गुञ्जा साह

“महिला र पुरुष एक रथको दुई पाङ्ग्रा हो वा एक सिक्काको दुई पाटा हो ।” भनाई प्रख्यात छ । हामी सबैलाई थाहा छ, मानव प्रकृतिको एक अमुल्य बरदान हो । जसलाई सृष्टिले स्विकार गरेको छ । तर मानवले मानवलाई नै महिला र पुरुष छुट्टयाएर विभेदको कसि सम्म ल्याईपुर्‍याएको छ । यो आज मात्रै हैन, परापूर्वकालदेखि नै चल्दै आएको कुपरम्परा हो । हाम्रो समाजमा महिला र पुरुषबीच विभेदको कारणले महिलालाई बहिष्करण र असमानता भई महिलाहरुले आफना हक, अधिकार प्राप्तका लागी संर्घष गर्न बाध्य भएको छ । जबकी वातावरण सन्तुलन गर्न यी दुवै जातिका मानिसको संलग्नता र समानताको खाँचो छ ।

महिला जातले नै स्थिर, साहसी, शान्त, संवेदनशील, शक्तिशालीको रुपमा चिनिएकी छिन । घरकी लक्ष्मी, पाप धुने गंगा, सागरमाथा झै अटल, संघर्षी, दुख, कष्ट, संकट लगायत जुनसुकै परिस्थितिमा पनि आफ्नो संवेदनशिल र साहस देखाउन सकेकी हुन्छिन । हाम्रो दैनिक जिवन कै कुरा गर्नुपर्दा घरको भान्सा देखि बच्चाको स्वास्थय, शिक्षा, हेरचाह मात्र हैन की घरको हरेक ठुलाबडाको मानमार्यादामा रही एक शब्द नबोली आफ्ना जिवन बिताइरहेका कयौं उदाहरणहरु हाम्रो माझ छ । इच्छा, आकांक्षा, चाहना, अभिरुची हाँसोको मतलब नगरी बिना मूल्य आफ्नो घर परिवारको लागी खटिरहेको हुन्छ । जति गरेपनी अपहेलित हुनुपर्ने अवस्था हुनु दुःखद हो । एकआध बाहेक प्रायः हरेक घरमा महिला कुनै न कुनै प्रकारबाट विभेदको सिकार हुनुपरेको छ । महिला अपहेलित हुनु, समाजमा सुरक्षित महसुस गर्न नसक्नु, बिना गल्ति सजाय पाउनु हाम्रो समाजका लागि सामान्य दैनिकी जस्तै भैसकेको छ । शिक्षा, स्वास्थ्य, सामुदायिक क्रियाकलापबाट बञ्चित भईरहेको महिलाले असामानता, जर्बजस्ति करणी, दाईजो, बोक्सी, सुत्केरीमा भएका दुरव्र्यवहारबाट आफ्ना ज्यान पनि गुमाउनु जस्ता विभिन्न समस्या भोगिरहेका हुन्छन ।

नेपालमा झण्डै ५६ प्रतिशत जनसंख्या ओगेटेको महिलाले कति हक अधिकार पाएको छ त ? सिमान्तकृत वर्गमा राखिएको महिलालाई घर-परिवार, टोल, छिमेक, समाज, देश सबैसंग लडेर, मात्र हक पाउने हो त ? महिलालाई हक र अधिकारमा विभेद, अपहेलित, वास्ता गर्ने कहिले सम्म ? कहिलेसम्म महिला अन्याय, अत्याचारबाट दमन हुनुपर्ने ? नामको लागि नियम, कानुन, संविधान सम्पूणर् व्यक्तिको समान हुन्छन, तर व्यवहारिकतामा महिलामाथी विभेद किन ? यी यावत प्रश्नहरु हामी माझ सधै मानसपटलमा खडकिरहन्छ ।

महिला विभिन्न अवस्थामा पिडित भएका हुन्छन । महिलालाई दाइजो, जबरजस्ती करणी, हाडनाता करणी, वैवाहिक बलत्कृत, बोक्सी, सुत्केरी, अंश, चेलिबेटी बेचबिखन जस्ता धेरै घरेलु तथा समुदायिक प्रकारका समस्याहरु झेल्नुपरेको छ ।

दाईजो : कुप्रथाको रुपमा चिनिने दाइजो महिलाको लागि एक सुविधा पनि हो । माईतिबाट लिएर आएका सुन, चाँदी, रकम, जग्गा जस्ता सम्पत्तिमा महिलाको निष्पक्ष स्वामित्व हुन्छ । आफुलाई समस्या परेको बखतमा महिलाले मात्र त्यसता सम्पत्तिलाई चलायमान गर्न सक्छ । तापनि दाईजोको कारण चेलीहरु ज्यान गुमाउन बाध्य भईरहेको हुन्छन । मोटरसाईकल, फ्रिज, टिभि. जस्ता नग्नय वस्तुको लागी चेलिमाथी अत्याचार भईरहेको हुन्छन । जसमा निर्दोष चेलिको कुनै गल्ति हुदैन । अशिक्षाको कारणले दाईजो नपाएको वा दाईजो धेरै पाउने उद्देश्यले महिलामाथी धेरै दुव्र्यवहार गरेको हुन्छ । कहिले आगो लगाई, कहिले विष खुवाई, कहिले फाँसी झुन्डयाई त कहिले मानसिक यातना दिई महिलामाथी दुव्र्यवहार भईरहेको हुन्छ ।

जबरजस्ती करणी : जबरजस्ती करणीबाट अहिले महिलाहरु धेरै नै पिडित भएको छ । वर्तमान समयमा बलत्कारका घटना तिव्र गतिमा बढिरहेको देखिन्छ । महिला माथीको हेर्ने कुदृष्टिले गर्दा उ माथी जोर, जुलुम, करणी भए पनि सहन बाध्य भएको हुन्छन । इच्छा विरुद्ध कुनै चेलीमाथी जबरजस्ती गरी उसको शरीरमाथी कब्जा गरी ईज्जत बर्बाद गर्नु नै जबरजस्ती करणी हो । महिलाहरु कहिले आफ्नो आफन्तसंग, कहिले साथीभाईसंग, कहिले कार्यालयमा कार्यरत कर्मचारीसंग त कहिले आफ्नै श्रीमानसंग बलात्कृत भएको हुन्छन । महिला अहिले बाटोघाटो, अस्पताल, चौर, कार्यालय, कतै पनि सुरक्षित छैन । यस्ता दर्दनाक घटनाहरु घटी महिलाहरु ज्यान पनि गुमाईरहेको छ । त्यसतै हाडनाता करणी र वैवाहिक जिवनमा भएको करणीहरु धेरै भईरहेको हुन्छन, तर उजुरीको मात्रा कम छ ।

बोक्सी : त्यसतै महिलामाथी हुने अर्को दुव्र्यवहार अन्तर्गत बोक्सी पनि पर्छ । पौराणिक मान्यता, अन्धविश्वास, अशिक्षाले गर्दा हाम्रो समाजमा यस्ता विकृति बढी रहेको छ । मानवले मानवमाथी गर्ने शोषणको शिकार हुनु, अशिक्षाले आफ्नो प्रर्दशन गरी एकले अर्का माथी गर्ने दुव्र्यव्हार हो । जसको शिकार भई महिलालाई समाजबाट बहिस्करण गरेको हुन्छन भने अनेकौ यातना दिई ज्यान गुमाउन बाध्य भएकी हुन्छिन ।

अंश : हाम्रो समाजको मनोवृति जुन छोरी पराई धन हुन्छ, छोरी पाएपछि मर्यादा घट्ने कुसोचको कारण छोराछोरीलाई देखाउने फरक व्यवहार भएको कारणले छोरी जातले अनेकौं समस्या भोग्न बाध्य हुन्छन् । घरकै कामकाज, शिक्षा दिक्षामा अभाव, स्वास्थयमा अभाव, सामुदायिक वातावरणमा संलग्न हुनबाट बञ्चित इत्यादी व्यवहारहरु सहन बाध्य भएको हुन्छन् । अंश यस्तो अस्त्र हो, जसमा छोरीको मात्र अधिकार स्थापित हुन्छ । तर त्यहाँ प्रयोगको त कुरै छोडौं साधारण समानताबाट समेत बञ्चित भईरहेको कयौं उदाहरण हाम्रो सामु छ । यदि अंशको कारणले कुनै छोरीले ज्यान गुमाउनु परेको छे त्यसको जिम्मेवार उ नभएर उसको जन्म दिने मातापिता हो, जसले आफ्नै सन्तानहरुसंग असमान व्यवहार गर्छ ।

