नेपालवाणी डटकम
जनकपुरधाम, माघ ।

आसन्न फाल्गुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचन नजिकिदै जादा धनुषा क्षेत्र नं. १ का उम्मेदवार रामचन्द्र मण्डल ‘मास्टर साहेव’ ले चुनावी अभियानलाई तिव्रता दिएका छन् । मण्डलले धनुषा १ मा गरेका विकास निर्माणको कामबाट जनताले पाएको प्रतिफलको आधारमा आफु जित्ने सुनिश्चितता भएको दाबी गरेका छन् ।
मण्डल गणेशमान चारनाथ नगरपालिकाको वडा ६ को ऐलानी गोदार, ७ स्थित भरवैनी, घम्पाली टोल, उमरा, पोर्ताहा र ८ स्थित लवटोली, कवछुवा र चिल्हाका जनतासंग अन्तरक्रिया तथा भेटघाट गरेका छन् । भेटघाटको क्रममा मतदाताको मत जित्न विगतदेखि नै आफ्नो काम र कर्तव्यबाट सफल भएको हुँदा जनताको मतबाट विजयी हुने विश्वास उम्मेदवार मण्डलले व्यक्त गरे ।

मास्टर साहेवले धनुषा क्षेत्र नं. १ का जनता र मतदाताहरुले विकास प्रेमी, असल नेतृत्वको पहिलो रोजाईमा पर्ने भएको हुँदा स्पष्ट जितको संकेत प्राप्त गरेको विश्वास गरे । उनले भने, ‘म यही माटोमा जन्मिएर हुर्केको हुँ । यहाँ जति मलाई माया, ममत्व छ, अन्य कोहीमा छैन् । म यहाँको विकास र समृद्धिको बाटो खोलेको छु । यहाँ यो क्षेत्रमा धेरै काम गरेको छु, अझ धेरै गर्न बाँकी छ । मलाई अगाध विश्वास छ की यहाँको जनता जर्नादनले यहाँको विकास यात्रालाई अघि बढाउन मलाई मत दिएर जिताउनु हुन्छ।’
जनतासामु चिरपरिचित रहेका निवर्तमान सभामुख मण्डलले जनताको हरेक सुख–दुःख, समस्या र जनताको अपेक्षालाई जिम्मेवारीको रुपमा आत्मसाथ गर्दै अघि बढ्ने प्रतिबद्धता व्यक्त गरे । उनले भने, ‘विकास, सुशासन र जनताको सर्वोपरी हितको लागि तपाई जनता जनार्दनको अमुल्य मतको अपेक्षा गर्दछु । जनताको विश्वासमा आधारित राजनीतिक मेरो जिम्मेवारी हो ।’

