काठमाडौँ । प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओली र अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच शुक्रबार साँझ डेढ घण्टा भेटवार्ता भएको छ।

प्रधानमन्त्री निवास बालुवाटारमा साँझ ६ बजेदेखि भएको डेढ घण्टा लामो वार्तामा बजेटको समिक्षादेखि अमेरिकी परियोजना एमसीसी र संविधान संशोधन सम्मका एजेन्डामा छलफल भएको छ।

दुई अध्यक्षले शनिबार बिहान साढे नौ बजेका लागि पार्टीको सचिवालय बैठक आयोजना गरेको नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठले बताए।

‘अहिलेका समसामयिक विषयमा आज दुई अध्यक्षबीच छलफल भएको हो, शनिबार बिहान बस्ने सचिवालयका एजेन्डाबारे पनि छलफल भयो’, श्रेष्ठले नेपालखबरसँग भने।

बिहीबार अर्थमन्त्री डा. युवराज खतिवडाले प्रस्तुत गरेको बजेटले समाजवाद उन्मुख बाटो समातेको भन्दै अध्यक्ष प्रचण्डले खुसी व्यक्त गरेका थिए।

पार्टीको स्थायी समिति बैठक पन्छाएर सरकारको नीति तथा कार्यक्रम, बजेट प्रस्तुत गर्दै प्रधानमन्त्री ओली अब लिम्पियाधुरासम्मको भूभाग समेटेर जारी गरिएको नेपालको नयाँ नक्सा अनुसार संविधान संशोधनको तयारीमा छन्। त्यस लगत्तै अमेरिकी परियोजना एमसीसी संसदमा प्रवेश गराउने तयारी बालुवाटारले गरिरहेको स्रोतहरूले जनाएका छन्, जसमा पार्टीभित्रै विवाद रहेको छ।

बिहीबार नै राजपाका नेता महन्थ ठाकुरले संविधान संशोधनको प्रस्ताव संसद सचिवालयमा दर्ता गर्न खोजेपछि संविधान संशोधन गर्ने सरकारको प्रस्तावमाथि चुनौती थपिएको देखिएको छ।

शनिबार बिहान बस्ने सचिवालय बैठकले यिनै एजेन्डामा छलफल गर्ने बताइएको छ।

२०७७ जेष्ठ १७, शनिबार ०८:४५मा प्रकाशित

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय