भूमिका उपाध्याय,
बर्दिबास, २० चैत ।
बर्दिबास उद्योग वाणिज्य सङ्घको यही आउने मङ्गलबार (२४ चैत २०८२) सम्पन्न हुने निर्वाचनमा उत्तमकुमार श्रेष्ठ नेतृत्वको समूह (प्यानल) ले प्रतिबद्धतापत्र सार्वजनिक गरेको छ ।
आज शुक्रबार बर्दिबासस्थित दीपक पार्टी प्यालेसमा पत्रकार सम्मेलन आयोजना गरेर उत्तम समूहले प्रतिबद्धतापत्र सार्वजनिक गरेको हो । पत्रकार सम्मेलनमा अध्यक्ष पदका प्रत्यासी तथा आफ्नो समूहका नेता उत्तमकुमार श्रेष्ठले प्रतिबद्धतापत्र सार्वजनिक गर्दै आफ्नो सम्पूर्ण ध्येय बर्दिबासका उद्यमी तथा व्यवसायीको हितमा समर्पित हुने प्रतिज्ञा गर्नुभयो ।

निर्वाचनः बर्दिबास उद्योग वाणिज्य सङ्घ
यो समूहले वित्तीय पहुँच र सुलभ कर्जा, व्यावसायिक पलायनता रोक्न ठोस पहलकदमी, प्रविधिमैत्री वाणिज्य सङ्घ, सदस्य सुरक्षा र बिमा एबं बर्दिबासलाई कृषि र व्यापारिक केन्द्र (हब) बनाउने प्रतिबद्धता व्यक्त गरेको छ । यसैगरी सुरक्षित व्यापारिक वातावरण, सुमधुर घरधनी तथा व्यवसायी सम्बन्ध, पूर्वाधार र रात्रीकालीन बजार, युवा स्वरोजगार र स्टार्टअप, पर्यटन र सम्पदा संरक्षण, सदस्यहरुको कानुनी सहायता र औद्योगिक ग्राम निर्माण तथा तीनै तहका सरकारबीच कुसल समन्वयको पहलकदमी लिइने यो समूहको प्रतिबद्धतापत्रमा उल्लेख छ । यसैगरी उत्तम समूहले मिडिया र सूचना प्रबद्र्धन व्यवसायिक एकता र कार्यकालभित्रै व्यवसायी कल्याणकारी अक्षयकोष स्थापनाको प्रतिबद्धता जनाएको छ ।
पत्रकार सम्मेलनमा यस समूहका उमेद्वारहरुले सङ्घलाई साँचो अर्थमा व्यवसायीको संस्थाका रुपमा विकास गरिने, व्यवसायीकै हकमा नीति बनाइने र सङ्घको नेतृत्व वास्तविक व्यवसायीले नै गर्ने आफूहरुको प्रतिबद्धता जनाएका छन् । आसन्न निर्वाचनमा उत्तमकुमार श्रेष्ठ र दीपकबहादुर कार्की नेतृत्वको गरी दुई समूहबीच प्रतिष्पर्धा हुँदैछ । उत्तमकुमार श्रेष्ठ यसै सङ्घको निवर्तमान महासचिब रहीसक्नु भएका व्यवसायी हुनुहुन्छ । आसन्न निर्वाचनमा एक हजार ५०० को हाराहारी मतदाता रहने बुझिएको छ ।


