
एजेन्सी : प्रशिक्षक जोसे मोरिन्होले टोटनह्यामबाट उपाधि जित्नेमा आफू ढुक्क रहेको बताएका छन् । त्यसका लागि यो समरमा टिमले ठूलो लगानी पनि नगर्नु पर्ने उनले बताएका छन् ।
मोरिन्हो गएको नोभेम्बरमा तीन वर्षको सम्झौतामा टोटनह्याम आएका हुन् । आफ्नो सम्झौता अवधिमा टोटनह्यामलाई उपाधि दिलाउने उनले बताएका छन् ।
टोटनह्यामले आइतबार नर्थ लण्डन डर्बीमा आर्सनलसँग प्रतिस्पर्धा गर्दैछ । दुवै क्लब युरोपा लिगमा स्थान बनाउनका लागि प्रयासरत छन् ।
मोरिन्होले भने, ‘जर्गेन क्लोप र लिभरपुललाई उपाधि जित्न कति समय लाग्यो ? चार वर्ष, चार सिजन । विश्वकै उत्कृष्ट गोलरक्षक किनेर, विश्वकै उत्कृष्ट सेन्टर–ब्याक किनेर र यस्तै गरेर ।’
उनले अघि भने, ‘म चाहिँ मेरो तीन वर्षे सम्झौतामै केन्द्रित छु । यो तीन वर्षमा हामीले उपाधि जित्ने विश्वास छ । म यहाँ तीन वर्ष रहेँ भने क्लबले नयाँ युगको थालनी गर्ने छ ।’