सुत्केरीः सुत्केरीको कुरा गर्दा सुत्केरी महिलालाई हरेक सेवा, सुविधा, पोषण आहार, सुरक्षाको आवश्यकता हुन्छन । सुत्केरी अवस्थामा महिला शारिरीक तथा मानसिक रुपमा कमजोर रहेको हुन्छन । तर संकिणर् मानसिकताको कारणले समाजमा सुत्केरीलाई एउटै कोठामा राखी पोषण आहार, हावा, घामबाट बञ्चित राखेको हुन्छन, जसबाट आमा तथा बच्चाको स्वास्थ्य बिग्री ज्यान गुमाएको उदाहरण धेरै छन । नेपालमा कोरोना महामारीको शिकारमा सबभन्दा पहिले सुत्केरीले नै ज्यान गुमाएको कुरा अवगत नै छ । यसबाट पनि भन्न सकिन्छ कि सुत्केरी अवस्था कति संवेदनशिल हुन्छन र हामीले कति ध्यान दिनुपर्ने हो । महिलाको हकहितको लागि हाम्रो संविधान २०७२ को धारा ३८,महिला विरुद्धको हिंसा उन्मुलन सम्बन्धि घोषणापत्र (१९९३) ,महिला विरुद्धको सबै प्रकारका भेदभाव उन्मुलन गर्ने सम्बन्धि महासन्धि (१९७९) ,मानव अधिकारको विश्वव्यापी घोषणापत्र (१९४८) राष्ट्रिय महिला आयोग २०५८ लगायत थुप्रै महिला अधिकार सम्बन्धि दस्तावेजहरु छन ।

नेपालको संविधानको धारा (३८) : भेदभाव बिना वंशिय हक देखि शिक्षा, स्वास्थ्य, रोजगारी, सुरक्षित मातृत्व र प्रजनन समानुपातिक, समावेशीमा सहभागी लगायत महिला विरुद्ध हुने धार्मिक, सामाजिक, सांस्कृतिक, परम्परा, प्रचलन वा शारिरीक, मानसिक, यौनजन्य, मनोवैज्ञानिक हिसांजन्य कार्य वा शोषण गरेमा सजाय र पिडितलाई क्षतिपूर्तिको व्यवस्था गरेको छ ।

महिला विरुद्धको हिंसा उन्मुलन सम्बन्धि घोषणापत्र (१९९३) : शारिरीक कुटपिट, यौनशोषण, दाईजोसंग सम्बन्धित हिंसा, बैवाहिक बलात्कार, महिला विरुद्धका परम्परागत अभ्यास झुमा, देउकी, कमैया, कुमारी लगायत समुदायमा हुने हिसांहरु शारिरीक, यौनिक, मानसिक, जातिय विभेद, बलात्कार, महिला बेचबिखन, शिक्षामा असमानता, वेश्यावृती, बोक्सि आरोप जस्ता महिला विरुद्धका हिसांलाई उन्मुलन गर्ने ध्येय राखेको छ ।

महिला विरुद्धका सबै प्रकारका भेदभाव उन्मुलन गर्ने सम्बन्धि महासन्धि (१९७९) : महिलाको सामाजिक, पारिवारिक र विकासात्मक भुमिकाको कदर गरिएको छ । महिला विरुद्धका भेदभाव निषेध गर्ने तथा दण्डको व्यवस्था, पुरुष सरह महिलालाई मानव अधिकार, मौलिक स्वतन्त्रताको उपयोगको प्रत्याभुति गर्न र महिलाको पूणर् विकास र समुन्नतीका लागि राजनैतिक, सामाजिक, आर्थिक र सांस्कृतिक क्षेत्रहरुमा कानुनी व्यवस्था गरेको छ । महिलालाई विवाह, प्रजनन, परिवार नियोजनमा समानता, मतदान, रोजगारी, समान पारिश्रमिक, सामुदायिक कार्यमा सहभागी जस्ता धेरै सहुलियत दिएको छ । तर कति प्रतिशत महिलाले राजनैतिक अधिकार पाएको छ ? सामुदायिक कार्यमा संलग्न हुने महिला कति प्रतिशत छन ? हजारौंमा एक प्रतिशतलाई सिट दिएर हुन्छन त ?

