काठमाण्डौ : रौतहटका थप एकजनाको बुधबार कोरोना भाइरसको संक्रमणबाट मृत्यु भएको छ । योसँगै नेपालमा कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको सङ्ख्या ३९ पुगेको छ ।
रौतहटको पर्रोहा नगरपालिका- ७ का ३६ वर्षीय पुरुषको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए । मृतकका दाजुको भारतमा कोरोनाबाट मृत्यु भएको थियो ।
उनको अन्त्येष्टिमा सहभागी भएर फर्किएका परिवारका सदस्यलाई क्वारेन्टिनमा राखिएको थियो ।
त्यस क्रममा उनलाई रुघाखोकी, ज्वरो र स्वासप्रश्वासमा समस्या भएपछि असार २९ गते ती युवकलाई वीरगञ्जको नारायणी अस्पतालको आईसीयूमा भर्ना गरिएको थियो ।