लन्डन : बेलायतका अनुसन्धानकर्मीहरूले कोरोना भाइरस (कोभिड–१९) विरुद्ध अर्को खोपको मानवमा परीक्षण सुरु गरेका छन् । इम्पेरियल कलेज लन्डनले विकास गरिरहेको भाइरसविरुद्धको खोप पहिलो पटक परीक्षणका लागि एक स्वयंसेवकलाई दिइएको हो ।

अमेरिकाको सान डिएगोस्ठित एक औषधि कम्पनीको प्रयोशालामा कोभिड-१९ विरुद्धको भ्याक्सिन परीक्षण गर्दै वैज्ञानिक तस्बिर : रोयटर्स

वित्तीय क्षेत्रमा काम गर्ने ३९ वर्षीया स्वयंसेवकलाई एक सातापहिले खोप दिइएको थियो । उनी स्वस्थ रहेका र नतिजा अपेक्षित देखिएको बताइएको छ ।

आगामी दिनमा परीक्षणका लागि अन्य तीन सय जनालाई उक्त खोप लगाइने अनुसन्धानकर्मीहरूको भनाइ छ । परीक्षणको नेतृत्व कलेजका प्राध्यापक रोबिन स्याटकले गरेका छन् ।

पहिलो चरणको परीक्षणपश्चात् आगामी अक्टोबरमा अर्को चरणको परीक्षण गरिने जनाइएको छ । उक्त परीक्षणमा ६ हजार जना सहभागी हुनेछन् । कलेजले उक्त खोप सन् २०२१ को आरम्भसम्ममा बेलायतलगायत अन्य मुलुकमा वितरण सुरु हुने आशा व्यक्त गरेको छ ।

जनावरमा परीक्षण गरिँदा उक्त खोप सुरक्षित र प्रतिरक्षा प्रणाली सबल बनाउन प्रभावकारी देखिएको अनुसन्धानकर्ताहरूले बताएका छन् । यसअघि बेलायतकै अक्सफोर्ड विश्वविद्यालयले गत अप्रिल २३ मा सुरु गरेको पहिलो चरणको परीक्षणमा करिब १ हजार जनालाई दिइएको थियो ।

विश्वविद्यालयले दोस्रो चरणको परीक्षणका लागि बेलायतका १० हजार २ सय ६० जना स्वास्थ्य स्वयंसेवकलाई आह्वान गरिसकेको छ । उनीहरूलाई खोप दिने काम भइरहेको जनाइएको छ । अक्सफोर्डका अनुसार दोस्रो र तेस्रो चरणको परीक्षणमा ५५ वर्षमाथिका वयस्क र ५ देखि १२ वर्षसम्मका बालबालिकालाई सहभागी गराइनेछ ।

बेलायत सरकारले अक्सफोर्ड र इम्पेरियल कलेजमा अहिले जारी परीक्षणलाई सघाउन थप ८ करोड ४० लाख पाउन्ड उपलब्ध गराउने घोषणा गरिसकेको छ । सरकारले यसअघि नै ४० मिलियन पाउन्ड खोप विकासका लागि उपलब्ध गराएको थियो ।

बीबीसीका अनुसार अहिले विश्वभरि कोरोना भाइरसविरुद्ध झन्डै १ सय २० वटा खोप विकास भइरहेका छन् । बर्नमाउथ विश्वविद्यालयमा आबद्ध जनस्वास्थ्यविद् डा. निर्मल अर्याल खोपको मानवमा परीक्षण सुरु हुनुलाई सकारात्मक लिन्छन् ।

बेलायत सरकारले समेत आर्थिक सहयोग दिएकाले खोप निर्माणमा सोचेभन्दा छिटो सफलता मिल्ने उनको विश्वास छ । ‘हामीले कोरोना रोगलाई हेरेर मात्र पनि हुँदैन । नयाँ खोपले मानिसको प्रतिरक्षा प्रणाली बढाउला तर अरू अंग मुटु, कलेजो, दिमाग वा अन्यमा असर गर्‍यो भने त्यो काम लाग्दैन,’ अर्यालले कान्तिपुरसँग भने, ‘त्यसकारण अहिले नै हतार गर्नुभन्दा अन्तिम नतिजा नै कुर्नु उपयुक्त हुन्छ ।’

२०७७ असार १२, शुक्रबार १६:१७मा प्रकाशित

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय