जनकपुरधाम : प्रदेश २ मा कोरोना भाइरस संक्रमितको संख्या तीन हजार ९७ पुगेको छ । मंगलबार मात्रै थप ६८ जना नयाँ संक्रमित थपिएको सामाजिक विकास मन्त्रालयले पुष्टि गरेको छ ।
पछिल्लो २४ घण्टामा दुई जना महिलासमेत ६८ जना थप संक्रमित फेला परेको मन्त्रालयले जारी गरेको विज्ञप्तीमा उल्लेख छ । त्यस्तै, यो अवधिमा ६४ जना संक्रमित उपचारपछि निको भएर घर फर्केका छन् । यस प्रदेशमा कुल डिस्चार्जको संख्या एक हजार एक सय ९ पुगेको छ ।
मंगलबार थपिएका संक्रमितहरुमा धनुषाको लक्ष्मीनियाँ गाउँपालिकामा १४ जना, मिथिलाविहारी नगरपालिकामा तीन जना, सबैला नगरपालिकामा १० जना तथा जनकनन्दनी गाउँपालिका र औरही गाउँपालिकामा एक जनाको दरले जम्मा २९ जना छन् । महोत्तरीको बलबा नगरपालिकामा मात्रै १२ जना संक्रमित भएको पुष्टी भएको छ ।
सिरहाको भगवानपुर नगरपालिकामा एक महिलासमेत चार जना तथा एसएसएमसी क्याम्पस क्वारेन्टाइन, धनगढीमाई नगरपालिका र कल्याणपुर नगरपालिकामा एक जनाको दरले गरी सात जना संक्रमित भेटिएका छन् ।
सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिकामा तीन र छिन्नमस्ता नगरपालिकामा दुई जनागरी पाँच जना संक्रमित थपिएका छन् । रौतहटको राजदेवी नगरपालिकामा एक महिलासमेत पाँच जना, गौर अस्पतालमा छ जना र अन्य दुईसमेत १३ जना थप संक्रमितको पुष्टि भएको छ ।
सर्लाहीको हरिपुर्वा नगरपालिका र बरहथवा नगरपालिकामा एक जनाको दरले दुई जना नयाँ संक्रमित भेटिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।