महोत्तरी, २१ चैत ।
संस्कृत शिक्षाको धरोहर मानिदै आइएको महोत्तरीको मटिहानी–७ स्थित राजकीय संस्कृत माध्यमिक विद्यालयको नयाँ भवन सञ्चालनमा आएको छ । गुरुकूल भनिने यो विद्यालयका लागि राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमअन्तर्गत निर्मित १० कोठे नयाँ भवन आज शनिबार एक धार्मिक अनुष्ठानबीच उद्घाटन भएसँगै सञ्चालनमा आएको हो । मटिहानी नगरपालिकाका प्रमुख हरिप्रसाद मण्डलले नयाँ भवन उद्घाटन गर्दै मुलुककै जेठो विद्यालय मानिएको गुरुकूललाई नयाँ भवन थप भएपछि पठनपाठन सहज हुने विश्वास व्यक्त गर्नुभयो ।

“हामीले गुरुकूललाई संस्कृत शिक्षाको अनुसन्धान केन्द्रका रुपमा विकास गराउन सङ्घीय सरकारको ध्यानाकर्षण गराउँदै आएका छौं” मण्डलले भन्नुभयो, “गूरुकूल भवनमा आत्मनिर्भर बन्दैजाँदा यसलाई अनुसन्धान केन्द्र बनाउने कुरा सहज हुने विश्वास बढेको छ ।” आउने दिनमा गुरुकूल अझ समृद्ध बन्दै जाने उहाँले विश्वास व्यक्त गर्नुभयो ।

राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमअन्तर्गत एक करोड १० लाख रुपैयाँको लागतमा गुरुकूलको नयाँ १० कोठे पक्की भवन निर्माण सम्पन्न भएको मटिहानी नगर कार्यपालिकाको कार्यालयले जनाएको छ । विक्रम सम्वत् १७७५ मा स्थापित यो गुरुकूल मुलुककै जेठो विद्यालय मानिएको छ । यसले प्राचीन भाषा संस्कृतको प्रबद्र्धनमा महत्वपूर्ण योगदान दिदै आएको मटिहानीबासी सगर्व बताउँछन् ।

गुरुकूलको नवनिर्मित भवन सञ्चालनमा आएपछि अब कक्षा कोठा, कार्यालय र शिक्षककक्ष व्यवस्थापनमा निकै सहज भएको विद्यालयका प्रधानाध्यापक ईश्वरीप्रसाद पौडेलको भनाइ छ । उद्घाटन समारोहमा याज्ञवल्क्य लक्ष्मीनारायण विद्यापिठ मटिहानीका प्राचार्य हेमनारायण लाल कर्ण, मटिहानी नगर कार्यपालिकाका सदस्यहरु र स्थानीय शिक्षाप्रेमीहरुको सहभागिता थियो ।