राष्ट्रिय महिला आयोग (२०५८) : नेपाली महिला, किशोरी र बालबालिकाको विरुद्ध भईरहेको सामाजिक, आर्थिक, सांस्कृतिक र राजनैतिक विभेदलाई चिर्दै महिला सशक्तिकरणका लागि कार्य गर्दै आईरहेको छ । मुलुकी अपराध संहिता ऐन २०७४ को भाग २ को परिच्छेद (११) विवाह सम्बन्धि कसुर, परिच्छेद (१३) गर्भ संरक्षण विरुद्धको कसुर,परिच्छेद (१८) करणी सम्बन्धि कसुर, इत्यादीमा महिलामाथी हुने हिसांलाई न्यूनिकरण गर्नको लागि दण्ड, सजाय तथा क्षतिपूर्तिको व्यवस्था गरेको छ । तापनि महिलाहरु यावत सेवा, सुविधाबाट बञ्चित भई वर्तमान स्थितीमा महिलामाथी हुने विभेदिकरण, असुरक्षित वातावरण, असम्मान व्यवहार बढेको छ ।

संविधान, घोषणापत्र, अचारसंहिता अनुसार कति प्रतिशत महिलाले आफ्नो हक अधिकार सजिलै प्राप्त गर्न सकेको छ ? शिक्षा, स्वास्थ्य, सुरक्षा, सुविधा सबैले पाईरहेका छन ? के महिलामाथी दुरव्यवहार नभएको हो हाम्रो समाजमा ? दाईजोको कारण महिलालाई हत्या गर्नु तथा आत्महत्या गर्न बाध्य तुल्याउनेलाई कति हदसम्म दण्ड र सजाय पाएको छ ? के अंशमा महिलाले समानता पाएको छ ? सुरक्षित मातृत्व र प्रजननको सम्बन्धमा सुरक्षित छन त महिला ? प्रजनन स्वास्थ्यको अभावमा महिलाले ज्यान गुमाईरहेको छैन ? परिवार नियोजनमा महिलाले कति प्रतिशत सामानता पाएको छ त ? बोक्सिको आरोपमा महिलामाथी हुने दुव्र्यवहार रोक्न सकेको छ त ? के दिन प्रति दिन महिलाको यौनजन्य व्यवहारमा वृद्धि भईरहेको छैन ?

महिलामाथी भएका भर्खर घटेका केही घटनाहरु : दाईजोको निहुका २०७७ बैशाख १६ गते रौतहटको ईशनाथ नगरपालिका ५ लक्ष्मीनियाका रेखादेवी ठाकूरको श्रीमान संजय ठाकुरले मोटरसाईकल नपाए पछि हत्या गरेको छ । जबकि रेखादेवी ८ महिनाको गर्भवति पनि थिईन । त्यसतै जबरजस्ती करणीको मुद्दा त दिनहु बढ्दै छ । २०७७ जेठ २१ गते सिरहामा १५ वर्ष बालिका माथी सामुहिक बलात्कार भएको, सिरहामै जेठ २१ गते घरमै सुतिरहेको युवतिलाई करणी गरेको, २०७७ असार २ गते सुदुरपश्चिम कैलालीको टिकापूरमा बालिकालाई करणी लगायत अचेल भर्खर जेठ ३२ गते कैलालीको लम्किचुहा नपा १ स्थित शहिदस्मृती माविको क्वारेनटाइनमा रहेकी ३१ वर्षिय महिलामाथी सामुहिक बलात्कार भएको छ । हाडनाताको करणीमा भन्दा आफ्नै दाजुले बहिनिसंग गरेको करणी, १३ वर्षको छोरीलाई गर्भवति बनाएको बुवा जस्ता धेरै छन । यसैगरी परिवार नियोजनको घटना भन्दा (२०७७ असार २ गते) परिवार नियोजनको साधन प्रयोग गर्न नमानी १७ वटा बच्चा फाली १७ पटकसम्म गर्भपतन गराएर आफुलाई रगत बग्ने रोग लागी हप्तैपिच्छै अस्पताल दर्गुनुपर्ने समस्या देखाएकी हेटौडा उपमहानगरपालिका ६ कि ४४ वर्षिय एक महिलाले भनेकी थिइन । यसमा के,कुन तरिकाले महिलाहरु परिवार नियोजनमा समानता पाएकी छिन त ?

महिला कसरी बच्ने ?

प्रत्येक अभिभावकले छोराछोरीलाई समान व्यवहार र उचित तरिकाले शिक्षा दिक्षा, स्वास्थ्य स्थितिमा समानता दिनुपर्छ । एक काखबाट जन्मेका छोरा र छोरीमा रहेको भिन्नताको भावनालाई समाजमा विभिन्न चेतनामुलक कार्यक्रमबाट न्युनिकरण गर्नुपर्छ । समाजमा छोरीप्रति सकारात्मक सोचले नै महिला सुरक्षित हुनसक्छ । जन्मदिने आमाबुबाले हक अधिकार हनन गरेपछि नचिनेको, नबुझेको पराईको घरमा कस्ता अधिकार पाउने आशा गर्छन छोरीले ? छोरा त आफ्नै घरमा हुन्छ तर छोरीलाई पराईको घरमा गएर बासबस्नु पर्ने भएको हुनाले झन छोरीलाई उचित शिक्षा दिई चलाख र शक्तिशाली बनाउनुपर्छ । दाइजोलाई न्युनिकरणको गर्नको लागि छोराछोरीमा समानता गर्नु जरुरी छ । नत्र यसरी नै दाईजोको कारण छोरीले ज्यान गुमाउन बाध्य हुन्छ । महिलाले नगरेको गल्तिको सजाय आफ्नो ज्यान गुमाएर दिईरहेको हुन्छन । त्यस्तै प्रजनन स्वास्थ्यमा महिलालाई सुरक्षित गर्न पोसिलो आहार, गुणयुक्त पालनपोषण आवश्यक स्वास्थ्य सामग्रीको पहुँचको व्यवस्था गर्नुपर्छ । शिशु तथा सुत्केरीलाई आवश्यक पर्ने प्रत्येक सेवा सुविधा दिनुपर्छ । अन्धविश्वासको कारण बोक्सी भनि मानवले मानवमाथी गरेको दुव्र्यवहारलाई रोक्न शिक्षालाई बढि प्राथमिकता दिनुपर्छ । जबरजस्ती करणीलाई निरुत्साहित गर्नको लागि समाजमा भातृत्व, मातृत्वको वातावरण तयार गर्नुपर्छ । समाजमा रहेका केहि दुष्कर्म गर्ने, कुदृष्टि भएका, हानिकारक सोच तथा निच किसिमका कार्यले महिलामाथी भएका जबरजस्ती करणीलाई हटाउन कडा भन्दा कडा दण्डको व्यवस्था गर्नुपर्छ । कानुनमा जबरजस्ती करणी गर्नेलाई छुट दिएर नै उनिहरुको मनोबल बढेको देखिन्छ ।
अत : वर्तमान स्थितीमा शिक्षादिक्षाको सुविधा पाएर नै महिलाले आफ्नो इच्छा अनुसार योग्य र सक्षम भएको उदाहरण धेरै छन् । आज शिक्षा र चेतनाले महिला इन्जिनियर, डाक्टर, शिक्षिका, वैज्ञानिक, वकिल, न्यायधिश भई आफ्नो खुट्टामा उभन सकिरहेकी छिन । यस्ता साकारात्मक पक्षलाई निरन्तरता दिन जरुरी छ । विकासलाई निरन्तरता दिए मात्र एउटा सुरक्षित, गुणस्तर, शक्तिशाली विकासमूलक समाजको निर्माण हुन सक्छ ।

२०७७ असार १८, बिहीबार १७:०३मा प्रकाशित

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय