बर्दिबास : बर्दिबासको पहिचानसँग जोडिएको हटिया पोखरी बर्दिबास–रामगोपालपुर–जलेश्वर सडक विस्तारसँगै खुम्चिएको छ । यो पोखरी परिवेश नै बर्दिबासको नामकरणसँग जोड्ने मान्छे अझै मनग्गे भेटिदैछन् । यो नामकरणसँग जोडिएको होस् वा नहोस् , बर्दिबासको मुटुमा अवस्थित यो पोखरीको सरसफाइ, सम्भार, संरक्षण र योजनाबद्ध सौन्दर्य वृद्धिका काम हुनसके ठिकै हुने हो ।
हटियाको छेउमा रहँदा यो पोखरीले सबै फोहरमैला पिउनु पर्ने नियति भोग्दै आएको नयाँ कुरा हैन । गहिरो ठाउँमा हुँदा हटियामात्र नभएर बर्दिबास चोकक्षेत्रदेखिको फोहर यहाँ जम्मा हुने गर्छ । पोखरीमा फोहरमैला झर्ने ठाउँ टालेर त्यसको अन्यत्र व्यवस्थापनको काम गरिदिन पोखरी आफैंले अराउन सक्दैन, ठाउँमा हुनेले बुझी दिएनन् । के गरोस् विचरा हटिया पोखरी !
नगरभित्रको फोहर जम्मा हुने ठाउँ भएर पनि यस पोखरीलाई महापर्व छठका बेला पवित्र स्नान गराउने सौभाग्य प्राप्त छ । यसबेला चार/पाँच दिन उज्यालो देखिन पाउने यो पोखरी फेरिलगत्तै पुरानै नियतिमा फर्कन वाध्य छ । के पोखरीको फोहरका डुङ्गुर आफूमा समाहित गनुपर्ने नियति अन्त्यका लागि प्रयत्न गरीदिने कोही जन्मलान् ?

माझमा बर्दिबास–जलेश्वर सडक । सडकको वारिपारि यो पोखरी र कामेश्वरनाथ महादेव तथा दुर्गा मन्दिर छन् । पोखरीको पश्चिम डिलबाट सडक पार गर्नवित्तिकै कामेश्वरनाथ महादेव विराजमान हुनुहुन्छ । शिवभक्तलाई न्यास्रो लाग्नासाथ प्रभु सेवामा हाजिर हुन सकिन्छ । यो मन्दिर बर्दिबासका अग्रणि समाजसेवी स्व. रामकृष्ण महतो र स्व. रामेश्वर महतोले आफ्ना पिता जिवछ महतोको स्मृतिमा निर्माण गर्नुभएको मन्दिरमा रहेको शिलालेखमा अझै पढ्न पाइँदैछ । यो कामेश्वरनाथ महादेव मन्दिरले पोखरीको परिचयमा पनि कतिपयले कामेश्वरनाथ पोखरी भन्ने गरेका मैले सुनेको छु ।
अहिले पोखरी माझमा मन्दिर निर्माणको ढाचाले एउटा संरचना ठडिदैछ । यस ठाउँमा शिवलिङ्ग स्थापनाको तयारी छ रे ! कुन निकाय , समुह वा व्यक्तिको तत्परता हो, त्यो त मलाई थाहा भएन । तर कामेश्वरनाथसँगैको यो पोखरीमा अर्को शिवलिङ्ग स्थापनाको लहड कसरी चल्यो होला भनेर उदेक भने लाग्ने गरेको छ । मानौ , भगवान कामेश्वरनाथ महादेवले भनेका हुन् , ‘म एक्लैले भक्तजन थेग्न नसक्ने भएँ, छेउमा अर्को महादेव बसाइ देउ ।’ नभए त, छेउमै अर्को शिवलिङ्ग स्थापना त कामेश्वरनाथ महादेवलाई ‘सौता’ हाले झैं भएन र ?
अर्को संयोग अहिले परेको छ । कामेश्वरनाथ महादेव मन्दिर निर्माण र यसको प्राणप्रतिष्ठासँगै सबै धार्मिक अनुष्ठान सम्पन्न गराउने स्व. रामकृष्ण महतोकै ज्येष्ठ सुपुत्र श्री विजयकुमार महतो बर्दिबास–१४ का वडाध्यक्ष हुनुहुन्छ । बाबुले स्थापित गराएका धार्मिकस्थलको संरक्षण र सम्बद्र्धनको कुराले जिम्मेवारीमा रहेरमात्र हैन, व्यक्तिगत रुपमै पनि उहाँलाई घोच्नु पर्ने हो । जम्मा ५० मीटरको दुरीभित्र विजयकै कार्यकाल र उहाँकै कार्यक्षेत्रभित्र अर्को शिवलिङ्ग किन चाहियो होला ? यो नयाँ शिवलिङ्ग स्थापनाको कुराले कामेश्वरनाथ महादेव ओझलिने मलाइ सङ्का छ । अहिले नयाँ शिवलिङ्ग स्थापित भइहालेको छैन । यसबारे पुनर्विचार गर्दा बेस होला कि भन्ने मेरो सुझाव छ ।

अब प्रश्न आउन सक्छ , पोखरी माझमा ठड्याउँदै लगिएको संरचना के गर्ने त ? मेरो विचारमा छठघाटका रुपमा प्रसिद्धि पाएको यो पोखरीमा बन्दै गरेको मन्दिर रुपी संरचनामा छठ पर्वकै आराध्य देव सूर्य मन्दिर बनाउन सकिन्छ । हाम्रो वरपर सूर्य मन्दिर नरहेको सन्दर्भमा यहाँ स्थापित हुनसके यसले धार्मिक तथा पर्यटकीय महत्ता पाउने सम्भावना देखिन्छ । हिन्दु परम्परामा जहाँजहाँ शिव मन्दिर छन् , त्यसको सेरोफेरोमा अर्को शिवलिङ्ग स्थापना गरिएका हम्मेसी देखिन्न । यसको धार्मिक र साँस्कृतिक दृष्टिले पनि कुनै तुक छैन । हो, बरु शिव मन्दिर सेरोफेरोमा सबैजसो ठाउँमा विष्णु, काली, गणेश, हनुमान र अरु देवदेवीका मन्दिर भने छन् । यो एकै ठाउँमा सबै इष्टदेवको दर्शन र पूजाआराधना हुनसकोस् भन्ने सदासयताले भएका होलान् भन्ने मेरो अड्कल छ । यसैले यस ठाउँमा सूर्य मन्दिर बनोस् भन्ने मेरो सल्लाह हो ।
मनमा लागेपछि उपयुक्त ठाउँमा कुरा राख्नु पर्छ । तर यो विषय कहाँ राख्ने हो , भेउ नै नपाएर मैले यो ठाउँ रोजे । मैले उठाएका विषयमा यसभेगका खासगरी बर्दिबास–१४ का सबै सर्वसाधारणको ध्यान पुगोस् । यसबारे जतिसुकै कडा टिप्पणी आएपनि खप्ने मन बनाएर यो सामग्री पस्केको छु । सम्बद्धपक्षको ध्यानाकर्षण होस् । भवतु सब्ब मङ्गलम् ।


