बर्दिबास, ९ साउन ।

आफ्ना क्षेत्रका पर्यटकीय गन्तव्यबारे मधेश प्रदेश सरकारको चासोले महोत्तरीको चुरेक्षेत्रबासी उत्साहित भएका छन् । जिल्लाका चुरे क्षेत्रमा पर्ने मध्य पाषण युगकालीन हतियार कारखाना, गिद्धबास, परेवा पाखा (भिर) राइमण्डलधाम , पञ्चधुरामाई मन्दिर र टुटेश्वरधामबारे मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहको चासोले यसक्षेत्रका बासिन्दा उत्साहित भएका हुन् ।

मुख्यमन्त्री सिंह , उद्योग वाणिज्य तथा पर्यटन मन्त्री सकिल अली मिञाँ र गृह तथा सञ्चार मन्त्री राजकुमार लेखीको चुरेक्षेत्रको भ्रमण र यहाँका पर्यटकीय गन्तव्यबारे बढेको चासोले आफ्नो ठाउँ सरकारको आँखामा परेको यहाँका बासिन्दाको ठम्याइ छ ।

“बर्दिबासचोक कटेर यो मास्तिरको डाँडाकाँडा हम्मेसी ठूलाबडा आउँदैनथे” राइमण्डलधाम नजिकको भब्सी बस्तीका ३० वर्षीय युवा विजय पोखरेल भन्नुहुन्छ, “अहिले मुख्यमन्त्री सिंहसहित प्रदेशका मन्त्रीहरुले चुरे क्षेत्रका ऐतिहासिक तथा पुरातात्विक ठाउँबारे चासो बढाउनु भएको छ , यसले हामी अत्यन्त उत्साहित भएका छौं ।” मुख्यमन्त्री सिंहले यसपालि साउने मेलाको पहिलो सोमबारको अवसर पारेर चुरेक्षेत्रका मध्य पाषण युगकालीन हतियार कारखाना, परेवा पाखा (भिर) राइमण्डलधाम , पञ्चधुरामाई मन्दिर र टुटेश्वरधामको स्थलगत भ्रमण गर्दै यी ठाउँबारे चासो देखाउनु भएपछि चुरेक्षेत्रका बासिन्दामा अब आफ्नो ठाउँमा केही हुने आशा पलाएको हो ।

चुरेक्षेत्रका धार्मिक, ऐतिहासिक तथा पुरातात्विक महत्वका ठाउँको अवलोकन भ्रमण गर्नुभएका मुख्यमन्त्री सिंहले यी ठाउँबारे मधेश प्रदेश सरकारको चासो व्यक्त गर्नुभएको छ । मुख्यमन्त्रीले टुटेश्वरधाम, राइमण्डलधाम र पञ्चधुरा माइस्थानको विकासका लागि विस्तृत परियोजना प्रस्ताव निर्माणदेखि पूर्वाधार निर्माणसम्मका प्रारम्भिक काम बढाउन रकम विनियोजन रहेको बताउनु भएपछि यहाँको विकास कार्यले गति लिने विश्वास जागेको टुटेश्वरका बासिन्दा टुटेश्वर महादेव मन्दिर संरक्षण समितिका अध्यक्ष ७० वर्षीय हितबहादुर पौडेल बताउनुहुन्छ ।

मुख्यमन्त्री सिंहले चुरे क्षेत्रका यी ठाउँमा पूर्वाधार विकासका लागि स्थानीय मौलिकता गुम्न नदिइ दीर्घकालीक योजना बनाइन पहल थालिने आश्वासन दिनुभएको छ । चुरेक्षेत्रका धार्मिकस्थलसँगै ऐतिहासिक महत्वको मध्यपाषाण युगकालीन हतियार कारखानाबारे मुख्यमन्त्री सिंहले रुचीपूर्वक जानकारी लिनुभएको बर्दिबास उद्योग वाणिज्य सङ्घका अध्यक्ष विष्णु खड्काले बताउनुभयो । केन्द्र सरकारले पनि यहाँको धार्मिक पर्यटन अभिवृद्धिका लागि ठाउँठाउँमा रकम विनियोजन गरेको हुँदा अब चौतर्फा चासो बढेको खड्काको भनाइ छ ।

“हामीले गत माघ ६ गतेदेखि गत जेठ मसान्तसम्म चुरेक्षेत्रका पर्यटकीय गन्तव्यको पहिचान गर्न १० वटा सामाजिक सङ्घसंस्थाको पहलकदमीमा पदयात्रा गर्दा ठम्याइएका ३५ स्थानबारे मुख्यमन्त्रीलाई जानकारी गरायौं” खड्काले भन्नुभयो, “मुख्यमन्त्री र प्रदेश सरकारका मन्त्रीहरुको सकारात्मक चासो बढेको छ, अब यसक्षेत्रका विकास कार्यले गति लिने विश्वास जागेको छ । पर्यटन गन्तव्यका लागि पदमार्गीले पहिचान गरेका ३५ ठाउँको परिचयसहित सो क्षेत्रमा गर्नसकिने कामबारे पदमार्गमा सम्मिलित संस्थाहरुले स्थानीयतह, प्रदेश सरकार र केन्द्र सरकारलाई प्रतिवेदन नै दिइएको खड्काको भनाइ छ ।

पछिल्लो पटक मुख्यमन्त्री सिंह र उद्योग, वाणिज्य तथा पर्यटन मन्त्री मिञाँले टुटेश्वरधाम, पञ्चधुरा माईस्थान, राइमण्डलधाम र मध्यपाषाणकालीन हतियार कारखाना रहेको ठाउँको सोमबार अवलोकन गर्नुभयो । धार्मिकस्थलको पूर्वाधार विकासबारे प्रदेश सरकारले स्थानीयतह र केन्द्र सरकारसँग समन्वय गरेर काम अघि बढाइने प्रतिबद्धता दुबै जनाले व्यक्त गर्नुभएको छ । दुई दिनअघिमात्र प्रदेशका गृह तथा सञ्चार मन्त्री लेखीले बर्दिबास क्षेत्रको शैक्षिक, पर्यटकीय र ऐतिहासिक महत्वका ठाउँको विकासमा प्रदेश सरकार स्थानीयतहको साथ रहने प्रतिबद्धता जनाउनु भएको थियो ।

मुख्यमन्त्री सिंहले मध्यपाषाणकालीन हतियार कारखानाबारे “यो मध्यपाषणकालीन हतियार कारखानाको पक्ष रोचक रहेछ, यसबारे गहिरिएर खोजअन्वेषण गरिन पर्छ, प्रदेश सरकारले यसको पहलकदमी लिन्छ” हतियार कारखानास्थल भनिएको ठाउँको अवलोकनपछि सिंहले भन्नुभयो ।

सन् १९७५ देखि १९८५ सम्म १० वर्ष लगाएर जर्मन नागरिक गुडन कर्विन्सले चुरेक्षेत्रको पाटु वरपर गर्नुभएको खोजअन्वेषणमा रातो माटोले पुरिएको अवस्थामा ं ढुङ्गे हतियारहरु भेटिएपछि यो नै मध्यपाषण युगको हतियार कारखाना भएको निष्कर्ष निकाल्नु भएको थियो । सो समय १० देखि १२ हजार वर्ष पुरानो रहेको कर्विन्सले आफ्नो खोज कृति ‘प्रि हिस्टोरिकल कल्चर्स इन नेपाल’-भाग १ (पृष्ट २३९, सन २००७) मा उल्लेख गर्नुभएको छ । हतियार कारखाना रहेको अहिलेको पाटु र रातु नदी वरपरको त्यतिखेरको मानव सभ्यता भियतनामसँग मेल खाने कर्विन्सले उल्लेख गर्नुभएको सन्दर्भ मुख्यमन्त्री सिंहले यसबारे निरन्तर खोज अध्ययन गरीरहनु भएका पत्रकार विशाल बस्नेतबाट जानकारी लिनुभयो । कर्विन्सको खोज अन्वेषणका सामग्री हाल पुरातत्व विभागमा रहेका छन् ।

कर्विन्सले आफ्नो कृति (पुस्तक) मा उल्लेख गरेअनुसार ढुङ्गा, पशुबस्तुका हाड र काठबाट निर्मित एकातिरको भाग धारिलो बनेका हतियार हजारौ सङ्ख्यामा भेटिएका थिए । अहिलेको पाटुको रातमाटे डाँडाक्षेत्रमा खनिदा ३० देखि ७० सेन्टीमिटर मुनि यस्ता हतियार भेटिएका कर्विन्सको वणर्न छ । यी हतियार त्यतिखेरको भारतका हतियारसँग मेल नखाएका हुँदा यहाँ भारततर्फबाट दक्षिणपूर्व तर्फबाट आएका हुनसक्ने कर्विन्सको अड्कल छ ।

पछिल्ला तीन महिनायता नेपाल होटल तथा पर्यटन व्यवसायी महासङ्घ मधेश प्रदेश समितिले ‘घुमौ मधेश, बुझौ मधेश’ भन्ने नारासहित प्रदेशभित्रका धार्मिक, साँस्कृतिक, ऐतिहासिक, पुरातात्विक तथा वातावरणीय दृष्टिले खास महत्वका ठाउँको पहिचान गर्दै यिनको विकासमा स्थानीय, प्रदेश र केन्द्र सरकारको ध्यानाकर्षण गराउँदै आएको छ । यसअघि बारा र सिरहा जिल्लाका पर्यटकीय गन्तव्यबारे चासो बढाएको महासङ्घले अहिले जारी साउनको पहिलो साता मुख्यमन्त्री, मन्त्री, सञ्चारकर्मी, पर्यटन व्यवसायी र सामाजिक सङ्घसंस्थाका प्रतिनिधिलाई अवलोकन गराएको छ । यसले पर्यटकीय गन्तव्यबारे खोज, अन्वेषण र गर्नसकिने कामबारे राज्यका निकायहरुको ध्यानाकर्षण गराउने महासङ्घको विश्वास छ ।

“हामीले पर्यटन विकासको प्रचुर सम्भावना बोकेको मधेशबारे अब स्थलगत रुपमै चासो जगाउने अभियान थालेका छौं” बर्दिबास नगरपालिकाको संस्कृति तथा पर्यटन प्रबद्र्धन समितिका संयोजकसमेत रहनु भएका महासङ्घ मधेश प्रदेशका अध्यक्ष हिलालाल गौतम भन्नुहुन्छ, “अभियानको पहिलो चरणमा राज्यका विभिन्न निकायका पदाधिकारी तथा पर्यटनसम्बद्ध क्षेत्रका प्रतिनिधिसहित सर्वसाधारणको चासो बढेको छ ।” महोत्तरीका चुरेक्षेत्रका पर्यटकीय गन्तव्य र यिनको विकासका कुरामा सरकारका प्रतिनिधि र विभिन्न निकायमा बढेको चासोले अब काम अघि बढ्ने वातावरण मिल्दै गएको गौतम बताउनुहुन्छ ।

पर्यटकीय गन्तव्यहरुको खोजी गर्ने उदेश्यले नेपाल होटल तथा पर्यटन व्यवसायी महासङ्घ मधेश प्रदेशले आयोजना गरेको स्थलगत अनुगमनमा सहभागी प्रदेशका उद्योग, वाणिज्य तथा पर्यटन मन्त्री सकिल अलि मिञाँँले पनि पाटुको पुरानो मानव सभ्यताको विषयमा चासो देखाउनु भएको छ । मध्यपाषाण युगकालीन हतियार कारखाना र अनेकौं सम्भावना रहेका यहाँका चुरे शृङ्खला क्षेत्रबारे थप खोज अन्वेषण काम गरिन सकिने मिञाँको भनाइ छ । यससँगै नेपालमा पहिलो पटक नोटिस गरिएको सन् १२५५ को शक्तिशाली भूकम्पले चुरे र यसका शृङ्खला १० फिट माथि उठेको तथ्य पाइएका छन् । यी विवध पक्षले यो क्षेत्र पुरातात्विक अन्वेषणको केन्द्रका रुपमा समेत विकास गर्न सकिने सम्भावना देखिएका मिञाँको भनाइ छ ।

महोत्तरीमा चुरे पाहाडी क्षेत्र बर्दिबास नगरपालिकाले मात्र ओगटेको छ । त्यसैले यस ठाउँको विकासमा मुख्यतः बर्दिबास नगर नेतृत्वकै पहलकदमी हुनपर्ने यस भेगका बासिन्दा बताउँछन् । वन सम्पदा तथा जलाधार क्षेत्रले जिल्लाभरि नै प्रभाव पार्नेहुँदा यिनको संरक्षणमा सबै स्थानीयतहको ध्यान पुग्नपर्ने चुरे तथा जलाधारक्षेत्रको संरक्षणमा लामो अनुभव सँगाल्नु भएका सामुदायिक विकास तथा पैरवी मञ्च नेपाल बर्दिबासका अध्यक्ष नागदेव यादव बताउनुहुन्छ । यद्यपि भूगोलको अपनत्वले बर्दिबास नगरपालिकाको पहलकदमी अपरिहार्य हुने यादवको भनाइ छ ।

चुरे क्षेत्रका पर्यटकीय गन्तव्यको पहिचान र यिनको सम्बद्र्धनका क्षेत्रमा यहाँका सामाजिक सङ्संस्थाले औंल्याएका स्थलबारे नगरपालिकाको चासो रहेको बर्दिबास नगरप्रमुख प्रहलादकुमार क्षत्री बताउनुहुन्छ । “हामीले पर्यटन र संस्कृतिका क्षेत्रमा मसिनो गरी काम बढाउन संस्थागत प्रयत्न थालेका छौं, यस क्षेत्रका काम हेर्न नगरमा संस्कृति तथा पर्यटन प्रबद्र्धन समिति गठन गरिएको छ” क्षत्रीले भन्नुभयो, “हाम्रो साधन स्रोत सिमित छ, हामी यसलाई अधिकतम परिचालित गर्दैछौं , पर्यटन प्रबद्र्धनका क्षेत्रका कामका फराकिलो क्षेत्र भएका हुँदा यसमा प्रदेश र केन्द्र सरकारको सहयोग खोजिनेछ ।”

पछिल्लो समय तीनै तहका सरकार, निजीक्षेत्र, पर्यटन व्यवसायी र सामाजिक सङ्घसंस्थाको चुरेक्षेत्रका पर्यटकीय गन्तव्यबारे चासो बढेपछि अब यसभेगमा योजनाबद्ध काम अघि बढ्ने यस भेगका बासिन्दामा विश्वास बढेको छ ।

२०८१ श्रावण ९, बुधबार १८:५१मा प्रकाशित

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय