लोकतान्त्रिक समाजवादी पार्टी

जनकपुरधाम : लोकतान्त्रिक समाजवादी पार्टीको (लोसपा) संगठनात्मक विवाद उत्कर्षमा पुगेर विभाजनको संघारमा आइपुगेको छ ।

पार्टी अध्यक्ष महन्थ ठाकुरका सहयोगी मानिएकाहरु नै अध्यक्षबाट गरिएको संगठनात्मक कार्य शैली स्वेच्छाचारी भएको ठहर गर्दे तराई मधेश लोकतान्त्रिक पार्टीलाई क्रियाशील बनाउन गतिविधि सञ्चालन गरिरहेका छन् । यस क्रममा मधेस आन्दोलनपछि महन्थ ठाकुरलाई नयाँ दल खोल्ने महत्वपूर्ण सहयोग गरेका नेता वृषेशचन्द्र लालले लोसपा छोडेर तराई मधेस लोकतान्त्रिक पार्टी (तमलोपा)लाई ब्यूँत्याउन क्रियाशील भएका छन् ।

जनता समाजवादी पार्टीबाट विभाजित भएर बनेको लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)को संगठनात्मक संरचना निर्माणमा ठाकुरसहितको समूह सक्रिय रहेका बेला लाल लगायतका असन्तुष्ट नेताहरुले तमलोपालाई ब्यूँत्याउन क्रियाशील देखिएका छन् । तमलोपालाई क्रियाशील बनाउन विभिन्न जिल्लाका नेताहरुसँग सम्पर्क र छलफल भइरहेको छ । ‘लोकतान्त्रिक रुपमा सञ्चालन गर्ने, आन्तरिक लोकतन्त्रको मजबुत भएको र संस्थागत निर्णय हुने पार्टी बनाउन खोजेका हौं’ वृषेशचन्द्र लालले भने, ‘यस विषयमा तराई मधेसका विभिन्न जिल्लाका साथीहरुसँग छलफल गरिरहेका छौं ।’

लालले पुरानो तमलोप दर्ता गरेर निर्वाचन आयोगबाट प्रमाणपत्र प्राप्त गरिसकेको बताए । ‘अहिले यस क्षेत्रमा मौसम त्यही अनुकूल छैन । त्यसैले जिल्ला भेलाहरु आयोजना गर्न सकेका छैनौं तर विभिन्न माध्यमहरुको प्रयोग गरेर सरसल्लाहमा रहेका छौं’ लालले बताए । फागुनभित्र नयां दलले आकार लिइसक्ने लक्ष्यसहित लालको अभियानलाई संविधानसभाका सदस्य विजयकुमार सिंहले साथ दिँदै आएका छन् । जनकपुर नगरपालिकाका पूर्व मेयर लाल मधेस आन्दोलनपछि नेपाली कांग्रेस छाडेका ठाकुरलाई तमलोपा गठन गर्नका लागि महत्वपूर्ण सहयोग गरेका थिए ।

समानता, समावेशिता, स्वशासनको मुद्दाहरु नेपालका लागि ऐतिहासिक हुँदा पनि ती मुद्दाहरुलाई मधेशका पार्टीहरुले अघि बढाउन नसकी अहिले सत्ता र सरकारको गठबन्धनका लागि मधेस केन्द्रीय दल हामी हौं भन्न पनि छाडेकाले पनि तमलोपालाई गतिशील बनाउने अभियानमा लागेको नेता लालले स्पष्ट गरे ।उनले अहिलेका मधेशवादी दलहरुले संघीयतालाई सफल बनाउन नसक्ने धारणा राख्दै आएका छन् । जनकपुरमै बसेर राजनीति गर्दै आएका लालले लामो समयदेखि सानो समूहले नभई पार्टीलाई संस्थागत निर्णयको आधारमा सञ्चालन गर्नुपर्ने माग गर्दै आएका थिए ।

वामपन्थी दलको गठबन्धनमा मधेशवादी दलको सहभागितालाई नरुचाएका लालले विभिन्न जिल्लाका नेताहरुसँग छलफलमा उनले मधेशका जनताहरु लोकतान्त्रिक रहेको तर मधेसवादी दल र नेताहरु स्वेच्छाचारी ढंगले पार्टीलाई वामपन्थी बनाउन खोजेको आरोप लगाउने गरेको छन् । मधेसका जनता लोकतान्त्रिक छन् र लोकतन्त्रमा विश्वास गर्छन् तर अहिलेका मधेशवादी दल र त्यसको नेतृत्व चाही वामपन्थीहरुको पछि लागेका छन् । सम्पूर्ण मधेसलाई जबरजस्ती वामपन्थी बनाउन गरेका छन् कारण पनि लोसपाको औचित्यहीन भइसकेको तमलोपालाई क्रियाशील बनाउन सक्रिय नेताहरु जिल्लाका नेतासँगको छलफलमा बताइ रहेका छन् ।

लालले मधेस आन्दोलनका माग र प्राप्त उपलब्धीलाई अहिलेका मधेसवादी दलहरुले तोडमोड गरेको र नयाँ नेतृत्वलाई अवरुद्ध पारेको आरोप लगाउने गरेका छन् । तमलोपा अघि बढाउन नेताहरुले आन्दोलन विकास गरेको नेतृत्वलाई पनि नेतावाद कुटुम्बवादको नाममा अवरुद्ध पारेको आरोप लगाउने गरेका छन् । ‘समानुपातिक प्रतिनिधित्वमा मनोगत र स्वेच्छाचारी भयो आन्तरिक लोकतन्त्रको कुरा गर्नेहरुलाई विरोध ठान्ने काम भयो । त्यसलाई मास्ने प्रयास भयो’ उनीहरुको धारणा रहेको छ ।

लोसपा गठन हुँदा समेत उठाएका विषयलाई अध्यक्ष ठाकुरसहित नेतृत्वमा रहेको समूहले कार्यान्वयन नगरेको भन्दै उनीहरु असन्तुष्ट रहेका छन् । ‘संस्थागत रुपमा पार्टी सञ्चालनका लागि राजपा(राष्ट्रिय जनता पार्टी)को स्थापनादेखि नै कुरा उठाए पनि लागू भएन । लोसपा निर्माण गर्दा पनि भनेको हो । लोकतान्त्रिक पार्टी बन्दैन, लोकतान्त्रिक हिसाबले चल्दैन भने केही व्यक्तिहरुको निजी कम्पनी जस्तो भयो भने पार्टीको कुनै अर्थ नै छैन’ तमलोपालाई क्रियाशील बनाउन लागेका नेताहरुको कथन छ । मधेस आन्दोलनपछि २०६४ साल कांग्रेस र एमालेको केन्द्रमा राजनीतिमा गरिरहेका मधेस पृष्ठभूमिका नेताहरुले ठाकुरको नेतृत्वमा तमलोपाको गठन गरेका थिए । अन्य मधेशवादी दलहरुको जस्तै तपलोपामा पनि पटक–पटक विभाजन भएको छ ।

२०७८ माघ २२, शनिबार १०:१२मा प्रकाशित

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय