काठमाडौँ : राष्ट्रिय जनता पार्टी र समाजवादी पार्टी एक भएर बनेको जनता समाजवादी पार्टी निर्वाचन आयोगमा दर्ता भएको छ । निर्वाचन आयोगको बुधबारको बैठकले उक्त दल दर्ता गर्ने निर्णय गरेको आयोगले जानकारी दिएको छ ।

‘राजपा र समाजवादी पार्टी एकता भएर जनता समाजवादी पार्टी गठनको निवेदनअनुसार दल दर्ता गर्ने निर्णय भएको छ,’ निर्वाचन आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले बताए ।
जनता समाजवादी पार्टीलाई आयोगले प्रमाणपत्र दिने तयारी गरिरहेको श्रेष्ठले जानकारी दिए । बिहीबारै वा शुक्रबार दल दर्ताको प्रमाणपत्र प्रदान गरिने पनि उनले बताए ।

दुवै पार्टीका नेताले वैशाख ११ गते एकताका लागि निर्वाचन आयोगमा निवेदन दिएका थिए । सरकारले अध्यादेश ल्याएर दल विभाजन सजिलो हुने व्यवस्था गर्न लागेपछि दुवै दलले वैशाख १० गते राति एकताको घोषणा गरेका थिए ।

२०७७ असार २५, बिहीबार १४:३९मा प्रकाशित

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय