महोत्तरी : मथिलाञ्चलमा आज सातु र आँपको चिचिलाको(आँपको टिकोला) चटनी खाएर नयाँ वर्ष २०७८ को हर्षोउल्लासका साथ स्वागत गरिएको छ । विक्रम संम्वत अनुसार बैशाख १ गते नयाँ वर्षको शुरुवात भएकोले सो दिनलाई मिथिलाञ्चलवासीले सातु र आँपको चिचिलाको चटनी खाएर नव वर्षको स्वागत गरेका हुन् । घर घरमा बुधबार विहानै सवै परिवार मिलेर विहानै स्नान गररे आ आफनो कुल देवतालाई लिपपोत गरि सातु ,गुड (सख्खड) र आपँको चिचिला चढाए पछि प्रसादको रुपमा पनि सोहि सामग्री ग्रहन गरेका छन् ।

सवै परिवार मिलेर यी वस्तु सेवन गर्ने प्रचलन मिथिलाञ्चल भरि नै रहेकोले मिथिलाञ्चल वासीले सदियौं देखि नव वर्षको यसरी नै स्वागत गर्ने गरेको एकडारा गाउँपालिकाका पुरोहित अरविन्द झाले बताएको छ । सातु सेवन गर्नाले शरिरलाई शितल बनाउनुका साथै आँपको चिचिलाको चटनीलेपनि शरिरको लागि फाईदाजनक भएकाले यी वस्तू सेवन गररे नव वर्षको शुरुवात गर्ने प्रचलन धेरै पहिल्यै देखि चलि आएको पुरोहित झाले बताए । यसैबीच सदरमुकाम जलेश्वरमा हिन्दु स्वयं सेवक संघ नेपाल पनि सामुहिक रुपमै सातु सेवन गर्नुका साथै नववर्षको अवसरमा शुभकामना आदानप्रदान गरेका छन् । नयाँ वर्षको अवसरमा हिन्दु परम्परामा सातु खाने दिन रहेको भन्दै संघले शुभकामना आदानप्रदान कार्यक्रमका सहभागीहरूलाई सातुसहित स्वागत गरेको थिए । हरेक वर्ष बैशाख १ गतेका दिन हिन्दु परम्परामा काँचो आप(टिकुला)को चटनी र सातु खाने परम्परा रहदै आएको छ । संघका जिल्ला अध्यक्ष मोहन भगतले घरका कुलदेवतालाई सातु र आँपको चिचिला चढाएर खाने र खुवाउने प्रचलन रहेको बताएको छ ।

सातु शितलबद्र्धक हुने भएकोले पनि गर्मीको मौसममा स्वस्थ रहन सातु अत्यन्तै प्रभावकारी रहेको भन्दै नयाँ वर्षको शुभकामना दिएका छन । नेपाल पत्रकार महासंघ महोत्तरी शाखाका संस्थापक सचिव दशरथ भण्डारीले नयाँ वर्षमा मौलिक परम्परामा ह्रास आउदै गरेकोे समयमा संघले जुन मौलिक परम्परालाई कायम राख्दै पहल गर्ने कार्य सराहनीय भएको बताएका थिए । अहिले बाहिर बाहिर गएर पिकनिक मनाउने, जथाभावी रुपमा मदिरा सेवन गर्ने रुपमा युवाहरूले नयाँ वर्ष मनाइरहेको प्रति दुःख व्यक्त गदैं मौलिक परम्परालाई बचाउन सबैले आ–आफ्नो स्तरबाट अगाडी बढन बढाउन आग्रह गरेका थिए । यस्तै नेपाल पत्रकार महासंघ महोत्तरीका सल्लाहकार महेशकुमार दासले नयाँ वर्षको शुभारम्भसंगै पर्व निमत्याउने मिथिलाञ्चलमा मौलिक परम्परामा गिरावट आएकोले सतुवाइन, जुडशितलजस्ता पर्वहरूलाई जगेर्ना गर्न सबै अगाडी आउन आग्रह गरेका थिए । पशुपति शिक्षा मन्दिर जलेश्वरका प्राचार्य घनश्याम भगतले हाम्रो समाज मौलिक परम्परा प्रति सहज हुन नसकेकोले हिन्दु परम्परालाई बचाउन युवाहरूलाई अगाडी आउनुपर्नेमा आवश्यक रहेको बताएको छ । हरेक बिहानीले पर्वै पर्व निमत्याउने जगतजननी माँ जानकीको पवित्रभुमि मिथिलाञ्चलमा हरेक दिन कुनै न कुनै पर्व मनाईने परम्परा अनुसार नया वर्षको आरम्भ संगै मिथिलाञ्चलमा पर्वको शुरुवात हुन्छ र पर्वहरू सालभरि चलि नै रहन्छ । मिथिलाञ्चलमा मनाईने हरेक चाँड पर्वले कुनै न कुनै रुपमा गहन सन्देश दिने गरेको पाईन्छ ।

यस्तै गहन सन्देश दिने पर्वको रुपमा नयाँ वर्ष आरम्भमै मिथिलाञ्चलबासीले सतुवाईन पर्व मनाउने गर्छन भने सो को भोलीपल्ट अर्थात वैशाख २ बिहिबार जुडशितल पर्वको रौनक मिथिलाञ्चल भरि नै देखिएको छ । परापूर्वकालदेखि नै मनाईदै आएको यो पर्व मिथिलाञ्चलको मौलिक र पुरानो पर्व मानिन्छ । जुडशितललाई शाब्दिक अर्थमा हेर्ने हो भने “शितल जलले जुडाउनु” हुन्छ । तर यसको लाक्षणिक अर्थ त्यत्तिकैमा मात्रै सिमित छैन । नववर्षको प्रारम्भमा एक अर्काको उत्तरोत्तर प्रगतीको कामना गदै ग्रिटिंग्स बाँडने अत्याधुनिक पश्चिमी सभ्यतालाई मुँहतोड जवाफ दिने शक्ति राखेको छ हाम्रो यो मौलिक एवं प्राचिनतम पर्वले। आरम्भ राम्रो भएको कामको अन्त्य पनि राम्रो हुने मान्यता रहेको हाम्रो समाजमा नववर्षको आरम्भमै मिठो—मिठो खानेकुरा खाने, खुवाउने, राम्रो लुगा लगाउने अनि खराब बानी सुधार्ने संयोगको रुपमा यो पर्व मनाईने गरेको पाईन्छ । यी सबै कुराको पूनरावृत्ति दर्शाउने संयोग भएको यो पर्वको आफ्नै छुट्टै मौलिक पहिचान र विशिष्टता रहेको पाईन्छ । जुडशितल पर्वका दिन अर्थात वैशाख २ गते सुर्योदय भन्दा पहिले घरका मान्यजन र बुढापाकाहरूले आफु भन्दा सानालाई टाउकोमा पानी हाली (जुडाईं) दिर्घायु एवं स्वस्थ्य रहने आर्शिवाद दिएका छन । टाउकोमा पानी जुडाउनुको अर्थ टाउको शितल रही राम्रो राम्रो काम गर्नु हो। अर्थात टाउको शितल भएपछि मान्छेको कम्प्युटर रुपी मस्तिस्क पनि शितल हुन्छ र शितल मस्तिस्कले गरेकोे काम जहिले पनि राम्रो र विकाशसिल काम हुन्छ ।

तातेको मस्तिस्कले झै—झगडा र विनाश मात्रै निम्त्याउदैछन । अति क्षति हुने एवं मानव सभ्यता नै सखाप पार्न तम्तयार हुने युद्ध तातो मस्तिस्कै उपज हुन । त्यसैकारणले मान्यजनले त्यस्तो विनाश ननिमत्याउन कामना गर्दै टाउकोमा शितल जल जुडाउने गरेकोे पाईन्छ । त्यो पनि सुर्योदय भन्दा अगावै भन्नुको तात्पर्य विहानको हावा निर्मल र स्वच्छ हुने गर्छ जसका कारण मानिस स्वस्थ र निरोगी रहने गर्दछ । त्यसैले होला चिकित्सकहरूले विरामीहरूलाई विहान केही क्षण हिडडुल गर्ने सल्लाह पनि दिने गर्छन । यो स्वस्थय, दिर्घजीवि र निरोगी रहने सन्देश समेत यो पर्वले दिने गरेको पाईन्छ । त्यसपश्चात घरका सदस्यहरूले पानी लिई आफुले लगाएको वा आफ्नो स्वामित्वमा भएको वोटविरुवाको जरामा पनि पानी हाली वोटविरुवालाई स्वस्थ्य राख्ने गर्छन । जसका कारण वोटले फल संगै शुद्ध अक्सिजन समेत दिने गर्छन भन्ने मान्यता रहेको छ । त्यसैगरी दिवंगत भएका आफ्ना कुटुम्ब र आफन्तजनहरूको समाधिस्थलमा समेत पुगी आर्शिवाद लिने प्रचलन रहेको छ । यसैदिन खानेपानीको श्रोत र हिलोलाई समेत सफा गरी शुद्ध बनाईने गरिन्छ । यसदिन मिथिलाञ्चलबासीले दाल,भात,वरी,कढी,आँपको (टिकोला)चटनी लगायतका परिकारहरू खाई रमाईलो गर्ने गर्छन । जुडसितलकै दिन सल्हेश मन्दिर भएको ठाउँहरूमा भव्य मेलाको समेत आयोजना तथा पुजापाठ गरिने गरिन्छ । विगतको तुलनामा यो पर्व अहिले संकुचित हुदै गएका छन । जथाभावी हिलो लछारपछार गर्ने गरिन्छ भने आफ्नो मौलिकता भन्दा भिन्नरुपमा यो पर्व मनाउने गरिन्छ तर अहिले पनि मिथिलाञ्चलका गाउँहरूमा यो पर्वको रौनकता कायमै रहेको हेर्न सकिन्छ । नयाँवर्षको आरम्भमै मनाईने यो पर्व वास्तवमा मिथिलाञ्चलको धरोहरको रुपमा गनिन्छ ।

२०७८ बैशाख २, बिहीबार ०६:४९मा प्रकाशित

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय