बर्दिबास, २० मङ्सिर ।
बर्दिबासमा प्रहरीले लागुऔषध खैरो हिरोइनसहित दुई जनालाई पक्राउ गरेको छ । पूर्वपश्चिम राजमार्गबाट बिपी राजमागहुँदै सिन्धुलीतर्फ जाँदै गरेको प्र २–०२–००५–प ३१५९ नम्बरको मोटरसाइकलमा सवार दुई जनालाई शुक्रबार साँझ रोकेर चेकजाँच गर्दा ‘रोमान्जो चोको लाभा कुकिज’ लेखिएको चकलेटको बट्टामा लागुऔषध लुकाइ राखेको ५२.८५० ग्राम खैरो हिरोइन फेला परेको लागु औषध नियन्त्रण ब्युरो बर्दिबास शाखाका प्रमुख प्रहरी नायब निरीक्षक सरोज अधिकारीले जानकारी दिनुभयो ।
यो लागुपदार्थ साथ महोत्तरीकै जलेश्वर–६ का २६ वर्षीय विक्कीकुमार मिश्र र कास्की पोखराकी १६ वर्षीया नेहा परियारलाई नियन्त्रणमा लिइएको हो । मिश्रले हाँकेको मोटरसाइलमा पछि बसेकी परियारले बोकेकी सेतो झोलामा राखिएको चकलेटको डिब्बाभित्र सो मात्राको खैरो हिरोइन बरामद गरिएको ब्युरो बर्दिबास शाखाले जनाएको छ । बरामद लागुऔषध र मोटरसाइकलसहित पक्राउ परेका दुबैलाई कार्वाहीका लागि इलाका प्रहरी कार्यालय बर्दिबासमा बुझाइएको प्रनानि अधिकारीले बताउनुभयो ।
बर्दिबास क्षेत्र लागुऔषध कारोबार र ओसारपसारको केन्द्र बन्दै गएको आम गुनासो बढेबीच ब्युरो शाखा र इलाका प्रहरी कार्यालय बर्दिबासले यस्ता ठाउँहरुको निगरानी र खोजविन बढाएको छ । गत आर्थिक वर्ष २०८१/०८२ मा तीन करोड मूल्यको लागुऔषध बरामद गरी कार्वाही चलाएको ब्युरोले चालु आर्थिक वर्षका हालसम्म पाँच क्विण्टल बढी गाँजा बरामद गरी सकेको छ । चालु आव २०८२/०८३ को हालसम्मको अवधिमा आफ्नो कार्यक्षेत्रभित्र गरिएको खोज कार्वाहीमा लागुऔषधका चक्की, सिरफ र क्याप्सुल एबं चरेस तथा खेरो हिरोइनसहितका बस्तु बरामद गरिएका १० भन्दा बढी घटना अदालती कार्वाही प्रकृयामा रहेका इलाका प्रहरी कार्यालय बर्दिबासले जनाएको छ ।
बर्दिबास नगरक्षेत्रमा यस्ता बस्तुको ओसारपसार र कारोबार गर्नेहरु डेरा लिएरै बस्ने गरेका प्रहरीको भनाइ छ । लागुऔषध कारोबार र दुर्व्यशन अन्त्यका लागि प्रहरीको प्रयत्नले मात्र सम्भव नहुने हुँदा यस कार्यमा समुदायको साझेदारी आवश्यक रहेको इलाका प्रहरी कार्यालय बर्दिबासका प्रमुख तथा प्रहरी नायब उपरीक्षक विकास बम बताउनुहुन्छ ।

