भूमिका उपाध्याय, बर्दिबास, १९ पुस ।

बर्दिबास तेस्रो मेयर कप (वडास्तरीय) क्रिकेट कप प्रतियोगिताको उपाधि बर्दिबास—१ ले जितेको छ । यसअघिका बितेका दुई वर्षको उपाधि पनि हात पारेको बर्दिबास—१ लाई यसपालिको नतिजा ‘ह्याट्रिक’ बनेको हो ।

बर्दिबास–१ ले यसपालिको प्रतियोगिताको शनिबार सम्पन्न अन्तिम प्रतिष्पर्धामा बर्दिबास–१४ माथि जित दर्ज गर्दै उपाधि हात पारेको छ । अन्तिम खेलमा बर्दिबास–१४ ले दिएको ८६ रनको लक्ष बर्दिबास–१ ले १९.३ ओभरमा पूरा गर्दै रोमाञ्चक जित हात पारेको हो । यो जितसँगै बर्दिबास–१ ले ट्रफीसहित ६१ हजारको नगद पुरस्कार जितेको छ ।

प्रतियोगितामा दोस्रो भएको बर्दिबास–१४ ले सम्मानपत्र सहित ३५ हजार नगद पुरस्कार पाएको छ । यसपालि यही पुस ९ गते सुरु भएको प्रतियोगिता आज शनिबार सम्पन्न भएको हो । प्रतियोगितामा नगरका १४ वडामध्ये १३ वडा टिम सहभागी थिए ।

सम्पन्न प्रतियोगितामा ‘प्लेयर अफ द टुर्नामेन्ट’ को उपाधि पिपल लामाले पाएका छन् । यसैगरी ‘बेष्ट बलर’ को उपाधि युकेशकुमार ठकुरीले पाएका छन् । अन्तिम खेलको ‘म्यान अफ द म्याच’ को उपाधि सुनिल मगरले पाएका छन् । विजेता, उपविजेता टिम र उत्कृष्ट खेलाडीलाई बर्दिबास नगरप्रमुख प्रहलादकुमार क्षत्रीले पुरस्कार तथा प्रमाणपत्र प्रदान गर्नुभएको हो ।

 


२०८२ पुष १९, शनिबार २०:३९मा प्रकाशित

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय