भूमिका उपाध्याय,
बर्दिबास, ५ मङ्सिर ।

पेट्रोलियम डिलर्स एसोसिएसन महोत्तरीका नवनिर्वाचित पदाधिकारी तथा सदस्यले पदबहाली गर्नुभएको छ । गत कात्तिक १४ गते सम्पन्न एसोसिएसनको छैठौं साधारणसभाबाट निर्वाचित पदाधिकारी र सदस्यले आज शनिबार बर्दिबास–३ गौरीडाँडामा आयोजित समारोहबीच पदबहाली गर्नुभएको हो ।

त्यसअघि छैठौं साधारणसभाबाट सर्वसम्मत निर्वाचित इञ्जिनियर रञ्जितकुमार यादव अध्यक्षताको नयाँ कार्य समितिलाई एसोसिएसनका केन्द्रीय अध्यक्ष विश्वप्रसाद अर्यालले सपथ गराउनसँगै महोत्तरीका निवर्तमान अध्यक्ष राजिवप्रसाद साहले नेतृत्व हस्तान्तरण गर्नुभएको थियो । समारोहमा केन्द्रीय अध्यक्ष अर्यालले एसोसिएसनले गुणमा शुद्धता र व्यवसायिक मर्यादाप्रति प्रतिबद्ध रही काम गर्नुपर्ने सबै व्यवसायीको ध्यानाकर्षण गराउनुभयो ।

कार्यक्रममा नवनिर्वाचित अध्यक्ष इञ्जिनियर रञ्जितकुमार यादवले आफ्‌नो कार्यकालभित्रै एसोसिएसनको जिल्ला शाखाको आफ्‌नै कार्यालय भवन बनाउने प्रतिबद्धतासँगै पेट्रोलियम व्यवसायीको हकहितका लागि समर्पित रहने दृढता व्यक्त गर्नुभयो । कार्यक्रममा केन्द्रीय अध्यक्ष अर्यालले जिल्ला शाखा भवन निर्माण योजनामा केन्द्रीय कार्यालयबाट एक लाख नगद उपलब्ध गराउने घोषणा गर्नुभयो ।

समारोहमा नेपाल आयल निगम धनुषा महेन्द्रनगरका डिपो प्रमुख राजेश सिलवालले पेट्रोलियम पदार्थको सहज र सरल वितरणका लागि एसोसिएसनसँग समन्वयमा काम गर्ने बताउँदै निगमका नियम पालनाका लागि डिलर्सहरुसँग अनुरोध गर्नुभयो । समारोहमै केन्द्रीय अध्यक्ष अर्यालले महोत्तरीका निवर्तमान अध्यक्ष राजिवप्रसाद साह केन्द्रीय सदस्यमा मनोनयन हुनुभएको जानकारी गराउँदै सोसम्बन्धी केन्द्रीय कार्यालयको पत्र हस्तान्तरण गर्नुभयो ।


२०८३ मंसिर ६, शनिबार २२:००मा प्रकाशित

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय