काठमाडौँ, पौष ६ गते । हामी सबैको खेल, हामी सबैको दायित्व” भन्ने मूल नाराका साथ शनिबार त्रिभुवन विश्वविद्यालय (टीयू) रङ्गशाला परिसरमा वृहत् सरसफाई कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ।
गैर नाफामुलक संस्था Awake Nepal को आयोजनामा भएको उक्त कार्यक्रमको संयोजन खेलप्रेमी जय कृष्ण महतोले गर्नुभएको थियो।
सरसफाई कार्यक्रमको शुभारम्भ कीर्तिपुर नगरपालिकाकी उप-प्रमुख शुभ लक्ष्मी शाक्यको प्रमुख आतिथ्यतामा भएको थियो। कार्यक्रममा त्रिभुवन विश्वविद्यालयका प्रधानाध्यापक अकल मिश्र, कीर्तिपुर प्रहरी वृत्तका डीएसपी शिव कुमार बुढाथोकी, प्राइम टेलिभिजनका अध्यक्ष एवं वरिष्ठ पत्रकार ऋषि धमला र पूर्व प्रमुख सेनानी विशेष पौडेलको विशेष उपस्थिति रहेको थियो।
सोही अवसरमा अतिथिसिद्धहरूबाट BOLTS BATTALION (बोल्टस बटालियन) नामक संस्थाको लोगो विधिवत रूपमा अनावरण गरियो। लोगो अनावरणसँगै संस्थाले आफ्नो सामाजिक कार्यको यात्रा वृहत् सरसफाईबाटै प्रारम्भ गरेको हो। कार्यक्रममा बोल्दै खेलप्रेमी युवा नवीन साहले यो टिम खेलकुद, शिक्षा, स्वास्थ्य र राष्ट्रहितका लागि सदैव तत्पर रहने संकल्पका साथ अगाडि बढ्ने जानकारी दिनुभयो।
फोहोरको भयावह अवस्था र सरोकारवालाको ध्यानाकर्षण
सरसफाईका क्रममा राष्ट्रसेवक, विद्यार्थी र खेलप्रेमीहरूको सक्रियतामा रङ्गशाला क्षेत्रबाट १०० भन्दा बढी झोला फोहोर संकलन गरी एक गाडी फोहोर व्यवस्थापन गरिएको थियो।
फोहोर संकलनका क्रममा संवेदनशिल क्षेत्र मानिने विश्वविद्यालय परिसरमा रक्सी र बियरका बोतल, गुट्खाका खोल, प्याकेट फुडका फोहोर र ठूलो मात्रामा सिरिन्ज (सुई) हरू फेला परेका थिए। यस्तो प्राज्ञिक र खेलकुद क्षेत्रमा भइरहेका यस्ता अवाञ्छित गतिविधिलाई पूर्ण रूपमा रोक लगाउनुपर्नेमा सहभागीहरूले जोड दिएका छन्।
विशेष गरी खेलका बेला राखिने स्टल क्षेत्रमा खाना र प्लेटहरू दुर्गन्धित अवस्थामा रहँदा पनि व्यवस्थापन नहुनु चिन्ताजनक रहेको भन्दै सम्बन्धित निकायको ध्यानाकर्षण गराइएको छ।
यस कार्यक्रमलाई रिभोलुसन एजुकेसन र बोल्टस बटालियनले सह-आयोजन गरेका थिए भने ब्लड फर नेपाल, कीर्तिपुर नगरपालिका, नेपाल प्रहरी, त्रिभुवन विश्वविद्यालय र ‘रुटिन अफ कीर्तिपुर’ ले सहकार्य गरेका थिए।

