काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आन्तरिक राजस्व कार्यालय धरानका तत्कालीन कर अधिकृत तिलक आलेसहित २ जनाविरुद्ध विशेष अदालत काठमाडौंमा मुद्दा दायर भएको छ ।

आयोगले कर अधिकृत आले र स्वामिनारायण निर्माण सेवा प्रालि धरानका प्रबन्ध निर्देशक सन्तोषकुमार बस्नेतविरुद्ध बिहीबार विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको हो ।

मोरङको सुन्दरहरैंचा नगरपालिकाकाले गछिया खोलामा बालुवा गिट्टी उत्खनन गर्न स्वामिनारायण निर्माण सेवा प्रालिलाई भ्याटबाहेक ९ करोड ५१ लाख ५१ हजार १ सय ५१ रुपियाँमा विसं २०७७ जेठ २८ सालमा ठेक्का दिएको थियो । त्यसक्रममा नगरपालिकको २०७७ जेठ ३० गतेको पत्रमार्फत निर्माण सेवालाई भ्याट रकम आन्तरिक राजस्व कार्यालय, धरान, सुनसरीमा बुझाई भौचरको प्रमाणित प्रतिसमेत नगरपालिकाको कार्यालयमा बुझाउन पत्राचार गरेको थियो ।

उक्त पत्रको बोधार्थ आन्तरिक राजस्व कार्यालय, धरान, सुनसरीलाई दिइएको थियो । आन्तरिक राजस्व कार्यालय, धरानका कर अधिकृत तिलक आले, स्वामिनारायण निर्माण सेवा प्रा.लि. र उक्त प्रा.लि.का प्रबन्ध निर्देशक सन्तोष कुमार बस्नेतले एक आपसमा मिलेमतो गरी गैरकानुनी लाभका लागि भ्याट दाखिला गरेको भनी बदनियतपूर्वक झुट्टा लिखत बनाएको आयोगले जनाएको छ ।

निर्माण कम्पनीले भ्याट रकम बापतको १ करोड २३ लाख ६९ हजार ६ सय ४९ रुपियाँ रकम आन्तरिक राजस्व कार्यालयमा दाखिला गर्नुपर्नेमा त्यसो नगरी फर्जी कागजात बनाएर राजस्व चुहावट गरेको आयोगले जनाएको छ ।

आन्तरिक राजस्व कार्यालय, धरान, सुनसरीको मिति २०७७ चैत्र ३० गते को पत्रबाट स्वामिनारायण निर्माण सेवा प्रा.लि.ले आ.व. २०७६÷०७७ मा सुन्दरहरैँचा नगरपालिकाको खोलाजन्य पदार्थको बिक्री गर्ने कार्यका लागि बुझाउनुपर्ने मूल्य अधिवृद्धि कर बुझाइसकेको भनी नगरपालिकालाई पत्राचार गरी राजस्व चुहावट÷छली गर्ने गलत मनसाय राखी भ्रष्टाचारजन्य कार्य गरेको अभियोग लगाइएको छ ।

तत्कालीन कर अधिकृत आले र स्वामिनारायण निर्माण सेवा प्रालिका प्रबन्ध निर्देशक सन्तोषकुमार बस्नेतलाई जनही १ करोड २३ लाख ६९ हजार ६४९ कायम गरी सोही बिगो बराबर जरिवाना र कैद सजायको मागदाबी लिइएको छ ।


२०८२ कार्तिक २१, शुक्रबार ०८:५२मा प्रकाशित

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय