बर्दिबास (महोत्तरी), २१ कात्तिक ।

मधेशकै प्रसिद्ध देवी शक्तिपिठ मानिएको बर्दिबास–४ माइस्थानस्थित पञ्चधुरा माइ मन्दिर परिसर उजेलिएको छ । मन्दिरअगाडिका तीन सरोवर (तलाउ) कञ्चन पानीले भरिएर कमल फूल लहराएपछि यहाँको परिवेश फेरि एक दशकपहिले झैं मनोरम बनेको हो । मन्दिर परिसरको पाखामा रहेको जरुवा पानीको मूल यसपालि १० वर्षपछि फुटेपछि एकपछि अर्कोमा गर्दै तीनवटा तलाउ पानीले भरिएका छन् ।

“हामीले यो जरुवा पलाउला भन्ने आस मारी सकेका थियौं, यसपालि यो पलाएर तलाउ भरिए” माइस्थानका सामाजिक अगुवा ६५ वर्षीय सोम कार्की भन्नुहुन्छ, “अब यसको सरसफाइ नियमित गर्न सकिए जरुवा दिगो हुन्छ भन्ने आस पलाएको छ ।” मन्दिर परिसरको जरुवाकै पानी पाँच/सात किलोमिटर तलका हाथीलेट र सतखोलीसम्मका सर्वसाधारणको जीवनसँग जोडिएको कार्कीलाई झलझली याद छ । जरुवा एक्कासी सुकेपछि यस भेगकै जग्गा रुखिएर उत्पादन घटेको माइस्थानकै बासिन्दा अर्का किसान बद्रीबहादुर राउत बताउनुहुन्छ । विक्रम सम्वत् २०७२ सालको भूकम्पपछि जरुवा सुकेर यहाँका तलाउ र जलमार्ग कमिला हिड्ने बनेका माइस्थानबासी बताउँछन् ।

एक दशकपहिले मन्दिर अवस्थित परिसरभित्रको एउटा रुखको फेदबाट भूलभूल उम्लेर निस्कने पानी हराउँदा यहाँ बुढापाका अनिष्टको आसङ्का गर्थे । तर यो त वर्षाको कमी , मन्दिर नजिकका नदीमा निरन्तर हुने उत्खनन् र जरुवास्थल नसखारिदा सुकेको जलाधार तथा भूगर्भविज्ञले बताएका छन् । पछिल्ला पाँच/छ वर्षयता चुरे पर्वत श्रेणिका सुख्खा चउरमा पानी पुनर्भरण पोखरीको निर्माण बढ्दै जानु र यसपालि चुरे क्षेत्रमा पानी निकै पर्नुले यहाँको जरुवा पलाएको चुरे तथा जलाधार विज्ञ डा. विजयकुमार सिंहको भनाइ छ ।

“यहाँका वनक्षेत्रका चउरहरुमा र नदी किनारमा पछिल्ला पाँच/सात वर्षयता पोखरी निर्माण निकै भएका छन् , ती पोखरीले पानी पुनर्भरणमा मद्दत गरेका छन्‌” डा. सिंह भन्नुहुन्छ, “यसपालि यताको चुरे क्षेत्रमा वर्षा पनि निकै भएको हुँदा जरुवा पलाएको हो ।” बर्दिबास क्षेत्रमा पछिल्ला १० वर्षबीच सरदर एक हजार १९६ मिलिमिटरदेखि एक हजार ३०० मिलिमिटरसम्म वर्षा भएको जल तथा मौसम विज्ञान विभागको विगत तथ्याङ्क छ । तर यसपालि वैशाखदेखि गत असोजसम्म एक हजार ५०० मिलिमिटरसम्म वर्षा भएको अनुमान गरिएको जल तथा मौसम विज्ञान विभागको सूचनालाई आधार मान्दै डा. सिंहले बताउनुभयो । माइस्थानको जरुवा पलाउन यसपालिको वर्षा सहयोगी भएको उहाँको ठम्याइ छ ।

जलवायु परिवर्तन र मनसुनको प्रभावका कारण प्रत्येक वर्ष वर्षाको मात्रा समान हुँदैन । यस क्रममा पछिल्ला १० वर्षमा प्रत्येक वर्ष कति पानी पर्‍यो भन्ने यकिन गरिएपछि यहाँ जरुवा पलाउनुको कारण पहिल्याउन सकिने भूगर्भविद् सोमनाथ सापकोटा बताउनुहुन्छ । बर्दिबास वा नेपालका अन्य क्षेत्रमा वातावरणीय अध्ययन गर्दा वर्षाको तथ्याङ्क र भूमिगत पानीको सतहको मापन गरिदा कुन महिनामा कति वर्षा हुँदा भूमिगत पानीको सतहमा कस्तो प्रभाव पर्‍यो भन्ने स्पष्ट हुनसक्ने सापकोटाको भनाइ छ । यसका लागि स्थानीयतहले वैज्ञानिक तथ्याङ्क निकाल्न सके दीर्घकालीन समस्या समाधान गर्न मद्दत पुग्ने उहाँको भनाइ छ । तर स्थानीयतहले तथ्याङ्कमा काम गर्न जाँगर नदेखाएका सापकोटाको गुनासो छ ।

विज्ञहरुले जरुवा पलाउनुको वैज्ञानिक कारण खोजिन पर्ने बताइरहेबीच यस भेगका बासिन्दा भने एक दशकपछि जरुवा पलाउनुलाई ‘चमत्कार’ झैं बुझ्‌दैछन् । “कारणबिनाको त यो होवैन, हामीलाईचाहिँ १० वर्षपछि जरुवा पलाएर यहाँका सबै तलाउ र इनारहरु कञ्चन पानीले भरिदा चमत्कार भए झैं लाग्छ” माइस्थानकै रामजी पौडेलले भन्नुभयो ।

एक दशकपछि जरुवा पलाएर मन्दिर परिसरका तलाउ पानीले भरिएर कमल फुल्न थालेपछि दर्शन र पूजाअर्चनाका लागि पुग्ने श्रद्धालु दङ्ग देखिन्छन् । पछिल्ला बितेका १० वर्षबीच सुकेका तलाउ र रुखिएको परिवेशले दिक्दार मान्ने श्रद्धालुलाई यसपालि यही ठाउँ मनोरम बनेको छ । “लाग्यो, फेरि १० वर्ष पहिलेको माइस्थान आइएको छ” मन्दिर दर्शनका लागि शुक्रबार पुग्नुभएका भङ्गाहा–५ सीतापुरका ७० वर्षीय राजेन्द्र मण्डलले खुसी व्यक्त गर्दै भन्नुभयो, “अब मन्दिर परिसरका तलाउ सधैं यस्तै कञ्चन पानीले भरिएका देखी रहन पाइयोस् ।”

यसपालि जरुवा पलाएर मुहानबाट भूलभूल निस्केको पानीले सबै तलाउ र ओरपरका इनार भरिएपछि बर्दिबासका सामाजिक सङ्घसंस्था र मन्दिर छेउकै सशस्त्र प्रहरीको मधेश प्रदेश कार्यालयले नियमित सरसफाइ सुरु गरेका छन् । सरसफाइको संयोजन बर्दिबास उद्योग वाणिज्य सङ्घले गर्दै आएको छ । यो कार्यलाई निरन्तरता दिदै जरुवाको मुहान नियमित सखार्ने र यहाँको पानीको स्वच्छताका लागि बर्दिबास नगर कार्यपालिकाको कार्यालयले सबैसँग समन्वय गर्नसके जरुवा दिगो हुने माइस्थानबासीले आस सँगालेका छन् । यसले मधेशकै प्रसिद्ध धार्मिकस्थल मानिएको यस ठाउँको पर्यटन प्रबद्र्धनमा पनि बल पुग्ने होटल तथा पर्यटन व्यवसायी सङ्घ महोत्तरीका अध्यक्ष गुञ्जबहादुर कार्कीको धारणा छ ।


२०८३ कार्तिक २२, शनिबार ११:४६मा प्रकाशित

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय