काठमाडौं : निजी विद्यालयको संस्था प्याब्सन र एन प्याब्सनले आज सोमबारबाट अनलाइन कक्षा बन्द गर्ने निर्णय गरेपछि सरकारले वार्ता शुरु गरेको छ ।वार्तामा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले आन्दोलनका कार्यक्रम फिर्ता लिएर वार्ताबाट समस्या समाधान गर्न आग्रह गर्नुभएको छ । मन्त्री पोखरेलले सरकारले निजी विद्यालयको समस्या समाधान गर्न सरकार गम्भीर रहेको बताउनुभएको थियो ।आन्दोलनको तयारी गरिरहेको प्याब्सन र एन प्याब्सनको नेतृत्वले माग पूरा नभए अनलाइन कक्षा बन्द गर्ने कार्यक्रमलाई अघि बढाउने चेतावनी दिएका थिए ।

वार्तामा मन्त्री पोखरेल, शिक्षा मन्त्रालयका प्रवक्ता दीपक शर्मा, शिक्षक महासंघका अध्यक्ष बाबुराम थापा, अभिभावक महासंघका अध्यक्ष धर्मदत्त देवकोटा, अभिभावक संघका सुवास भण्डारी, संस्थागत विद्यालय शिक्षक युनियनका अध्यक्ष होमकुमार थापा, एन प्याब्सनका महासचिव सुवास न्यौपाने, प्याब्सनका महासचिव कुमार घिमिरेलगायतको उपस्थिति रहेको थियो ।

वार्तामा प्याब्सन र एन प्याब्सनले विद्यार्थी भर्नाका लागि अभिलेखीकरण गर्न पाउनुपर्ने, सरकारले सहुलियत ऋणको व्यवस्था गर्नुपर्ने र अनलाइन कक्षा सञ्चालन गरेबापत मासिक शुल्क लिन पाउनुपर्ने अडान दोहो¥याएका थिए ।

प्याब्सनका सहअध्यक्ष डीके ढुंगानाले वार्ता प्रक्रियालाई निरन्तरता दिने जानकारी दिनुभयो । दुवै संस्थाले सरकारले तत्काल निर्णय नगरे अनलाइन कक्षा रोक्ने क्रम अघि बढाइने जनाएका छन् ।यसअघि प्याब्सन र एन प्याब्सनले सबै अभिभावकसँग शैक्षिकसत्र २०७६ सालसम्मको पुरानो शुल्क तिर्न र यो शैक्षिक सत्रमा सहयोग गर्न आग्रह गरेको थयो ।

सरकारले करिब १० हजार निजी विद्यालयको विषयमा तत्काल सम्बोधन नगरे आन्दोलनमा जानेसम्मको तयारी गरेपछि मन्त्रालयले वार्तामा बोलाएको हो । शिक्षा मन्त्रालयका प्रवक्ता शर्माले वार्ताबाट समाधान खोज्ने विषयमा छलफल जारी रहेको जानकारी दिनुभयो ।

प्याब्सन अध्यक्ष टीकाराम पुरी र एन प्याब्सनका अध्यक्ष ऋतुराज सापकोटाले सरकारसँग वार्ता गरेर समस्या समाधान हुनेमा आफूहरु विश्वस्त रहेको बताउनुभयो । वार्ता गर्दा पनि समस्या समाधान नभए थप रणनीति बनाएर अघि बढाउने दुवै संस्थाका अध्यक्षको धारणा थियो ।

२०७७ असार २२, सोमबार १४:५७मा प्रकाशित

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय