भूमिका उपाध्याय,
बर्दिबास (महोत्तरी), १६ असोज ।
महोत्तरीको बर्दिबासमा यसै असोजको चौथो साता प्रारम्भसँगै मुलुकका सातै प्रदेशका लोकभाका गुञ्जने भएका छन् ।
राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान नेपालको बर्दिबासमा आयोजना हुने नवौं राष्ट्रिय महाधिवेसन तथा रजत जयन्ति समारोहमा सात वटै प्रदेशका मौलिक तथा विशिष्ट भाकाको प्रस्तुति हुने भएको हो । शुक्रबार साँझ बर्दिबासमा आयोजित पत्रकार सम्मेलनमा प्रतिष्ठानका केन्द्रीय अध्यक्ष रिता थापा मगरले यस्तो घोषणा गर्नुभयो । प्रतिष्ठानको नवौं महाधिवेसन तथा रजत जयन्ति समारोह यही असोज २२, २३ र २४ गते बर्दिबासमा आयोजना हुने थापाले जानकारी दिनुभयो ।
“साँस्कृतिक विविधताले भरिएको हाम्रो देशमा लोकगीतमा पनि त्यही विविधताको सुन्दर प्रतिबिम्ब पाइन्छ, हिमालदेखि तराईसम्मका विभिन्न भाषभाषी र विविध धर्मसंस्कृतिमा डोरिएका जनताका परम्परा, धार्मिक आस्था, कृषि तथा श्रम, प्रेम–विरह, चाडपर्व र सामाजिक घटनालाई गीतका माध्यमले अभिव्यक्त गर्दै सिङ्गो मुलुक बर्दिबासमा उभ्याउने प्रयत्नमा छौं” अध्यक्ष थापाले भन्नुभयो, “हामी यो महाधिवेसनमार्फत् मधेशको भूमिबाट राष्ट्रिय एकता र आपसी सद्भावको सन्देश दिनेछौं ।” महाधिवेसन सत्रमा मधेशका विभिन्न भाषाका लोकगीत, देउडा, रोइला, सोरठी, मारुनी, तीज, असारे, झ्याउरे, सालैजो, कौडा, सेलो, भजन, मालश्री र दोहोरीलगायतका अनेकौ लोकधुन र गायन प्रस्तुत गर्दै मुलुकको सामाजिक जीवन उतार्ने प्रयत्न रहेको उहाँको भनाइ छ ।
मधेश प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले उद्घाटन गर्नुहुने महाधिवेशन तथा रजत जयन्ति समारोहमा प्रतिनिधि तथा पर्यवेक्षकसहित् एक हजार ५०० जनाको सहभागिता रहने पत्रकार सम्मेलनमा जानकारी दिइएको छ । विक्रम सम्वत् २०५७ साल असोजमै संस्थागत यात्रा सुरु गरेको प्रतिष्ठानका हाल मुलुकका ७० जिल्ला, काठमाण्डौ उपत्यका , प्रदेश र विदेशसहित् १०० वटा समिति कृयाशील रहेका छन् । प्रतिष्ठान हाल चार हजार ५०० आजीवन सदस्य र ६० जना मानार्थ सदस्य र लोकसंस्कृतिलाई गीतका माध्यमले उजागर गर्ने हजारौं नेपालीको साझा घर बनेको अध्यक्ष थापाको भनाइ छ ।
पत्रकार सम्मेलनमा प्रतिष्ठानका वरिष्ठ उपाध्यक्ष तथा सुप्रसिद्ध गायक पशुपति शर्माले महाधिवेसन र रजत जयन्ति समारोहको सचिवालय बर्दिबासमा सञ्चालनमा आइसकेको जानकारी दिनुभयो । पत्रकार सम्मेलनमा प्रतिष्ठानका उपाध्यक्ष दीपक खड्का, उपमहासचिब शिशिर देवकोटा र केन्द्रीय सदस्यहरु दिनेश काफ्ले, कृष्णप्रसाद गौतम , केन्द्रीय सल्लाहकार हिरा गौतमसहित मधेश प्रदेश समितिका पदाधिकारीको उपस्थिति थियो । प्रतिष्ठानले यो महाधिवेसन तथा रजत जयन्ति समारोहलाई लोकभाका क्षेत्रको ‘महाकुम्भ’ हुने जनाएको छ ।
प्रतिष्ठानको नवौं महाधिवेसन र रजत जयन्ति समारोह आफ्नो ठाउँमा आयोजना हुने कुराले महोत्तरीबासी अहिले मुलुकका विभिन्न साँस्कृतिक तथा लोकभाकाबारे परिचित हुन पाउने अवसरले उत्साहित देखिएका छन् ।


