महोत्तरी, २० असोज ।
नेपाली काँग्रेसको जारी १५ औं महाधिवेसनमा महोत्तरी–३ को सहभागिता तेस्रो दिनमा भएको छ । प्रतिनिधिसभा क्षेत्र नम्बर–३ का केन्द्रीय महाधिवेसन प्रतिनिधिको चुनाव र परिणाम घोषणाको ढिलाइले यहाँका प्रतिनिधि आज मङ्गलबार सहभागी हुन सकेका हुन् ।
महोत्तरी–३ को गत आइतबार भएको निर्वाचनको परिणाम हिजो सोमबार अबेर साँझमात्र भएको हुँदा यस्तो भएको हो । आफूहरु निर्वाचन र परिणाम घोषणामा ढिलाइ हुँदा आजमात्र सहभागी हुनसकेको केन्द्रीय सदस्य बजरङ्ग नेपालीले बताउनुभयो ।
“हामी निर्वाचन क्षेत्रबाट निर्वाचित विभिन्न क्षेत्र (कलष्टर)का ३३ जना , क्षेत्रीय सभापति, प्रदेशसभा क्षेत्र सभापति र मटिहानी तथा जलेश्वर नगर सभापतिसहित ३७ जना आजबाट महाधिवेसनमा सहभागी हुँदैछौ” नेपालीले भन्नुभयो । यसअघि महोत्तरी–१, २ र ४ का प्रतिनिधि भने महाधिवेसन प्रारम्भ भएको गत आइतबारदेखि नै सहभागी छन् ।
जारी महाधिवेसनमा अब महोत्तरीबाट चार प्रतिनिधिसभा क्षेत्रबाट निर्वाचित केन्द्रीय महाधिवेसन प्रतिनिधि १३२ जना भएका छन् । यसैगरी चार प्रतिनिधिसभा क्षेत्रका सभापति चार, आठ प्रदेशसभा क्षेत्रका सभापति आठ र जिल्लाका १० नगरपालिकाका पार्टी सभापति पदेन सहभागी हुने व्यवस्थाले जिल्लाबाट जम्मा १५४ प्रतिनिधिको सहभागिता रहेको छ ।
महोत्तरीका चार प्रतिनिधिसभा क्षेत्रमध्ये १, २ र चारमा पहिले नै सर्वसम्मत भएको थियो । महोत्तरी–३ मा भने सर्वसम्मत हुन नसक्दा सबै पदका लागि गत आइतबार भएको मतदानको मतगणना परिणाम सोमबार अबेर राती सम्पन्न भएपछि प्रतिनिधि आज काठमाण्डौ पुगेका हुन् ।


