काठमाडौं : जनता समाजवादी पार्टी(जसपा)को एकताले पूर्णता नपाउँदै प्रदेश २ सरकार फेरबदलको बहसले प्रवेश पाएको छ। अहिले तत्कालीन संघीय समाजवादी फोरम (पछि समाजवादी)को नेतृत्वमा सरकार गठन भएको थियो।

समाजवादी पार्टी र राष्ट्रिय जनता पार्टी (राजपा) बीच गत वैशाख १० गते राति एकता भई जनता समाजवादी गठन भइसकेको छ। सो पार्टी गठन भएको पाँच महिनासम्म केन्द्रीय विभाग र कार्यविभाजनले पूर्णता पाएको छैन। बरु प्रदेश २ को सरकार फेरबदलको बहसले भने पार्टीभित्र माहोल तातेको छ।

पार्टी एकता हुनुअघि समाजवादी पार्टीबाट संसदीय दलको नेता लालबाबु राउत थिए। राजपाबाट भने जितेन्द्र सोनल दलको नेता थिए। दुई पार्टी एक भएपछि एकीकृत पार्टीको दलको नेता कसले हत्याउने भन्ने संघर्ष अहिले पार्टीभित्र भइरहेको छ। एकीकृत पार्टीको प्रदेश २ को संसदीय दलको नेता हत्याउन लालबाबु राउत, जितेन्द्र सोनल, मनिष सुमन, विजय यादव, रामआशिष यादव, उपेन्द्र महतो लगायत आधा दर्जन नेताहरु लागेका प्रयासरत छन्।

पार्टी एकीकृत भएपछि दलको नेता नयाँ चयन हुने जसपाका नेता राजकिशोर यादवले बताए। ‘दुई पार्टीबीच एकता भएपछि प्रदेश दलको नेता एउटै बनाउनुपर्ने हुन्छ’, यादवले भने, ‘पार्टीको केन्द्रीय विभागको गठन र कार्यविभाजन भएपछि मात्रै प्रदेशको दलको नेता चयन र सरकारको विषयमा समीक्षा हुन्छ।’

सरकार फेरबदल गर्ने वा नगर्ने भन्ने विषय प्रदेश सरकारको समीक्षापछि मात्रै भन्न सकिने यादवले बताए। ‘प्रदेश सरकारको पार्टीले समीक्षा गर्छ। कति राम्रा काम भए? कति नराम्रा काम भए? सबैको एकमुस्ट समीक्षा हुन्छ’, उनले भने, ‘पार्टीले आवश्यक ठानेमा सरकार परिवर्तन हुन्छ। आवश्यक नठानेमा परिवर्तन हुँदैन।’

यस्तै जसपाका नेता केशव झाले केन्द्रीय नेतृत्व, प्रदेश सांसद र प्रदेश कमिटीले सहमतिमा दलको नेता टुंगो लगाउने बताए। एकीकृत पार्टीको दलको नेता सकेसम्म सहमतिमै टुंगो लगाइने उनले बताए।

जसपामा ५० पदाधिकारीका कार्यविभाजन र विभाग गठन हुन सकेको छैन भने केन्द्रीय समिति समेत गठन भएको छैन। केन्द्रीय समिति सबैलाई समेट्नगरी ७ सय १ बनाउने मोटामोटी सहमति भएको छ। पार्टीको केन्द्रीय पदाधिकारीको कार्यविभाजन र केन्द्रीय समिति गठन भए लगतै प्रदेश दलको टुंगो लगाउने तयारी गरिएको छ। यही महिनाभित्रै प्रदेश २ को दलको नेता टुगो लगाउने र सरकारको पनि समीक्षा गरिने नेताहरुले बताएका छन्।

प्रदेश २ का कुल सांसद १ सय ७ मध्ये जसपाको ५५ सिट छ। जसमध्ये पूर्वसमाजवादीको ३० र पूर्वराजपाका २५ जना सांसद हुन्। त्यस्तै, नेकपाको ३२ सांसद र कांग्रेसको १९ जना सांसद छन्।

नेकपा र काग्रेसले सरकार बनाउन नसक्ने भएकाले प्रदेशमा सरकारको नेतृत्व भने जसपाबाट बाहिर जाने सम्भावना छैन। तर पार्टी एकता भएपछि मुख्यमन्त्री सहित मन्त्रीहरु फेरबदलमा नेताहरु लागेका छन्। गत महिना प्रदेश सरकारले प्रभावकारी काम गर्न नसकेको भन्दै प्रदेश सांसदहरु काठमाडौं आई शीर्ष नेताहरुलाई समेत भेटेर फर्किएका थिए। सरकार फेरबदलको लबिङमा मनिष सुमन, आशोक यादव, उपेन्द्र महतो, कौशल यादव लगायत नेताहरु आएका थिए।

ती प्रदेश सांसदहरुले सरकार फेरबदल गरी नयाँ सरकार गठन गर्नुपर्ने भन्दै शीर्ष नेतालाई भेटेर लबिङ गरेको एक नेताले बताए। प्रदेश सरकारले जनताको पक्षमा प्रभावकारी काम गर्न नसकेको भन्दै मुख्यमन्त्री लालबाबु राउतको पार्टीभित्रै विरोध हुने गरेको छ।

२०७७ भाद्र १५, सोमबार १२:१०मा प्रकाशित

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय