण्ड, भेद सबै प्रयोग भएको दलभित्रकै गुनासो छ । अनि यो बल भएन ?
++प्रतिनिधि निर्वाचनमा ठाउँठाउँमा केही समस्या आए होलान् । यति विशाल पार्टीको महाधिवेशनको तयारी छ । तर थिचोमिचो र साम, दाम, दण्ड, भेदकै गुनासो साथीहरुबाट आएको छ भने आफ्नो चित्त बुझाउन बनाइएका प्रायोजित कुरा हुन सक्छन् । अन्य ठाउँको किन उदाहरण दिउँ ? हाम्रो महोत्तरी–१ मै देख्नु भएन त्यत्रो लाइन लागेर साथीहरुले मतदान गर्नु भएको ? यहाँ कसैको गुनासो सुन्नुभयो ? मतदानदेखि मतगणनासम्म ? हामीले पहिलो चरणमै समुन्नत लोकतन्त्रको अभ्यास थालेका छौं । महाधिवेशन यिनै प्रकृया र पद्धतिबाट सम्पन्न हुनेछ ।
–अनि यहाँ त प्रतिनिधिमा शङ्कर महतो नेतृत्वको प्यानल जितेको समाचार बाहिरिएका छन् । तपाईँ पनि त्यसै पाइनलको उमेद्वार भएर जित्नु भएको हो ?
++मैले महाधिवेशन प्रतिनिधि हुन आफैंले इच्छा व्यक्त गरें । अरु साथीको पनि आफ्नै इच्छाको उमेद्वारी हो । शङ्करजी उमेद्वार बन्ने कुरा पनि उहाँकै निर्णय हो । हो , महोत्तरी–१ को निर्वाचनमा खुला क्षेत्रबाट छ जना र महिला निर्वाचन क्षेत्रबाट तीन जना निर्वाचित गर्नु थियो । त्यहाँ मतदाताले आफ्नो विवेकको प्यानल बनाउनु भयो होला । उम्मेदवार त कसैको नेतृत्वमा प्यानलमा थिए भन्ने होइन । कुनै उमेद्वारले आफूबाहेक अरु आवश्यक सङ्ख्याका लागि अरुका लागि पनि भोट माग्नुभयो होला । तपाईलाई कसले भन्यो, शङ्करजी नेतृत्वको पाइनल भन्ने कुरा । खै मैले त देखे, पढेको छैन त्यस्तो समाचार । कसैले छापेका भए उनकै कुनै अभिष्ठ होला ।
–अब महाधिवेशनमा नेतृत्व चयनको कुरा अलिकता गरौं । महाधिवेशनमा केपी शर्मा ओलीलाई वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले टक्कर दिने कुरा छ । महोत्तरीसहितको जनकपुर क्षेत्र नेता ईश्वर पोखरेलको भूमिगतकालदेखिकै कार्यक्षेत्र मानिन्छ । यहाँबाट त उहाँ (पोखरेल) ले राम्रो मत पाउनु होला नि ! तपाईँलाई के लाग्छ ?
++महाधिवेशन विचार र नेतृत्व छान्ने कुरामा खुला छलफल गरिने थलो हो । हाम्रो पार्टीमा प्रतिनिधि निर्वाचन तयारीकै क्रममा विचार र नेतृत्वका बारेमा आफ्नो अभिमत प्रस्ट्याएर नै सदस्यसँग मत मागिन्छ । यस हिसाबले हामी सबैजसो चुनिएका प्रतिनिधि पक्षका कुराले चिनिएका बुझिएका छौं । क. ईश्वर पोखरेल हाम्रा सम्मानित नेता हुनुहुन्छ । उहाँप्रति उच्च सम्मान छ । तर महाधिवेशनमा अध्यक्षको प्रतिष्पर्धामा भने यहाँ चुनिएका प्रतिनिधिले केपी शर्मा ओलीको नेतृत्व मान्न सदस्यहरुले अभिमत दिएका हुन् । यहाँ सदस्यको अभिमतसँग बैमानी गर्ने छुट हामीलाई छैन ।
–भनेपछि महोत्तरीमा ईश्वर पोखरेललाई समर्थन गर्ने प्रतिनिधि निर्वाचित भएका छैनन् ?
++हो, क. ईश्वरलाई समर्थन गर्ने प्रतिबद्धतामा कुनै प्रतिनिधि यहाँ छानिएका जस्तो मलाइ लाग्दैन । अर्को कुरा देशव्यापि रुपमा अहिले छानिएका प्रतिनिधिको चित्र देखे बुझेपछि नेतृत्व छान्न चुनाव नै होला भन्ने पनि मलाइ लाग्दैन । म त महाधिवेशनमा सर्वसम्मत नेतृत्व चयनको सम्भावना झनै बढेको देख्दैछु । यद्यपि नेतृत्व चयनमा प्रतिष्पर्धाको कुरा त हाम्रो दलको पद्धतिमै स्थापित छ । हाम्रो महाधिवेशन समुन्नत लोकतान्त्रिक अभ्यासको नमुना थलो हुनेछ ।

