महाेत्तरी, २३ असार ।
महाेत्तरीकाे बर्दिबासमा प्लेटनेट (सेताे रगत) छुट्याउने मसिन सञ्चालनमा आएको छ । राेटरी क्लव नेपाल/ भुटान शाखाले नेपाल रेडक्रस साेसाइटी बर्दिबास उपशाखालाई उपलब्ध गराएकाे रक्तपट्टिका पृथकीकरण यन्त्र (प्लेटनेट सेप्रेटर मसिन) आज मङ्गलबार सञ्चालन भएकाे हाे ।
याे यन्त्र रेडक्रस उपशाखा बर्दिबासकाे रक्तसञ्चार केन्द्रकाे प्रयाेगशालामा सञ्चालन गरिएकाे छ । यसअघि राेटरी क्लव नेपाल/ भुटान शाखाका गवर्नर विनाेद काेइरालाले रेडक्रस बर्दिबास उपशाखाका सभापति भुवन खड्कालाई रक्तपट्टिका पृथकीकरण यन्त्र सञ्चालनसम्बन्धी सम्झाैतापत्र हस्तान्तरण गर्नुभयाे ।
बर्दिबासमा सञ्चालनमा आएको रक्तपट्टिका पृथकीकरण यन्त्रले प्लेटनेट (सेताे रगत) छुट्याउन थालेपछि जटिल प्रकृतिका बिरामीले स्थानीय अस्पतालमै उपचार पाउने भएका छन् । यस कार्यले प्लेटनेटकै लागि अन्यत्र उपचार गर्न जानु पर्ने बिरामीलाई निकै राहत मिल्ने मधेश प्रदेशका श्रम तथा यातायात मन्त्री शारदा थापाले बताउनुभयाे ।
रेडक्रस बर्दिबास उपशाखाकाे आफ्नै अत्याधुनिक रक्तसञ्चार केन्द्रकाे प्रयाेगशालाबाट यसअघिदेखि नै राताे रगत (हाेल ब्लड) काे सेवा सञ्चालन हुँदै आएको छ । अब प्लेटनेट (सेताे रगत) काे सेवा यहींबाट प्राप्त भएपछि उपचार सेवा निकै सहज हुने बर्दिबास अस्पतालका मेडिकल सुप्रिडेन्ट डा. रितेश घिमिरेकाे भनाइ छ । याे सेवाले महाेत्तरीसहित धनुषाका उत्तरी क्षेत्र, सर्लाही र सिन्धुली जिल्लाका बिरामीले उपचारमा प्रत्यक्ष लाभ पाउने रेडक्रस बर्दिबास उपशाखाले जनाएकाे छ ।

याे यन्त्र जडानकाे कुल लागत ९० लाख रहेकाे छ । यसमा बर्दिबास नगरपालिकाले २० लाख, राेटरी क्लव अफ बर्दिबासले १० लाख र बाँकी रकम राेटरी क्लव नेपाल/ भुटान शाखा र राेटरी क्लव अफ वीरगञ्ज शाखाबाट सहयाेग प्राप्त भएकाे रेडक्रस बर्दिबास शाखाका सभापति खड्काले जानकारी दिनुभयाे । कार्यक्रम राेटरी क्लव नेपाल/ भुटान शाखाका गवर्नर विनाेद काेइरालाकाे अध्यक्षतामा सम्पन्न भएकाे हाे ।


