भूमिका उपाध्याय,

बर्दिबास :  बर्दिबास नगरक्षेत्रका उद्यमी, व्यवसायी र व्यापारीले निःशुल्क दुर्घटना बिमा पाउने भएका छन् ।

बर्दिबास उद्योग वाणिज्य सङ्घले आफ्‌नो संस्थाको सदस्यता नविकरण गर्ने र नयाँ सदस्यता लिने सबैका लागि यो सुविधाको घोषणा गरेको हो । सङ्घले डिजिटल भुक्तानी सेवा प्रदायक कम्पनी ईसेवासँगको समन्वयमा लागु गरेको निःशुल्क दुर्घटना एवं सुरक्षा योजनाअन्तर्गत यो सेवा प्रदान गर्न लागिएको सङ्घका महासचिब केदार गौतमले जानकारी दिनुभयो ।

“अब सङ्घको सदस्यता नविकरण गर्ने र नयाँ सदस्यता लिने सबै उद्यमी व्यवसायीले यो सुविधा पाउने छन्‌” गौतमले भन्नुभयो, “यसबाट उद्यमी, व्यवसायीले आकष्मिक आइपर्ने दुर्घटनाका बेला निकै राहत पाउने अपेक्षा गरिएको छ ।” यो योजनाअन्तर्गत दुर्घटनापछिको उपचार खर्च, दुर्घटनामा मृत्यु हुनेका परिवारलाई सहयोग एबं शववाहन र अन्त्येष्टि खर्चलगायतका सुविधा समेटिएका गौतमको भनाइ छ । यो सुविधाले बर्दिबास नगर क्षेत्रका सङ्घमा आबद्ध तीनहजार बढी उद्यमी, व्यवसायी लाभान्वित हुने सङ्घले स्पष्ट पारेको छ ।

इसेवासँग सहमति भइसकेको हुँदा यो योजना आजैदेखि सुरु भइसकेको सङ्घका सचिब रिमनाथ अधिकारीले बताउनुभयो । यसअन्तर्गत दुर्घटनामा परेका सङ्ंघका सदस्यले उपचार खर्चवापत एक लाख रुपैयाँसम्म पाउने व्यवस्था छ । यस्तै दुर्घटनापछि उपचार हुँदाहुँदै मृत्यु भएका सदस्यको परिवारलाई थप एक लाख नगद र शववाहन र अन्तेष्टि शिर्षक खर्चवापत  २० हजार रुपियाँ पाउने व्यवस्था रहेको अधिकारीले स्पष्ट पार्नुभयो ।

यो व्यवस्थाले सदस्यको उपचार र मृत्युपछि परिवारले राहत पाउनसँगै सदस्यता नविकरण र नयाँ सदस्यताबारे आकर्षण थपिने सङ्घको अपेक्षा छ ।  यो व्यवस्था मधेश प्रदेशभित्र आफूहरुको पहिलो प्रयास भएको अधिकारी बताउनुहुन्छ ।

यो व्यवस्थाले खर्चकै अभावमा न्यूनतम उपचार नपाउने अवस्था नरहने र यसले सामाजिक सुरक्षामा बल पुर्‍याउने बर्दिबासका उद्यमी, व्यवसायीले आस सँगालेका छन् ।


२०८३ भाद्र २६, शुक्रबार १२:३४मा प्रकाशित

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय