जनकपुरधाम : जनकपुरधाम उपमहानगरपालिकाका मेयर लालकिशोर साहले पाचौँ नगरसभा गैरवैधानिक तरिकाले सम्पन्न गरेको भन्दै असन्तुष्ट वडाध्यक्षहरुले आज (शुक्रबार) देखि सडक संघर्ष सुरु गरेका छन् ।
असन्तुष्ट वडाध्यक्षहरुको बिरोधका वावजूद पनि नगरप्रमुख साहले नगरसभा गरेपछि विवाद चुलिएको हो । असन्तुष्टहरुले शुक्रबार नगरसभाको बिरोधमा प्रदर्शन गरेका छन् । उनीहरुले जनकचोकबाट विरोध र्यालीको आयोजना गरि नगरपरिक्रमा गरेका छन् ।
जनकचोकबाट निकालिएको विरोध र्याली रामचोक,महावीरचोक,सोनारपट्टी,जानकी मन्दिर,शिवचोक,भानुचोक हुँदै पुनः जनकचोकमा आई कोणसभामा परिणत भएका थियो ।
कोणसभामा जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर–९ का वडाध्यक्ष परमेश्वर साहले नगरप्रमुख लालकिशोर साहले आफ्नो भ्रष्टाचार लुकाउनका लागि आफूहरुको बहुमत हुँदाहुँदै पनि फर्जी हस्ताक्षर गराएर नगरसभा गराएको आरोप लगाए । आफूहरु नगरसभा गराउनका लागि लचकता अपनाए पनि नगरप्रमुखले आफूहरुसँगको वार्तामा पनि हैकमवादी चरित्र देखाएको आरोप लगाए ।
त्यस्तै वडा नम्बर–७ का वडाध्यक्ष जानकी राम साहले नगरप्रमुख साहले गैरवैधानिक तरिकाले नगरसभा सम्पन्न गरेकोले आफूहरु बाध्य भएर सडकबाट आन्दोलन सुरु गरेको बताए । वडा नम्बर–१३ का वडाध्यक्ष शुभनारायण मण्डलले हामीसँगको वार्ता असफल भएपछि हाम्रो बहुमत भएकोले नगरसभा सफल हुनु नै गैरवैधानिक रहेको बताए ।
वडा नम्बर–४ का वडाध्यक्ष सुदर्शन सिंहले आफ्नो गैरवैधानिक नगरसभालाई वैधानिकता प्रदान गर्नका लागि वडाध्यक्ष तथा वडा सदस्य एवं कार्यपालिका ससदस्यहरुलाई मेयर लालकिशोर साहले पैसा खर्चेर किनेको आरोप लगाए । वडा नम्बर–५ का वडाध्यक्ष मनोज साहले नगरप्रमुख लालकिशोर साहलाई नगरसभाको पक्षमा बहुमत साबित गर्न चुनौती दिएका छन् ।
उनले भने,‘ उनीहरुको हस्ताक्षर रहेकोे भन्दै साबित गर्न हामी अदालतसम्म जान तयार छौँ ।’