जनकपुरधाम : प्रदेश २ सरकारले अगामी आर्थिक वर्ष २०७७/०७८ का लागि अनुमानित ३० अर्बको बजेट ल्याउने तयारी गरेको छ । चालु आर्थिक वर्षमा विश्वभर कारोना महामारीको संक्रमणलाई नियन्त्रणमा लकडाउन गरिएपछि प्रदेश सरकारले आउने आर्थिक वर्षमा सोहि योजनालाई निरन्तरतासंगै केहि थप गरेर असारको १ गते बजेट ल्याउने तयारी गरेको हो ।

प्रदेश २ का आर्थिक मामिला तथा योजना मन्त्री बिजय कुमार यादवले आगामी आर्थिक वर्षका लागि अनुदान, वित्तिय, शसर्त सहितका अनुदान गरि ३० अर्ब रुपैयाँको बजेट आउने बताए । प्रदेश २ सरकार अषाढ १ गते बजेट ल्याउनुपर्ने कानूनी व्यवस्था छ ।

संघीय सरकारको समानीकरण बजेटबाट ७ अर्ब, २ करोड, राजश्व बाँडफाडबाट साढे ११ अर्ब, सशर्त अनुदानबाट झण्डै ६ अर्ब, प्रदेश सरकारको आन्तरिक आम्दानीबाट ३ अर्ब गरी कूल ३० अर्बको बजेट ल्याउन लागिएको हो । चालु आर्थिक वर्ष २०७७/०७८ मा बजेटमा निर्देशित अधिकांस योजनाहरु अलपत्र अवस्थामा रहेको कारण सोही योजनाहरुलाई पुनः दोहोर्‍याईएको आन्तरिक मामिला तथा योजना मन्त्री बिजयकुमार यादवले जानकारी दिए ।

उनले भने, ‘सरकारले अल्पकालीन, मध्यकालीन तथा दीर्घकालीन नीति अनुसार गत वर्षका कार्यक्रमलाई पनि निरन्तरता दिइएको छ , गत आवको योजनाहरु कर्मचारी अभाव, खटपटन र कोरोना महामारीका कारण योजनाहरु कार्यान्वयन नभएपछि आउँदो आर्थिक वर्षको बजेटमा सोही योजनाहरुलाई सफल कार्यान्वयन बनाउने गरी बजेट ल्याउने तयारीमा जुटेका छौं ।’

आउँदो आवको लागि ल्याउन लागिएको ३० अर्बको बजेटमा प्रादेशिक गौरवको आयोजनामा जनकपुरधाम-विरगञ्ज-राजविराज सम्म प्रादेशिक पारवहन अन्तर्गत सार्वजनिक बससेवा सञ्चालनमा ल्याउन लागेको जनाएको छ । प्रदेश सरकारले ल्याउन लागेको बजेटमा सडक बोर्ड गठन, पारवहन कार्यविधि, प्रदेशको २ को ८ जिल्लालाई एक अर्कासंगको समन्वय तथा सहकार्य हुने खालका मुख्य राजमार्गमा प्रादेशिक बस सेवा सञ्चालन गर्ने योजना रहेको छ ।

प्रदेश सरकारको प्राथमिकतामा कृषि, धार्मिक पर्यटन, सडक, सिचाई, शिक्षा र स्वास्थ्य लगायतकालाई महत्वका साथ राखिएको छ । प्रदेश सरकारले लगानी गर्ने क्षेत्रलाई पहिचान गरी लगानी गर्नतर्फ प्रदेश सरकारको बजेट केन्द्रित हुने बताइएको छ । जस्तैः कृषि उपज बढाउन सिँचाइका श्रोतको रुपमा डिप ट्युबवेल र बोरिङहरुको योजना प्रदेश सरकारले अगामी वर्षको बजेटमा राखिएको सचिव प्रेम कुमार श्रेष्ठले जानकारी दिए ।
प्रदेशमा पर्यटन विकास तथा प्रवद्र्धनका लागि धार्मिक पर्यटनको क्षेत्रमा एउटा स्थानीय तहबाट अर्को स्थानी तह हुँदै सदरमुकाम सम्म जोड्ने बाटो र सडक निर्माणको काम तथा सप्तरीको सखडा, सहलेश, गढीमाई हुँदै पर्साको रामभौरी भाठा हुँदै ठोरीसम्म पर्यटनको उपयुक्त गन्तव्य सम्म पुग्ने सडक निर्माण गर्ने योजना रहेको एक कर्मचारीले जनाए ।

चालु आर्थिक वर्षभन्दा झण्डै १० अर्ब कम बजेट प्रदेश सरकारले ल्याउन लागेको हो । गत आर्थिक वर्ष २०७७र०७८ मा सरकारले ३८ अर्ब ७२ करोड ५६ लाख ६१ हजार रुपैयाँको बजेट ल्याएको थियो । जसमा चालुतर्फ १९ अर्ब ११ करोड ९७ लाख ३८ हजार र पुँजीगततर्फ १९ अर्ब २६ करोड ५४ लाख ६४ हजार रुपैयाँ छुट्टयाइएको थियो।

२०७७ असार १, सोमबार १०:०६मा प्रकाशित

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय