काठमाडौं : महानगरीय प्रहरी परिसर काठमाडौंका प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) श्यामलाल ज्ञवालीको घुमुवा धिरेन विष्ट र जवान विक्रम चन्द पक्राउ परेका छन् । हुण्डी कारोबारको १० लाख रूपैयाँ लुटेको आरोपमा महानगरीय अपराध महाशाखाले प्रहरी हवल्दार धिरेन विष्ट र जवान विक्रम चन्दलाई पक्राउ गरेको हो ।

चन्द महाराजगञ्ज स्थित गण नम्बर–२ मा कार्यरत छन् । विष्ट महानगरीय प्रहरी परिसर काठमाडौंको सादा पोशाकमा खटिने प्रहरी हुन् । सादा पोशाकमा काठमाडौंका एसएसपीले आफ्ना विश्वासपात्र लाई मात्र खटाउँछन् ।

लामो समयदेखि घुमुवाको रुपमा कार्यरत विष्ट र चन्द प्रहरीका हाकिमलाई ‘उठाएर बुझाउने’ प्रहरी कर्मचारीका रुपमा चिनिने गरेको अपराध महाशाखाका एक अधिकृतले जानकारी दिए ।

प्रहरी लुटपाटमा संलग्न भएको यो पहिलो घटना भने हैन, घुमुवा प्रहरीले आर्थिक चलखेल गरेको गुनासो बढेको भन्दै केही समय अघि महानगरी प्रहरी कार्यालय रानीपोखरीका प्रमुख डीआईजी विश्वराज पोखरेलले शान्ति सुरक्षा चुस्त बनाउन भन्दै काठमाडौंको सेट नै परिवर्तन गरे । तर, एसपी रेवती ढकालको कमाण्डमा खटाएको नयाँ सीआरभी टोली नै लुटपाट गर्दा गर्दै पालुङबाट पक्राउ परेका थिए । त्यस यता पोखरेल कार्यसम्पादन सन्तोषजनक नभएको भन्दै ढकाल लगायतसंग असन्तुष्ट छन् ।

घर लुटपाटका लागि काठमाडौंबाट मकवानपुर पुगेको महानगरीय प्रहरी कार्यालय रानीपोखरीको सीआरभी टोली पक्राउ परेको थियो । पक्राउ पर्नेमा महानगरीय प्रहरी कार्यालय रानीपोखरीका असई सुरेन बस्याल र जवान हेमकान्त मगर तथा महानगरीय प्रहरी वृत्त दरबारमार्गका प्रहरी जवान वीरबहादुर बस्नेत र पत्रकार भनिने सुजन आचार्य थिए ।

सीआरभी महानगरीय प्रहरीका एसपी रेवती ढकालको प्रत्यक्ष निगरानीमा खटाइने टोली हो । सीआरभीको टोलीले प्रहरीका लागि गोप्य सूचना संकलन गर्ने गरेको छ । सोही टोलीका सदस्य लुटपाटका लागि गएको समयमा पक्राउ गरिएको थियो । उक्त समय महानगरीय प्रहरी कार्यालय रानीपोखरीका प्रवक्ता रहेका एसएसपी श्याम ज्ञवालीले उनीहरू पक्राउ परेको र आफुहरुले सो घटनाबारे बुझिरहेकाे प्रतिक्रिया दिएर उम्किएका थिए । तर उनि काठमाडौँ परिसर प्रमुख भएर आएपछि सोहि प्रकृतिको घटना दोहोरिएपछि पहिलेको घटनामा उनले बचाऊ गर्न खोज्नु र अहिले आफ्नै घुमुवा पक्राउ पर्नुको सम्बन्ध कतै धन्दाकै रुपमा विकशित भएको त हैन भन्दै एक अवकास प्राप्त डिआईजीले बताए ।

२०७७ असार ११, बिहीबार ०८:०६मा प्रकाशित

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय