• गोबिन्द महतो

जनकपुरधाम : नेपालमा कोरोनाको (कोभिड–१९) संक्रमण प्रकोप सुरु भएदेखि नै प्रदेश २ उच्च जोखिममा छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सूचकहरुले समेत प्रदेश २ उच्च जोखिममा रहेको देखाउँछ । जोखिम दर्शाउने सूचकहरु संक्रमण, मृत्युदरले प्रदेश २ को अवस्थालाई जोखिम प्रदेशको चित्रण गर्छ । बिहिवार सम्म देशभरी ५ सय जना कोरोनाले मृत्युवरण गरेका मध्ये प्रदेश २ मा १ सय ३० जना छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले प्रदेश २ का आठ जिल्ला मध्ये ८ जिल्ला ‘रेड जोन’मा थियो । देशभर कुल रेड जोनमा रहेका जिल्लाको संख्या ११ मध्ये ८ जिल्ला प्रदेश २ मै थियो । यद्यपि अहिलेलाई सबै जिल्ला रेडजोन बाहिर रहेको वरिष्ठ जनस्वास्थ्य प्रशासक विजय झाले बताए । मन्त्रालयले पाँच सयभन्दा बढी सक्रिय संक्रमित रहेको जिल्लालाई रेड जोनमा राख्दै आएको छ ।
कोभिड–१९ को संक्रमणबाट भएको मृत्युको करिब २८ प्रतिशत प्रदेश २ मा रेकर्ड गरिएको छ । देशभरि कोभिड–१९ ले हुने मृत्युदर शून्य दशमलब ६० प्रतिशत रहेपनि प्रदेश २ मा मृत्युदर करिब १ प्रतिशतको हाराहारीमा छ । यो अझै बढ्ने अनुमान गरिएको छ । यी तथ्याङकहरुलाई केलाएर हेर्दा जिल्लागत रुपमा प्रदेश २ कै अवस्था अत्यन्तै चिन्ताजनक देखिन्छ । प्रदेश २ मा सबैभन्दा बढी पर्सामा २४ सय ७०, सर्लाही १८ सय ६६, धनुषा १८ सय ८३, रौतहट १८५०, महोत्तरी, १४ सय १७, बारा १२ सय ४२, सप्तरी, ११ सय ९० र सिरहामा ११ सय ६१ संक्रमित रहेका छन् ।

प्रदेश २ मा कोभिड–१९ को जोखिम उच्च हुनुको कारण खुला सीमा, परीक्षण र कन्ट्रयाक्ट ट्रेसिङमा लापरवाही तथा कमजोर स्वास्थ्य पूर्वाधार रहेको चिकित्सक डा. अजय झा बताउछन् । उनले भने, ‘यहाँ बढ्नुको सरकारी र नीजि दुवै पक्ष छ, सरकारले मात्र हाम्रो लागि के गर्दियो भन्यौ, हामीले सरकार गर्नुपर्ने सहयोग आफ्नो स्तरबाट गर्न चुकेकै हौं ।’
मन्त्रालयले प्रदेश २ मा कोभिड–१९ को जोखिम न्यूनीकरण गर्न तीन सदस्यीय टोली गठन गरेर स्थलगत अध्ययन प्रतिवेदन बुझाउन दिएको कार्यदेश बमोजिम स्वास्थ्य सेवा विभागका महानिर्देशक डा. दिपेन्द्र रमण सिंह नेतृत्वको समितिले प्रतिवेदन बुझाए अनुसार कमजोर स्वास्थ्य पूर्वाधार र नागरिक स्वयंको असंवेदनशीलताले प्रदेश २ को अवस्था अझै कमजोर हुने देखिन्छ । प्रदेश २ का अधिकांश जिल्लामा निषेधाज्ञा जारी गरिएपनि कार्यान्वयन अत्यन्तै फितलोका कारण समुदायमा अझ संक्रमण फैलिएको प्रतिवेदनमा उल्लेख छ ।
करिब ६० लाख जनसंख्या रहेको प्रदेश २ मा दुई छ वटा पीसीआर उपकरण जडान गरिएकोे छ । वर्षको सुरुवातमै प्रकोपको रुप लिइरहँदा प्रदेश २ सरकारले पीसीआर उपकरण, भेन्टिलेटरको लागि खुला गरेको टेण्डरमा किमशनको खेल नमिल्दा रद्द भएको हल्ला चल्यो । र अझै प्रदेश सरकारमा कोभिड–१९ विरुद्ध लड्न स्पष्ट नीतिको अभाव देखिन्छ । प्रदेश २ को सामाजिक विकास मन्त्रालयका वरिष्ठ जनस्वास्थ्य अधिकृत विजयकुमार झाले प्रत्येक जिल्ला अस्पतालमा एउटा–एउटा पीसीआर उपकरण राख्ने तयारी गरिएपनि प्राविधिक समस्याका कारण पीसीआर उपकरण खरिद गर्न नसकेको बताए । हालसम्म छवटा पीसीआर उपकरणबाट परीक्षण हुँदै आएको छ । वीरगञ्जमा दुई, सप्तरीको राजविराज, जनकपुर, रौतहट र बर्दिबासमा एक गरी छ वटा प्रयोगशाला छन् ।

२०७७ आश्विन १३, मंगलवार १४:५०मा प्रकाशित

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय