जनस्वास्थ्यविद्ले डा. समीरमणि दिक्षित अब निषेधाज्ञा आवश्यक नरहेको स्पष्ट पारेका छन् । उनले नेपालमा मान्छेहरु भोकभोकै मर्ने अवस्था आईसकेको गम्भीर अवस्थाको चित्रण गरे । आज विहान नेपाली रेडियो नेटवर्कबाट प्रसारण भएको नेपाली बहस कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले यस्तो बताएका हुन । उनले कुराकानीको क्रममा भनेका छन्,-“पाकिस्तान, बंगलादेश र भारतमा पनि संक्रमण त छ नि तर देश खुकुलो हुँदै गईरहेको छ किनभने मान्छेहरूलाई अहिले अरू अप्ठ्याराहरू, अरू आर्थिक, स्वास्थ्य समस्याहरूले पिरोल्न थालेको छ । यो हाम्रो नेपालमा पनि देखिएको छ । नेपालमा पनि मान्छेहरू भोकभोकै मर्ने अवस्था आईसक्यो । भनेपछि ९७ प्रतिशत मान्छेलाई केही नहुने, ३ प्रतिशतमा अलि कडा हुने रोगको लागि हामीले ९७ प्रतिशत मान्छेलाई किन रोकिरहेको छौँ । मैले त्यहाँ थाहा पाउन नसकेको कुरा । अरू देशले त बुझिरहेको छ । पाकिस्तान, भारत, बंगलादेशले त बुझिरहेको छ । हाम्रो नेपालको राज्यले किन बुझिरहेको छैन ? म यसमा अच्चमित छु ।” प्रस्तुत छ डा. दिक्षितसँग पत्रकार धमलाले गरेको कुराकानीको सम्पदित अंश :-

कोरोनाको संक्रमणको कुरा गर्दाखेरि आज हामी कहाँ छौँ ? कोरोनाको कहर नेपाललाई गाँजेको छ । कसरी बचाउने ? कसरी सुरक्षित राख्ने ?

यो टि.भी, रेडियोमा पटक पटक गरिएको कुरा हो । कोरोनाको कारणले जति भयावह स्थिति देखाउन खोजिएको छ, मिडियामा चिकित्सक साथीहरूबाट । त्यति भयावह पनि छैन भनेर हामीले थाहा पाउन सक्नुपर्छ । हो, केही स्थितिमा अप्ठ्यारो अवस्था छ तर समग्रमा होइन । अधिकांशमा हेर्नुपर्छ जहिले पनि । जसलाई केही भएको छैन, उहाँहरूलाई हामीले हस्पिटलमा किन राख्ने ?

कोरोनाको कहरको कुरा गर्दा जनताहरू पीडामा छन् । मजदुरहरूको पीडा छुट्टै छ । संक्रमण समुदायमा गईसकेको छ । अब कसरी बच्ने र बचाउने त ?

पाकिस्तान, बंगलादेश र भारतमा पनि संक्रमण त छ नि तर देश खुकुलो हुँदै गईरहेको छ किनभने मान्छेहरूलाई अहिले अरू अप्ठ्याराहरू, अरू आर्थिक, स्वास्थ्य समस्याहरूले पिरोल्न थालेको छ । यो हाम्रो नेपालमा पनि देखिएको छ । नेपालमा पनि मान्छेहरू भोकभोकै मर्ने अवस्था आईसक्यो । भनेपछि ९७ प्रतिशत मान्छेलाई केही नहुने, ३ प्रतिशतमा अलि कडा हुने रोगको लागि हामीले ९७ प्रतिशत मान्छेलाई किन रोकिरहेको छौँ । मैले त्यहाँ थाहा पाउन नसकेको कुरा । अरू देशले त बुझिरहेको छ । पाकिस्तान, भारत, बंगलादेशले त बुझिरहेको छ । हाम्रो नेपालको राज्यले किन बुझिरहेको छैन ? म यसमा अच्चमित छु ।

त्यसलाई जनताले मान्नुपर्छ नि । जनता जसरी छटपटाइरहेका छन्, त्यसमा चिकित्सकको ध्यान जाँदैन ?

अब भौतिक दूरी कायम गरेर सामान्य जीवनमा जानुपर्छ । अब सहज रूपमा भाइरसबीच मान्छेलाई बाँच्न दिनुपर्छ भन्ने पक्षमा छु म त ।

तर कोरोना हल्का रूपमा लिनुहुँदैन भनेर धेरैले भनेका छन् ?

हल्का रूपमा त कसले लिएको छ र ? हल्का रूपले तिनीहरूले लिनुहुँदैन जो रोगी छन् । दीर्घ रोग छ भने यो समुह बढी जोखिममा छ । यसमा स्वास्थ्यकर्मीहरूले बचाउनुपर्छ । किनभने उहाँहरू अग्रपंक्तिमा हुनुहुन्छ । बाँकी संख्यालाई एउटै आँखाले हेर्नुहँुदैन ।

त्यसोभए अब जनजीवन सरलता, सहजतातिर जानुपर्छ ?

एकदमै सहजतातिर जानुपर्छ । यो हामी नेपालको लागि मात्र भनेका छैनौँ । संसारको स्थिति यही भईरहेको छ । भारत, पाकिस्तान र बंगलादेशलाई हेर्नुस्, त्यहाँ संक्रमण कडा हँुदाहुँदै पनि खुकुलो गरेर लगेका छन्, त्यहाँको राज्यले किनभने उहाँहरूले थाहा पाएका छन् ।

निषेधाज्ञा आजको आवश्यकता होइन ? निषेधाज्ञा जरुरी छ भनेर सि.डि.ओ साहबहरूले भनिरहनुभएको छ नि ?

निषेधाज्ञा आवश्यता छैन । उहाँहरूले त अर्को वर्ष पनि निषेधाज्ञा गर्नुपर्छ भनेर भन्नुहुन्छ नि । हामीले जनस्वास्थ्यको हिसाबले कुरा गर्दाखेरि हामी अरू जनजीवनका कुरा गर्ने कि खाली कोभिड कोभिड भन्दै जनतालाई एकदम दुःख दिने ? अब त्यो निर्णय गर्ने बेला आयो के ? अरू देशले निर्णय गर्छन् भने हामी किन अलमल गर्छौँ ?

अरू देशले के गरेको छ भन्दा पनि नेपालको वास्तविकतातिर जाऔँ न । नेपाली जनताहरू अझै पनि सामाजिक दूरीमा बस्न नचाहेको देखियो नि ?

नागरिकलाई सुरक्षाको मापदण्डमा चलाएर तर्साउने काम गर्नुहुँदैन । हामी आफैले पनि मास्क लगाउन के कठिन छ र ? संक्रमणको दर बढ्छ भने अरू देशलाई हेरौँ । तर हामीले पनि भनेको मानेनन् भने राज्यले पनि त कडिकडाउ गर्नुपर्छ नि त ।

कोरोनाको कहरको कुरा गर्दा जोखिम त अहिले पनि छ नि ?

हामी जहिले पनि संक्रमण संक्रमण भन्छौँ के । त्यो संक्रमणको निष्कर्ष के रह्यो त ? अहिलेको समयमा संक्रमणको दर त बढ्दो संख्यामा छ । हामीले यतिजना संक्रमण भयो भनेर जाने होइन । हामी त यति जना ठिक भए भनेर जाने हो । हामीले ठिक भएको मान्छे गन्दै बस्नुपर्छ ।

अहिलेको अवस्थामा निषेधाज्ञाको आवश्यकता छैन भनेर तपाईले भनिरहँदाखेरि अब कोरोनाको कहरको कुरा गरिरहँदाखेरि संक्रमणको संख्या त बढ्न थाल्यो नि फेरि ? समस्या त छ नि त ?

संक्रमण बढिरहेको छ । त्यो अझैपनि बढि नै रहेको छ । जहाँ जहाँ बढेको छ, त्यहाँ मास्क लगाएर सामाजिक दूरी कायम गर्नुपर्छ । जहाँ धेरै संक्रमण छ, त्यहाँ परीक्षण गर्ने हो । स्मार्ट विकल्प त्यही हो । जहाँ जहाँ संक्रमण त्यहाँ कडिकडाउ गरौँ । मास्क लगाऔँ । यति सजिलो कुरालाई मान्छेहरूले धेरै ठुलो बनाईरहेका छन् ।

२०७७ भाद्र २४, बुधबार ०६:२८मा प्रकाशित

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय