जनकपुरधाम : धनुषाका बटेश्वर गाउँपालिका-५ शान्तिपुरका माछा पालक किसानहरुलाई आज एक कार्यक्रमको बीच प्रविधि हस्तान्तरण गरिएको छ ।

कृषि विकासका लागि अन्तराष्ट्रिय कोषको सहयोगमा नेपाल सरकारको उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय द्वारा समृद्धि नामले संचालित ग्रामिण उद्यम तथा विप्रेषण आयोजना(समृद्धि)ले प्रबद्र्धन गरेको माछा उत्पादक किसानहरुको ‘शान्तिपुर कृषक समूह’ का सदस्यहरुलाई विभिन्न प्रविधि हस्तान्तरण गरिएको छ ।

आयोजनाको माछा आपूर्ति श्रृंखला प्रबद्र्धन कार्यक्रम अन्तर्गत वटेश्वर गाउँपालिका वडा नं. ५ मा गठन गरिएको शान्तिपुर कृषक समूहका अध्यक्ष अशोक कुमार यादवको अध्यक्षता तथा वटेश्वर गापा ५ का वडा अध्यक्ष शिवकरण यादवको प्रमुख आतिथ्यतामा सम्पन्न प्रविधि वितरण कार्यक्रममा किसानहरुको माग अनुसार नै आयोजनाले उपलब्ध गराएको मोटर, दमकल र डिजिटल तराजु वितरण गरिएको हो ।

कार्यक्रमलाई सम्बोधन गर्दै वडा अध्यक्ष शिव करण यादवले आफ्नो वडाका माछा किसानहरुलाई उत्पादन वृद्धिको लागि समृद्धि आयोजनाले अनुदान दिई सहयोग गरेकोमा खुशी तथा धन्यवाद व्यक्त गर्नुभयो । वडा अध्यक्ष यादवले आगामी दिनमा यस आयोजनाले आफ्नो वडा वा पालिकामा किसानहरुको लागि ल्याउने कुनै पनि किसिमको योजनाहरुलाई सफल बनाउन पूणर् रुपले आफूले सहयोग गर्ने प्रतिबद्धता समेत व्यक्त गर्नुभयो ।

अनुदानबाट प्राप्त गरेका मोटर र डिजिटल तराजु पाएर आफूलाई निकै खुशी लागेको बताउँदै यस माछा समूहमा एक सदस्य पुनेश्वर चौधरीले भन्नुभयो, ‘हामीहरु विगत एक दशक देखि परम्परागत रुपमा माछा पालन व्यवसाय गर्दै आए पनि हाल यस समृद्धि आयोजनामा आबद्ध भएपछि माछा पालन सम्बन्धी तालिम पाएर आधुनिक तरिकाले माछा पालन गर्न लागेका छौं । र आज समृद्धि आयोजनाको अनुदानबाट पोखरीमा पानी हाल्नको लागि मोटर र माछा बेच्दा जोख्नको लागि पाएको डिजिटल तराजुले अझ उत्पादन बढ्ने र माछा बेच्न सजिलो हुने छ।’

त्यसैगरी अर्का एक किसान ईश्वर लामाले आफू यस माछा पालन व्यवसायमा भरखर लागेको बेला नै यस समृद्धि आयोजनाले गठन गरेको समूहमा आबद्ध हुने मौका पाएको र लगतै माछा पालन सम्बन्धी तालिम लिने अवसर जुरेको हुँदा माछा पालनमा निकै ठूलो सहयोग पुगेको बताउनुभयो । उहाँले भन्नुभयो, ‘म नयाँ माछा किसानको रुपमा काम गर्न सुरुवात गरे पनि आयोजनाले दिएको तालिम र अहिले अनुदानमा दिएको मोटर र डिजिटल तराजुले व्यवसाय गर्न ठूलो हौसला प्रदान गरेको छ।’ उहाँले आफू अझ राम्रो संग यस माछा पालन व्यवसायलाई अगाडि बढाउने बताउनुभयो ।

आयोजनाले यस समूहमा २९ जना किसानलाई मोटर, डिजिटल तराजु र दमकल जस्ता प्रविधि किसानहरु कै माग अनुसार नै उपलब्ध गराएको जानकारी समृद्धि आयोजनाका माछा आपूर्ति श्रृंखला प्रमुख राकेश कुमार साहले दिनुभयो ।

२०७७ असार १८, बिहीबार २०:१०मा प्रकाशित

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय